कुनै अदालती नजिर छैन यहाँ

कुनै अदालती नजिर छैन यहाँ

जयस्थिति मल्लको पालामा भोटाङका राजाले मागेअनुसार ५० घर नेपाली पहिलोपल्ट त्यता पठाइएका थिए । तिनमा सबै जाति/वर्गका मिलाएर त्यहाँ एउटा बस्ती बसालियो । त्यहाँ पुगेका नेपालीले खेती गर्ने संस्कृति पुर्‌याए, राम्रा घर बनाउने शिल्प-कला पुर्‌याए, अरु नेपालको परिष्कृत संस्कृतिका अनेक सभ्यचाला सिकाए । बस्दै जाँदा, बढ्दै जाँदा भोटाङ-नेपालको सम्बन्ध राम्रो हुँदै गयो, नेपाली जाति उता पस्दै गए, विकास गर्दै गए ।

तीन सय वर्षदेखि भूटानको भीरपाखामा आफ्नो श्रम पोखेर देशलाई उर्वर र उज्ज्वल बनाउने नेपाली जाति सन् १९९० को कथित आधुनिकतापछि विनाकसुर गिरफ्तार हुन थाले । मध्यरातमा घरमा आगो लाउन थाले, गाईबस्तु लुट्न घरमा ताला लाउन थाले । भागारे-भाग भयो; हजारौँ नेपाली उच्छेदित भए, कति कति काराबासमा पुगे, कति मरे, मारिए । अवस्था कस्तो आयो भने, कि उनीहरूकै वस्त्र बक्खु गादा र चालचलन स्वीकार्नु पर्‌यो कि देश निष्कासित हुनुपर्‌यो ।

उताबाट उच्छेदितहरू भारत भागे, यता नेपाल पसेको पनि तीन दशक नाघ्यो, आज अरु सात समुद्र पारि छरिएका छन् । तीमध्ये न्यूजिल्यान्ड पुगेको पन्ध्र सय नेपालीको एक समूहले एउटा पत्रिका निकाले— 'पहिचान' जसमा त्यही भूटानको मातृवन्दना गाएका छन्; एकदिन हामी भुटान माताका चरणमा ढोग्न फर्केर आउने छौँ भन्ने गीत गाएका छन् । यसरी जातीय उच्छेदन गरिए पनि आफ्ना भूमिको माया कहिल्यै नमर्ने रहेछ ।

वर्तमान नेपालमा ठीक त्यस्तै आतङ्क मच्चिएको छ । आफैँ होइन यो देशका संस्कृति र भाषाभक्त व्याकरणका पुजारीहरू जागेर डरलाग्दो स्थिति उत्पन्न गरेका छन्; खपिसक्नु छैन । यस माटोमा सयौँ वर्षदेखि बसोवास गरेका यो देशका सभ्यता निर्माणमा समर्पित हजारौँ शब्दको उठीबास हुँदै छ । उच्छेदन हुँदै छ र नागरिकता खोसेर अनागरिक बनाउने काम हुँदै छ । उता अंगभंग गरिएका, भुत्ल्याइएका भुटानी नागरिक नेपालमा पसेर मुस्किलले बाँचेका थिए ।

तर, आज हाम्रो राष्ट्रिय आँगनमै भुत्ल्याइएका, पछारिएका शब्दको चित्कार गर्ने वाणी छैन, पछारिएको भुँइबाट उठ्ने तागत छैन, शरणार्थी भई भागेर अन्त जाने शरणभूमि पनि छैन । 'अदालती नजिर हेरेर हामीलाई न्याय दिनोस्' भन्न यी शब्द असमर्थ छन् ।

हाम्रा भाषाभक्तहरूले पछारेको भाषारूप अहिले भक्कानिएको छ र रुँदै न्यायमूर्तिहरूको शरणमा पुगेको छ । भाषाभक्तहरूको प्रहार भयावह छ, सारा आतंकित छन् । त्यसैले, यतिखेर नेपालका अंगीकृत हजारौं नागरिक ठूलो संकटमा परेका छन् । यसरी हजारौं वर्षदेखि यही माटो खनीखोस्री बसेका जनजिब्रोमा घर बनाई बसेका रैथाने भएका शब्दलाई तिमीहरू 'आगन्तुक' हौ र यो देशमा तिम्रो हक-अधिकार अरुसरह हुनेछैन भन्ने निर्णय सुनाए ।

