हृदयाघातबाट डिफेन्डर प्रोडानको मृत्यु
लन्डनः हृदयाघातका कारण रोमानियाको राष्ट्रिय फुटबल टोलीका पूर्वडिफेन्डर ड्यानियल प्रोडानको मृत्यु भएको छ ।
विश्वकप र युरोकपजस्ता ठूला प्रतियोगितामा समेत प्रतिस्पर्धा गरिसकेका प्रोडानको ४४ वर्षको उमेरमै मृत्यु भएको हो । प्रोडानले रोमानियन राष्ट्रिय फुटबल टोलीबाट सन् १९९४ को विश्वकप र सन् १९९६ को युरोकपमा समेत प्रतिस्पर्धा गरेका थिए ।
प्रोडानले स्पेन, इङ्ल्यान्डलगायतका ठूला लिगमा समेत प्रतिस्पर्धा गरेका छन् । प्रोडान सन् १९९८ मै २६ वर्षको उमेरमा स्पेनिस क्लब एट्लेटीको म्याड्रिडबाट २२ लाख पाउन्डमा स्कटल्यान्डको क्लब रेन्जर्समा आबद्ध भएका थिए ।
यद्यपि घुँडाको चोटका कारण उनले लामो समय फुटबल खेल्न सकेनन् । चोटकै कारण उनले रेन्जर्सबाट पनि लामो समय खेल्न सकेनन् । उनी मेडिकल टेस्टबिना इङ्ल्यान्ड पुगेको रहस्य खुलेको थियो ।
एट्लेटिको म्याड्रिड पुग्नुअघि उनले स्टेउआ बुखारेस्टबाट लगातार तीन पटक रोमानियन लिगको उपाधि जितेका थिए । त्यसपछि स्पेनमा एक सिजन बिताएर उनी स्कटल्यान्ड पुगेका थिए । ३१ वर्षको उमेरमा सक्रिय खेलजीवनबाट सन्न्यास लिएका प्रोडान पछिल्लो समय रोमानियन फुटबल संघमा खेलकुद निर्देशकका रूपमा कार्यरत थिए ।
प्रोडानको मृत्युमा पूर्वसहकर्मीहरूले दुःख व्यक्त गरेका छन् । रेन्जर्समा सँगै खेलेका फिनल्यान्डका जोनाटन जोहनसनले प्रोडानको मृत्युप्रति भनेका छन्, ‘ड्यानियल प्रोडानको मृत्युको खबरले निकै दुःखी तुल्याएको छ । उनको असामयिक निधनको समाचारमा हामी स्तब्धः भएका छौं ।’