जहाँ बूढो भायोलिन समर पर्खिरहेछ

जहाँ बूढो भायोलिन समर पर्खिरहेछ

नेदरल्यान्ड्सको दक्षिणी टुप्पोमा रहेको पुरानो सहर मास्त्रिख्तका प्राचीन साँघुरा गल्लीहरू आजपर्यन्त यहाँको विशिष्ट परम्परा जोगाएर सुतेका छन् । ती गल्लीहरूमा हिँडिरहँदा आफैं पनि प्राचीन समयको एउटा हिस्सा हँजस्तो लागिरहन्छ । ढाडमा समयको सुई बोकेर आफैं इतिहास बनेजस्तो लाग्छ ।


साँझको ८ बजे ट्रेनबाट ओर्लेर स्टेसनबाहिर निस्कँदा मास्त्रिख्तको आकाशमा घाम हाँसिरहेको हुन्छ । राति १० बजेसम्म उज्यालो रहने यहाँको समर साँझ पहेँलो किरणले रहस्यमय भइदिन्छ । लामो हवाईयात्रापछि साढे दुई घन्टाको रेलयात्राले थकित शरीर बोकेर लगेज गुडाउँदै बिनाअन्दाज, बिनानक्सा हिँडिरहेको हुन्छु । सायद म अलमलिएको देखेर एकजना गोरा मानिस रेस्टुरेन्टबाट उठेर आई कुनै सहयोग गर्न सक्छु कि भनी सोध्छन् । नजिक कतै अलि सस्तो होटल पाइन्छ कि, म सोध्छु । उनी टिस्यु पेपरमा नक्सा कोरिदिन्छन् । आम्सट्रदामदेखि आएका पर्यटक रहेछन् उनी । नौलो सहरमा अपरिचितको आत्मीयताले ढाडस दिन्छ ।

टिस्यु पेपरमा कोरिएको त्यही नक्साको भरमा होटल खोज्छु । होटलको बेडमा थकित शरीर बिसाउँछु । आँखामा सहृदयी अनुहार खेल्छन् । टिस्यु पेपरमा नक्सा कोरिदिने यी गोरा मानिसजस्तै सहृदयी भेटिएका थिए विमानमा पनि ।

इस्तानबुलबाट आम्सट्रदामसम्म विमानमा सँगै यात्रा गरेका अग्ला न अग्ला डच नागरिक थिए ती । नेपाल र नेपालीबारे साथीबाट सुनेका ती मानिसले मलाई नेपाली भएकैले स्नेहपूर्ण व्यवहार गरेका थिए । विमानबाट हामी अध्यागमन विभागसम्म सँगै आएका थियौं । अध्यागमनको छुट्टै लाइनमा जानुपर्ने भएकाले उनीसँग बिदा भएको थिएँ ।

झन्डै डेढ घन्टामा अध्यागमन पार गरेर बाहिर निस्कँदा उनी भने अराइभल लाउन्जमा मलाई कुरिबसेका थिए । परिवारलाई बाहिर कुराइराखेर उनले मलाई विमानस्थलको अर्को कुनामा रहेको ट्रेनस्टेसनसम्म पुर्‌याएका थिए । मास्त्रिख्तसम्मको टिकट काटिदिएर ट्रेन चढ्ने तरिका ट्रेन फेर्नुपर्ने स्थानबारे बताएर मसँग हात मिलाई बिदा भएका थिए । उनैले मेरो विश्वविद्यालय रहेको नेदरल्यान्डको मात्रिख्त सहरको इतिहास, कला, संस्कृति, भाषा, मानिसबारे प्रशस्तै बताएका थिए ।