नटेर्नेहरूका खुट्टा मर्र्काए, हात चुँडाले, ढाडमा बजारे, सके भुइँमै पछारे, हाम्रा भाषाभक्तहरूको यस्तो उद्दण्ड चाला देखेर म मनमनै काँप्न थालेको छु । त्यस्तो आदेशले शब्दहरू मौन स्वरमा बोले, 'अदालती नजिरले के भन्छ ? ' उताबाट उत्तर आयो, 'यहाँ कुनै अदालती नजिर जीवित छैन । सबै अदालती नजिर भइसके कुनै मुद्दाको पैरवी पनि बाँकी छैन ।' त्यसपछि शब्दले पुकारा गरे, 'त्यसो भए 'मुलतवी'मा राखिदिनोस् ।' तर 'मुलतवी' पनि अब नरहने भो ।

यस प्रकारले यो देशको सेवामा अझ प्रशासनमा, न्याय कानुन तथा सैन्य सेवामा हजारौं शब्दले अनगिन्ती वर्षदेखि ठूलो योगदान दिएका थिए । अंग्रेजी, फ्रान्सेली यहाँ नआउँदैदेखि अरबी, फारसी, उर्दू, हिन्दीबाट शब्दहरू नेपाल पसे । हाम्रा पुर्खाहरूले डाके, बोलाए; सम्मानपूर्वक यहाँ बसाए ।

त्यसैले, भानुभक्तीय रामायणमा यस्ता शब्द आई बसेका छन्- कदम, कुछु, ओर, खडी, खजना, खिल्लत, खुश, चिराँक, चुगली, चारोतरफ, चहुँओर, जवाव, जौन, ठन्डा, ढेर, तखत, थोडा, दगा, दुनियाँ, देशी, धुप, फजित्, फिराद, हजुर, बक्वात, बखत, बढिया, बदर, भैया, भेजनु, रखुवारी, हुकुम, हाजिर, हरफ, हवाल आदि । यी शब्द यो देशका पनि अमूल्य सम्पत्ति प्रमाणित भए ।

वर्तमान भाषाभक्तहरूले यस्ता रैथाने शब्दको विरूपीकरण गरे । 'शिकायत' भत्काएर 'सिकायत' पारे, 'शिविर' 'सिविर' हुन पुग्यो, 'शाही जंगी अड्डा' 'साही जंगी अड्डा' भयो, 'शासन प्रणाली' 'सासन प्रणाली' भयो, 'शमीकरण' 'समीकरण' भयो, 'शराबखाना' 'सराबखाना' बनाइयो, यस्तै यस्तै यो विरूपण क्रान्तिमा के के भयो भयो । प्रचण्डको क्रमभङ्गभन्दा पनि भयानक भयो । यस्तो हेर्नुपर्दा ज्यादै दुःख लाग्छ ।

शब्द भनेको आकृति मात्र हो । आँखाले चिनिरहेको आकृति हेर्न खोज्दछ । जस्तै 'निगरानी' अथवा 'नालिश' अथवा नाम 'निशान' अथवा 'नापी लगत' अथवा 'नक्काशी' । नित्य देखिइरहेका यी र यस्ता आकृतिलाई आँखाले जसरी टिप्छ मनले पनि त्यस्तै उच्चारण गर्न खोज्छ । जिब्रोले कहिले नजान्ला । तर, त्यसले फरक पार्दैन, त्यसै बुझिन्छ । 'नक्काशी' भन्नेबित्तिकै यो नक्कासी 'नक्काषी' हुन सक्दैन ।

