एसिया कप क्रिकेटका लागि नेपाली महिला टोलीको घोषणा
काठमाडौंः थाइल्याण्डमा हुने एसिया कप ट्वान्टी ट्वान्टी महिला क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ।
तीन सदस्यीय छनौट समितिले रुविना क्षेत्रीको कप्तानीमा शुक्रबार १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको प्रमुख कार्यसञ्चालन अधिकृत थुम्बी लामाले जानकारी दिए।
लामाका अनुसार १५ सदस्यीय नेपाली क्रिकेट टोलीमा इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, नेरी थापा, ज्योति पाण्डे, नीरा राजोपाध्याय र रश्मी शर्मा चौलागाइँले स्थान बनाएका छन्।
यसैगरी संगीता राई, शोभा आले, रोशनी बोहोरा, सवनम राई, सीता मगर, सरस्वती कुमारी चौधरी र सीता रानामगरलाई पनि टोलीमा स्थान बनाएका छन्।
एसिया कप छनौट खेल खेलेकी निर्मला शाहीलाई भने यसपटक टोलीमा समावेश गरिएको छैन। लामाका अनुसार भारतीय रेल्वेका लागि प्रशिक्षणका क्रममा घाइते भएपछि उनलाई टोलीमा समावेश नगरिएको हो। खेलाडी छनौट समितिमा प्रशिक्षक, कप्तान र आईसीसी प्रतिनिधि राखिएको थियो।
एसिया कप महिला ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी नोभेम्बर २६ देखि डिसेम्बर ४ सम्म चल्नेछ। प्रतियोगितामा नेपालले एसियाली टेष्ट मान्यता प्राप्त राष्ट्रसँग प्रतिस्पर्धा गर्ने छ। प्रतियोगितामा नेपालले पाकिस्तान, श्रीलंका, बंगलदेश, थाइल्याण्ड र छिमेकी देश भारतसँग खेल्नेछ।