०००

बिहानै होटेल रिसेप्सनबाट प्राप्त सिटी गाइड बुक लिएर निस्कन्छु । बिहानी घाममा हल्का पहेँलो रङमा रंगिएको हुन्छ सहर । सडकमा साइकलको भीड देखेर दंग पर्छु । चिया पिउन जाँदासमेत पेट्रोल बाइक चढेर हिँड्ने गरिब देशबाट आएको मानिस भएकाले यस्तो दृश्यले रमाइलो गराउँछ । वातावरण र स्वास्थ्य जोगाउनु आफ्नो कर्तव्य ठान्ने भएकाले हरेक मानिस सजग रहेछन् यस सहरमा । त्यसैले विश्वकै उच्च आय भएको देशमध्येको एक यो देशमा विद्यार्थी, प्राध्यापक, कामदार सबैले साइकल चढ्ने संस्कृति बनेको छ ।

प्रधानमन्त्रीसमेत साइकल चढेर कार्यालय जान्छन् यहाँ । काम खोज्न जाँदा साइकल छ÷छैन भनी सोध्ने चलन रहेछ । सोच्छु, सामाजिक असमानता धेरै भएको समाजमा मात्र मानिस आफ्नो हैसियतको प्रदर्शन गर्ने उपक्रम खोज्दो रहेछ र त्यसको असर मानिसको स्वास्थ्य, सामाजिक प्रतिष्ठालगायतका आयाममा पर्दो रहेछ ।

हरेक युरोपेली बालबालिकाको किताबमा अटाएको छ यो सहर । उत्तिकै जीवित छ इतिहासका पानामा पनि । युरोपियन युनियनको गठन, युरोपियन सिटिजनसिपको सन्धि तथा युरोपियन एकल मुद्रा 'युरो'को सम्झौताजस्ता ऐतिहासिक क्षणको साक्षी बनेको छ यो सहर ।

बिहानको कलिलो घाममा मास्त्रिख्त वास्तवमै सुन्दर देखिन्छ । सबै गोराहरूको बीचमा ममात्र कैलो छालाको मानिस हुन पुग्छु । सायद, त्यसैले सबैले मप्रति विशेष ध्यान दिएको भान पर्छ । एकाध वृद्धवृद्धा हाँस्दै 'हाई' भन्दै मुस्कुराउँदै जान्छन् ।

सयौं वर्ष पुराना कलात्मक घरहरू इतिहासलाई छानामा ओढेर शानसँग उभिएका हुन्छन् । सम्पदा सूचीमा रहेको यो सहरमा तेह्रौँ शताब्दीमा बनेको गिर्जाघर उस्तै शानका साथ उभिइरहेको छ । त्यहाँका घन्टहरूले सहरलाई उसैगरी समयको चालमा दौडाइरहेका छन् । नेदरल्यान्ड्सको दक्षिणी टुप्पोमा रहेको पुरानो सहर मास्त्रिख्तका प्राचीन साँगुरा गल्लीहरू आजपर्यन्त यहाँको विशिष्ट परम्परा जोगाएर सुतेका छन् । ती गल्लीहरूमा हिँडिरहँदा आफैं पनि प्राचीन समयको एउटा हिस्सा हँजस्तो लागिरहन्छ । ढाडमा समयको सुई बोकेर आफैं इतिहास बनेजस्तो लाग्छ । गर्मी मौसम भएकाले मानिसहरू बिहानै घरबाट निस्कने रहेछन् । पर्यटकीय दृष्टिले महत्त्वपूर्ण समय रहेछ यो ।

हरेक बिहान घुम्न निस्कनु दैनिकी बन्छ । बिहानै सहरको मध्य भागमा एउटा बूढो भायोलिन रेट्दै गीत गाइरहेको देखिन्छ । गीतमा मास नदीको पुलमा उदास, जीवनदेखि थकित, एक्ली भेटिएकी एक काली केटीको वर्णन पाइन्छ । त्यो केटी बूढोको पहिलो प्रेम थिई सायद । त्यही केटी नै थिई उसको बाँच्नुको पयार्य । विडम्बना ! आज बूढो एक्लो छ र बाँच्ने बहाना खोजिरहेछ । मानिसहरू उसलाई सुन्छन् । एकाध सिक्का उसको अगाडि राखिदिन्छन् । पीडा संसारमा सबैभन्दा सजिलै बिक्ने चिज रहेछ । युरोपेली यो बिरानो सहरमा पुगेपछि एउटा नयाँ दर्शन जन्मिन्छ आफ्नै मनमा । लाग्यो, मानिसको दर्शन समयको लयसँगै फेरिने रहेछ ।