'नक्कासी' पनि भनेर मनले भन्छ विवेकले ठहर गर्छ; चम्स्कीको आदर्श वक्ता, श्रोता, भाषा प्रयोक्ता हाम्रो मनभित्रै छ; मनोजगत्मा बस्छ । उसले शब्दको उच्चारण गर्नुपर्दैन, आँखाले आकृति देख्नासाथ मनले चिनेर भन्छ यो 'ऋतु' रहेछ 'रितु' होइन; कर्ता रहेछ कर्ता होइन । लेख्यजति सबै संकेत परम्परामा सम्झौता हो, शुद्ध-अशुद्ध केही छैन, स्थापित परम्परा नै शुद्धताको मापदण्ड हो, बोलीको कुरा पनि त्यहीँ समाविष्ट छ ।

एकछिन रोकिएर हामीले चिनेको, अंग्रेजी जानेको फ्रान्सेली हेरौँ । कुनै भाषा सजिलो-अप्ठ्यारो कहीँ छैन । निरक्षर बालबालिकालाई क, ख, ग अप्ठ्यारो लाग्छन्; साक्षर भएकालाई, लेखकलाई पनि अप्ठ्यारा लाग्ने ग्रन्थ र विचार आइरहन्छन्; यो अपार छ तर....

गाउँमा हिजो 'भर्तीवाल' थिए, 'भलाद्मी' पनि थिए । तिनीहरूको वस्त्र बोली नै परिचय थियो । आँखाले देख्थ्यो, मनले चिन्थ्यो, आज जान्नेहरूले तिनलाई अर्कै वस्त्र लगाइदिए, संस्कृतिच्यूत गराइदिए, नचिनिने बनाइदिए । शब्दमाथि त्यस्तै छ । अक्षरमा कुनै वैज्ञानिकता छैन, यो एक मानित संस्कार र सम्पदा हो । तर, यसमा वैज्ञानिकता छैन भन्दै स्थापित सम्पदा भत्काउनुलाई विरूपीकरणको उत्तेजक तिर्खा भन्ने नाम दिन सकिन्छ ।

ढल्न लागे पनि विश्वसम्पदाभित्र पर्ने वस्तु कसैले छुन पाउँदैन, त्यही रूप, आकार ध्वनिलाई सधैंका लागि यथावत् राख्नुपर्छ । तर, हाम्रा भाषाभक्तहरू क्रमिक विनाशको अभियानमा छन्, क्रमभंगमा अघि प्रचण्ड लागेझैँ । भाषामा लिपि र शब्द नै पवित्र परिपूर्ण र अविभाज्य शक्ति मानिन्छ, त्यो पूजनीय छ; तर हाम्रा भाषाभक्तहरू ध्वंशलीलामा उत्रेर अभ्यास गर्दै छन्; अभ्यासरत छन् अब के हुन्छ ?

मलाई अरु विषयको खास चिन्ता छैन । तर, अरबी महासागरको किनारदेखि बोलाएर ल्याइएका शब्द थिए, फारसको खाडीदेखि पाकिस्तान हिन्दुस्तान हुँदै आएका शब्दले नेपाली भाषाको रिक्ततालाई मध्यकालीन सभ्यताको पालिशले वाङ्मय टल्काए, त्यसले सयौं वर्षदेखि नेपाल उज्यालो पारेर राख्यो । पृथ्वीनारायण शाहदेखि यताको अझ पछिको भाषा-बोलीले खासगरी न्याय प्रशासन र सैन्य सेवाको क्रमिक रूपले आधुनिकीकरण गर्दै लगे ।

तथापि हाम्रो वाणीको जगको ढुंगा भई बसेका तिनै अरबी, फारसी, हिन्दी आदि मूलका शब्द विचार व्यवहारमा थिए । हामी ढुक्क थियौं; तिनकै आडमा नेपाली भाषा बढिरहेको थियो । आधुनिक नेपाली वाङ्मयको एक आद्य ग्रन्थ 'जंगबहादुरको बेलायत यात्रा'मा यसरी लेखियोः

लंका र एडेन—७ दिनमा लंका टापु पुगनुभयो । ताहाँ पुग्दा कस्तो भयो भन्या सवा लाख मानिस सामेल थिया । बडा मानिस घोडामा सवार भै आयाका थिया । मर्दाना जनाना बराबर थिया । एक तर्फ छाउनी पल्टन खडा थियो । त्यसै बीचमा ताहांका लाठ साहेब सवारीलाई बग्गी ली भेट मुलाकात गर्न आया । उनका साथमा अरु बडा साहेवहरू पनि थिया । ती नेपालका श्री प्राइम मिनिष्टर साहेबसित आई हातमा समाती गुडमानी सलाम गर्‌या ।

खयेर भेट मिज्याद भयो । एक बग्गीमा सवार भै सहर छाउनी, हाट, बजार, गढी, किल्ला, फौज, पल्टन, खर्खजना सबै देखाया । परेठमा सलामी गर्‌या डेरामा लगी सब चीजको जाफत दिया । बहुत खातिर गर्‌या । र आफ्ना घर गया (पृ. ७) ।)

यति दृष्टान्तले पुग्छ होला झन्डै ५० प्रतिशत शब्दहरू, फारसी उर्दूका, हिन्दी स्रोतका शब्द छन् । त्यस्ता आवश्यक शब्द मागेर हामी ठूला-ठूला अनिकाल काटेर यहाँ आयौँ । कति गरिब रहेछौँ— 'लाठ साहेप', 'प्राइम मिनिस्टर', 'परेठ' उसैबेला भित्रिए, अंग्रेजी पनि उसैबेला मिसियो उर्दू फारसी त कहिले कहिले । यसरी अरुको शब्द सम्मति मागेर आफ्नोमा ल्याइएकोलाई 'लोन' भनियो 'ऋण' ठानियो; हामी तीप्रति आभारी छौँ भन्ने विश्वले लोन भन्यो । तर, नेपाली गुरुको आविष्कारक चेतनाले 'आगन्तुक' भनि अर्कै अपहेलित दर्जा दियो ।

त्यति मात्र होइन यसरी २०० वर्ष अघि नै 'लर्ड' अंग्रेजी र 'साहिब' उर्दू÷हिन्दी मिलेर नेपाली जिब्रामा 'लाठसाहेव' आयो, लिखितममा आयो । यस्ता हजारौं शब्दले भारतको मुगलकालपूर्वैदेखि नै यो आर्यावर्तको वाणी बगैंचा बसाएका छन्, कलिलो नेपाली भाषा तिनै पुष्प सुगन्धले गम्केको हो । त्यसो त एक मात्र होइन, हिन्दी फारसी, संस्कृत, स्थानीय, मंगोल सबै मूलकाहरूलाई निरन्तर हामीले बोलाइरह्यौं, स्वागत गरिरह्यौँ ।

ती आउँदै हामीलाई शोभित गरिरहे । आजको त्यसको गुन तिर्नको सट्टा तिनलाई नै लज्जित गराइरहेका छौँ । आजको नेपाली भाषा यतिविघ्न सम्पन्न, यति सुन्दर, यति गौरवशाली भएको अवस्थामा हामी बैगुनी उत्रेका छौँ । आर्य, मंगोल, द्रविड सबै मिली बसेको ठाउँमा तिमीहरू 'आगन्तुक' हौ भनेपछि यो विभेदको बीज रोपिएको हो । यसको श्रेय हाम्रै भाषाका नवीन पुजारीलाई जान्छ । आगन्तुक शब्दले भाषालाई छुट्ट्याएपछि नै साहित्य संस्कृतिमा यस्तो विषादी पस्न थालेको हो ।

 

आगन्तुक शब्दको प्रयोग निहीत अर्थमा छ र यो बर्जित हुनुपर्ने कुराले झन्झन् यो विभेदजनक तत्त्व मौलाएको छ । कहिलेदेखि, कसले यो विभेदको विजन नेपाली भाषामा राख्यो म जान्दिनँ । तर, यस्तो बर्जनीय शब्दले अरु जाति, वर्ग, धर्मलाई निन्दा गर्ने, अलग गर्ने दुष्प्रयत्न गरेको छ । त्यस्ता शब्दलाई आगन्तुक नाम दिएर तिनलाई अस्थायी, ढुकुवा, पाहुना मानेर तिनीहरूप्रति जे-जति दुव्र्यवहार गर्न मिल्छ गरौँ भन्ने नियम बनाए; यो नै अत्यन्तै अवैज्ञानिक अहितकर एवम् आत्मध्वंशी प्रयत्न हो ।