नेदरल्यान्ड्सकै अग्लो ठाउँ भएकाले यहाँ अन्य सहरबाट पनि बिदा मनाउन आउने रहेछन् । समतल र होचो देश भएकाले अन्यत्र पहाड रहेनछ । नेदरल्यान्ड्सकै अग्लो पहाड माउन्ट सेन्ट पिटर यही सहरमा उभिन्छ । त्यसैले पहाड हेर्नमात्र भए पनि मास्त्रिख्त आउँदारहेछन् डचहरू ।

गर्मी याममा भीडभाडमा हुने मास्त्रिख्त सहरका सडकगल्लीहरूमा म भने एक्लैएक्लै हिँडिरहेको हुन्छु ।
जर्मनी र बेल्जियम बीचको यो सहर भौगोलिक र सामरिक हिसाबले अत्यन्तै महत्त्वपूर्ण स्थानमा रहेकाले दोस्रो विश्वयुद्धमा हिटलरको विशेष रुचि थियो । ब्रसेल्स, पेरिस, लन्डन र जर्मनीका मुख्य सहरहरूबाट धेरै नजिकको यो एउटा प्रमुख नाका भएकाले हिटलर यो सहर आफ्नो कब्जामा राख्न चाहन्थे । यो सहरको मुख्य केन्द्रमा अझै पनि घरमुनि बंकरहरू छन् भन्छन् ज्याक गोसेन्स ।

यी डच नागरिक नेपाल र भारतमा लामै समय बिताएका मानिस रहेछन् । यिनलाई नेपालको हिमाल विशेष मन पर्दो रहेछ । यिनलाई वाइल्ड लाइफमा पनि विशेष रुचि रहेछ । नेपाललाई माया गर्ने ज्याकले एक दिन मास खोलाको किनारमा बसेर भने, 'तिम्रो देशका विकासे नीतिनिर्माताहरूमा मैले कुनै बौद्धिकता देखिनँ । युरोपदेखि मानिस तिम्रो देशमा अग्ला भवन हेर्न जाँदैन । काठमाडौं, भक्तपुर, ललितपुरजस्ता प्राचीन सहरलाई पुरानै अवस्थामा राखेर निर्माण गरेको भए पर्यटकहरू धेरै जान्थे ।

तिम्रो देशका मानिसमा सम्पदा सहर बनाउने सोच किन आउँदैन ? ' हाम्रो देशका प्राचीन मठमन्दिर र वास्तुकलामा यिनले अद्भुत सौन्दर्य देखेर आएछन् । तर कसरी भनूँ, हाम्रो देशको शासकहरूमा नयाँ बनाउन पुरानो ध्वंस गर्नैपर्ने चिन्तन छ भनेर ! हाम्रा विकासे आँखामा ती प्राचीन कलाले कुनै उत्तेजना पैदा गर्दैन भनेर खै कसरी बुझाऊँ ? म चुपचाप सुनिमात्रै रहन्छु ।

०००

नेदरल्यान्ड्सको लिम्बर्ग प्रान्तमा रहेको मास्त्रिख्त सहर युरोपकै पुरानो र प्रसिद्ध सहरमध्ये एक हो । यो सहर सालिकहरूका लागि प्रख्यात छ । सडक, चोकहरूमा सजाइएका सालिकहरूले सहरको सौन्दर्यमा निखार थपेका छन् । धेरै घरहरूमा सानाठूला मर्ति कुँद्ने चलन रहेछ । म्युजियमहरूका लागि पनि यो सहर उत्तिकै प्रख्यात छ । कला संस्कृतिमा धनी मास्त्रिख्त सहरले युरोपकै सांस्कृतिक सहरको परिचय बनाएको छ । रोमन साम्राज्यको पालामै निर्माण गरिएकोले यस सहरको सौन्दर्य कला रोमनहरूबाट प्रभावित छ ।