वास्तवमा आगन्तुक शब्दको प्रयोग नै बर्जनीय हुनुपर्ने । उतातिर सयौँ वर्षदेखि एक भाषाका शब्द अर्काेले मागेर आफ्ना लागि ल्याइने भएकाले 'बरोड' भए । मागिएका, प्रेमले सापटी ल्याएका शब्द सम्मानित भए । बस्दाबस्दै तिनै शब्दले अरु शब्दलाई चिने, कतिको जोडी बाँधियो, घरबार भयो । अब यहाँ अन्तर्जातीय विवाह भएझैँ 'लाठ साहेव' भए- 'क्यालेन्डर वर्ष', 'गुठी नम्बरी जग्गा', 'छिनबा मिशिन', 'जीउ जमानी', 'फाइल बढुवा', 'टेन्डर आह्वान', 'शीलबन्दी', 'सही छाप'हरू । आज तिनीहरूलाई फोर्न भत्काउन मिल्छ ?

'सिङ्गल बेञ्च', 'जाली टिकट'हरू बाहिरै बिहे गरेर नेपालमा बसोवास गर्न आए । आज तिनको छुट्टानाम गराई एउटालाई मुड्की हानेर पछार्दा जस्तो अपमान हुन्छ, त्यस्तै कर्म नेपालमा भएको छ । शब्द विभाजन गर्दा तत्सम र तत्भव मात्र स्वीकार्य हुन्छ । जुन दिनदेखि 'आगन्तुक' वर्ग जन्माइयो, त्यो दिनदेखिको तिनले भोगेको अपमानको क्षतिपूर्ति हाम्रा भाषाभक्तहरूले तिरून् ।

एक भाषाबाट मागेर ल्याई अर्को भाषामा आंशिक वा पूर्ण रूपले 'नेचुरलाइज' गरेको शब्दलाई 'उधारा' 'पैँचो', 'ऋण' शब्द मानिन्छ । तर, शब्द आफूखुसी आउँदैनन् । हाम्रा कोशकारहरूले त नेपालीलाई पनि आगन्तुककै नियम लगाएका छन्, संस्कृत मात्र आगन्तुकभित्र नपर्ने मौलिक उत्पत्तिको शब्द मानेका छन् । यो हास्यास्पद कुरा छ ।

आगन्तुक जति सबै ह्रस्व गर्नू, सबै 'श' 'ष' 'स' हटाएर 'स' मात्र गर्नू भन्ने उर्दीले यो देशको एकता सिध्याइँदै छ । यसको संस्कृति भित्रभित्रसम्म विभाजनका चिरा पसाइँदै छ ।

विभिन्न संस्कृतिका, नेपाली भाषाका शब्द यो विशाल भण्डारमा सजाएका छन्— तोङ्वा, मुन्धुम, सेवारो, जिम्बु, छठ... के यी पनि आगन्तुक हुन् ? नेपाली गुरुजनाबट ठूलो त्रुटि भएको छ । नेपाली संस्कृतिलाई विभाजन गरी एकथरी भाषालाई अपमानित गर्ने कार्य भएको छ । त्यसरी विभाजन गरी एकथरीलाई जन्मसिद्ध नागरिकता दिएर अर्काथरीलाई प्वाँख उखेल्ने र पिटेर लडाउने नियम कसरी आयो होला म छक्क पर्छु ।

नयाँ संविधानसँगै यस्तो अत्याचारको अन्त्य हुनुपर्ने । तर, बौद्धिक विद्वान्ले थापेका जालहरू जनसाधारणले नदेख्दा रहेछन् । त्यहीँ पस्दै छन्, खस्दै छन् । धेरै अघि 'अक्षर प्रज्ञा' दोस्रो संस्करणको 'वक्तव्य'मा मुकुन्दशरण उपाध्यायले लेख्नुभएको थियोः प्रस्तुत ग्रन्थको धारणा के पनि हो भने यदि हाम्रा सत्प्रयास ले विश्व का विविध भाषाहरू का वर्ण विन्यास मा एकरूपता आउन सक्यो भने तेसबाट मानवजाति को हित पनि हुन्छ र नेपाली जाति को गौरव पनि बढ्छ ।

एसर्थ हामीले जुनसुकै भाषा को शब्द किन नहोस् यदि त्यो हामीले बोल्न सकिने ध्वनि लिएर आउँछ भने तेसलाई सकेसम्म उसको आफ्नै स्वरूप मा बाँच्न दिऊँ । हामी यो कदापि नभनौं कि, “हे आगन्तुक शब्द तँ रक्सौल वा सुनौली वा काँकरभित्ता वा कतै बाट नेपाली समाज मा छिर्छस् भने तेरा लामा लामा औंला काटेर छोटा पारिदिन्छौं र ह्रस्व तुल्याइदिन्छौं ।” एसो किन नभनौं भने हामी नेपालीहरू हिंस्रक र असहिष्णु जाति होइनौं ।

अब हेरौँ 'किताबी सुब्बा', 'किताबखाना', 'किफायत', 'किस्ताबन्दी,' 'केश फाराम', 'कैफियत खानतलासी', 'खुला इजलाश', 'गुल्जार', 'साविकको मुलुकी ऐन', 'गौर सैनिक व्यक्ति', 'चपराशी', 'चोरी निकासी', 'जमानी पत्र', 'जवाफदेही', 'जिकीर', कुनकुन शब्द कहिलेदेखि यहाँ आए र कहिलेदेखि नेपाली जातिको यति सुन्दर भाषा भवन बनाए यो सम्झँदा मन हर्ष र आनन्दले आत्तिन खोज्दछ ।

तर, यतिबेला आएर आफ्ना ध्वनिसमेत आएका खासगरी भारोपेली भण्डारका शब्द निर्माणमा विभेद उत्पन्न गरी मानव समाजलाई समेत त्यसको आधारमा अपमानित गर्ने जुन कार्य भएको छ, त्यसको नेपाली जनताले सख्त विरोध गर्नुपर्छ । नत्र होचाको मुखमा घोचोको नीति रहिरहनेछ । एक-दुई जनाले भत्काउन थालेको उद्दण्ड कार्यलाई तुरुन्तै रोक्नुपर्छ ।

संस्कृतलाई मात्र घेराबारा गरेर अरु सारालाई, नेपालीसमेत नेपालका सबै भाषालाई थला पार्ने को हो ? यसरी ढुट्टिएका शब्दलाई उठाएर धुलो टक्टक्याएर, दबाइपानी गरी यथास्थानमा राख्नुपर्छ । 'आगन्तुक शब्दलाई यस्तो नियम लाग्छ, अरुलाई यस्तो' भनी कसले आदेश दिएको छ त्यहीँसम्म पुगी नियानिसाफ खोज्नुपर्छ ।

आगन्तुक जति सबै ह्रस्व गर्नू, सबै 'श' 'ष' 'स' हटाएर 'स' मात्र गर्नू भन्ने उर्दीले यो देशको एकता सिध्याइँदै छ । यसको संस्कृति भित्रभित्रसम्म विभाजनका चिरा पसाइँदै छ । यसपछि नै 'शनाखत'लाई 'सनाखत' गर्नू, 'शिकायत'लाई 'सिकायत' गर्नू, 'शिरपुछार'लाई 'सिरपुछार' गर्नू, 'शेयर बजार'लाई 'सेयर बजार' गर्नू, 'कफी शप'लाई 'कफीसप' गर्नू, 'सरजमीन'लाई 'सरजमिन' गर्नू भन्ने फर्मान जारी गरेर पुर्खाले खडा गरेको वाङ्मय महल भत्काइएरहेका विद्वान्हरू देख्छु ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.