जब बिस्तारै तापक्रम शून्यभन्दा तल झर्दै जान्छ तब हरियो सहर बिस्तारै पहेँलो हँदै खैरो बन्छ । जब नीलो आकाश खैरो–कालो हँदै रुन्चे बन्छ र छिनछिनमै रोइदिन्छ; जब मास नदीको पानी छोएर आएको शीतल बतासमा ठिही मिसिन्छ तब सौन्दर्यभित्रका रहस्यहरू खुल्न थाल्छन् । खैरा रूखहरूबिना पात उदास उभिइरहन्छन् नोभेम्बरका चिसा दिनहरूमा हिउँदे चिसो र हिउँ पर्खेर ।

हरेक युरोपेली बालबालिकाको किताबमा अटाएको छ यो सहर । उत्तिकै जीवित छ इतिहासका पानामा पनि । युरोपियन युनियनको गठन, युरोपियन सिटिजनसिपको सन्धि तथा युरोपियन एकल मुद्रा 'युरो'को सम्झौताजस्ता ऐतिहासिक क्षणको साक्षी बनेको छ यो सहर । यही सहरसँग छ, नेपोलियनको दम्भको कथा । लडेका थिए उनी यहाँ र लागेका थिए बाँकी विश्वमा यहीँबाट ।

इतिहासभर विश्वको नक्सामा यो सहर यताउता भइरहेको छ । कहिले फ्रान्सको नक्सामा भेटिन्छ, कहिले बेल्जियमकोमा त कहिले बेलायतको कब्जामा रहन पुग्छ यो सहर । ऐतिहासिक कलाले भरिपूर्ण यो सहरमा युद्धका घाउहरू जीवन्त भेटिन्छन् । दोस्रो विश्वयुद्धमा यहाँ ज्यान गुमाएका अमेरिकी सेनाको समाधिस्थल अमेरिकी सिमेट्री युद्धको ध्वंस बताउन बसेको छ ।
रोमन साम्राज्यले बनाएको सेन्ट सर्भासिस पुल अझै चल्तीमा छ । योसहित अन्य दुई पुल दोस्रो विश्वयुद्धमा जर्मन सेनाले भत्काएर मास्त्रिख्त सहरमा रहेका यहुदीहरूको कत्लेआम गरेको थियो । युद्धपछि पुरानै ढाँचामा पुनर्निर्माण गरिएको यो पुलले त्यो कत्लेआम सम्झनामा राखेको छ ।

०००

मास नदीले दुई भागमा बाँडेको यो सहरको मुख्य आकर्षण यही नदी पनि हो । फ्रान्स, बेल्जियम र नेदरल्यासलाई जोड्छ यो नदीले । गर्मीमा यो नदीमा रमाउनेको घुइँचो लाग्छ । नदी किनारका रेस्टुरेन्टहरूमा गज्जबको भीड लाग्छ । ज्यादै माया गर्छन् यहाँका मानिसहरू मास नदीलाई । गर्मीको घुर्मैलो साँझ मास नदीको किनारमा चिसो बताससँगै उभिएर म एकाएक काठमाडौं सम्झिन पुग्छु ।

सम्झिन्छु, विष्णुमती र बाग्मतीको हरकलाई । हामीले दुर्गन्धित पारेका ती कुनै बेलाका कञ्चन नदीहरूलाई । नदीले पनि निधारमा भाग्य बोकेर आउँदो रैछ । युद्धको पीडा बोकेको मास नदी आजपर्यन्त कञ्चन छ । सभ्यताको साक्षी बोकेको बाग्मती सहरजस्तै धमिलिएको छ । भित्रभित्रै खुम्चिन्छु यो नदीको पवित्रता र सौन्दर्य देखेर । हामी कस्तो सांस्कृतिक धरातलमा उभिएका छौं ? कस्तो परम्परा सन्तानहरूलाई सिकाइरहेका छौं ? मेरो देशको पानीलाई कुरूप पारेर यो पराई नदीको सौन्दर्यमा कसरी दंग पर्न सक्छु ?

आफ्नै देशको विडम्बना सम्झेर उदास बनेको मेरो मनलाई मास नदीको पवित्र पानी छोएर आएको चिसो बतासले उडाइदिन्छ । यो नदीले मानिसलाई दिएको असीम आनन्द देखेर मन प्रफुल्लित हुन्छ ।

०००

बस्दै जाँदा बुझ्दै जान्छु, यो सहर गोराहरूका लागि मात्रै हो । इतर गोराहरू नगन्य भेटिन्छन् । यहाँका मानिसहरू बाहिरियासँग खासै घुलमिल गर्दैनन् । परम्परावादी सोच राख्छन् र आफ्नो पहिचानमा घमण्ड गर्छन् । नजिकका गाउँमा जाँदा उक्त भाव प्रस्टै अनुभव हुन्छ । भाषा र पहिचान यिनीहरूलाई प्रिय छ । हामीजस्तो कैलो छाला भएका सबै मानिसलाई यिनीहरू मध्यपूर्वका शरणार्थी सोचेर व्यवहार गर्छन् । म अनुसन्धानरत कलेजका प्रोफेसरले भनेजस्तो नेदरल्यान्ड्समा पनि डोनल्ड ट्रम्पको जस्तो राष्ट्रवादी धार पछ्याउने राजनीति सुरु भएको छ ।

यहाँ रहेको सामाजिक सौन्दर्य हराउँदो छ । प्रोफेसरका अनुसार यहाँ पनि गोरो राष्ट्रवादको वकालत गर्ने मानिसहरूको संख्या बढिरहेको छ । गैरयुरोपेली देशबाट आएका मानिसमाथि नाम वा छालाको रंगका आधारमा भेदभावको सम्भावना बढिरहेछ ।

दोस्रो विश्वयुद्धमा त्यही विभेदको सिकार बनेको सहर आज आफैं विभेदकारी बनिरहेछ भन्ने थाहा पाउँदा नरमाइलो लाग्छ । मानिसका कला, कौशल र सौन्दर्यचेत बोकेका भव्य प्राचीन संरचनाले पनि मानिसमा रहेको अहं र दम्भ घटाउन नसक्दा रहेछन् । आफू राम्रो र अरू नराम्रो भन्ने चिन्तन विकास भएपछि मानिस आँखैअगाडिको सौन्दर्य देख्न अक्षम हुँदो रहेछ ।

०००

रहँदाबस्दा बिस्तारै रहस्य खुल्दै जान्छन् । हरियो समरमा यहाँको सौन्दर्यले सम्पूर्ण रहस्य छोपिदिन्छ । जब बिस्तारै तापक्रम शून्यभन्दा तल झर्दै जान्छ तब हरियो सहर बिस्तारै पहेँलो हँदै खैरो बन्छ । जब नीलो आकाश खैरो–कालो हँदै रुन्चे बन्छ र छिनछिनमै रोइदिन्छ; जब मास नदीको पानी छोएर आएको शीतल बतासमा ठिही मिसिन्छ तब सौन्दर्यभित्रका रहस्यहरू खुल्न थाल्छन् । खैरा रुखहरू बिनापात उदास उभिइरहन्छन् नोभेम्बरका चिसा दिनहरूमा हिउँदे चिसो र हिउँ पर्खेर ।

अर्को समरको पखाईमा छ मास्त्रिख्त । रहस्य छोपेर त्यही हरियो सौन्दर्य फेरि खुल्नेछ । तर, यति बेला भने मास नदीको किनारमा बसेर कफी पिउँदै बूढो भायोलिनवादक आफ्नी प्रेमिकाको यादमा पग्लँदैछ- बरफको टुक्रा पानीमा घुलेसरी । र, आउने समरका लागि नयाँ धुनको रचना गर्दैछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.