एउटा सम्बन्धको दुःखान्त

एउटा सम्बन्धको दुःखान्त

मेरा पनि मीत थिए ।
मेरो जीवनको सामाजिक सम्बन्धको सुरुमा मेरा मीत थिए । पारिवारिक नातागोता अथवा इष्टमित्रबाहेक मेरो सामाजिक सम्बन्धको सुरुवात यहीँबाट भएको थियो । तर यो सुरुवात मेरा निम्ति दीर्घकालीन थिएन । त्यो सुरु भएको पत्तै नपाइकन सिद्धिएको सम्बन्ध थियो । मनपेटभरि पनि अनुभूति गर्न नसक्ने गरी मेरो मितेरी सम्बन्ध नजाने किन धुलीधुवाँ भएको थियो, सचेत भएदेखि यो प्रश्नको उत्तर खोजेको मैले, सत्य पाएको पनि छु । तैपनि कोट्याइरहन मन लाग्छ- मनपेटभरि गाँस्न नपाइकन मेरो मितेरी सम्बन्ध किन 'थियो' मा परिणत भयो ?

मीतको अनुहार राम्ररी याद छैन, नाम याद पनि छैन । वर्ण कालो थियो, आँखा थोरै राता थिए याद छ । अरू केही याद नभए पनि हृदयको कुनै कुनामा चहकिलो अक्षरमा लेखिएको एउटा पद छ-मीत । सम्झँदा, आँखामा यतिमात्रै आउँछ । हो, त्यही छानामुनि मेरा मीत थिए । जीवनले घरको आँगनलाई कुल्चिएर बाहिर निस्किने प्रयासमा लाग्दा भेटिएका मीत थिए मेरा ।

मन भरंग हुन्छ, यतिमात्रै सम्झिँदा पनि । आफ्नो स्मृति केन्द्रको पुछारमा पुग्दा मैले आफैंले निर्माण गरेको सम्बन्धको पहिलो नम्बरमा त्यही पद लेखिएको छ-मीत । मेरो जीवनको इतिहासमा मेरा व्यक्तिगत सम्बन्धहरूको अध्याय यहाँभन्दा परतिर पुगेको पनि याद छैन । तर त्यो बेनामी मान्छेसँगको मेरो सम्बन्ध कुनै सांस्कारिक हिसाबले गाँसिएको थिएन । म बाँचेको समाजमा उनको र मेरो जात एउटै थिएन त्यसकारण पनि उनीसँग मेरो संस्कारगत सम्बन्ध केही थिएन ।

म बाँचेको युगको सांस्कृतिक विधानले मलाई माथिल्लो क्रममा राखेको थियो, मेरामीत त्यो क्रमको सबैभन्दा पुछारमा थिए । तैपनि कहाँबाट कसरी गाँसियो कुन्नि यो नाता हामी एकअर्कोलाई 'मित' भनी सम्बोधन गथ्र्यौँ र 'तिमी' आदरार्थी प्रयोग गथ्र्यौँ ।

मीतको ठूलाठूला टायलको उबडखाबड छानो भएको घरको सामान्य बुनोेट याद छ । त्यो पनि उनीहरूको आफ्नो थिएन । त्यो कसैले प्रयोगमा नल्याएको गोठ थियो । मीतबाले ढल्के टोपी र इस्टकोट लगाएको, मीत आमाको दुब्लो शरीर र कालो अनुहार राम्रै याद छ शायद किशोर भएपछि पनि देखेकोले होला । मीतबाले लुगा सिउने कल चलाउँदा यसबाट आएको खटखट आवाज, कलबाट आउने अनौठो गन्ध, नयाँ कपडाको बासना अझै पनि कल्पनामा आभासित भइरहेझैं लाग्छ ।

अनि सियो चलाउँदा मीतआमाको औंलामा लगाइएको सेतो बेरुवा औँठी टल्किएको पनि याद छ । तर मीत....मीतका फुटेका कालागाला र राता धर्सा कोरिएका आँखा हो कि हो कि झैँ याद छ । सबैभन्दा बढी मीतको परिचय, स्मृति वा सम्झना त्यो शब्दको न्यानोपनमा मात्रै छ ।

र, मीतसँग जोडिएको सबैभन्दा चहकिलो सम्झना मीतका सपरिवार गाउँ छोडी मधेस हिँडेको बेलाको मात्रै छ ।
तिनताका म स्कुल जान थालिसकेको थिइनँ । मेरा समय कसरी बित्थे थाहा छैन । बिजुली चम्किएका बेलामा हजुरआमाको खोकिलामा घुस्रिएको बाहेक त्यो बेलाको केही याद छैन । बरु मीतसँग उनका घर अघिल्तिरको साँघुरोे बाटोमा रबरको हरियो बल खेलेको स्मृति हो कि होइन झैं भएर आउन खोज्छ ।

मेरो कल्पनामात्रै बोलेको हो कि अथवा मेरो चेतन मनले नै यसलाई अहिलेसम्म स्मृतिपटमा राखिरहेछ थाहा छैन । तर मीतबाले कल चलाइरहेको दृश्य र त्यसबाट आउने एकनासको खटखट आवाज मुग्ध भएर सुनिबसे जस्तो पनि लाग्छ । अनेक किसिमका रंगीबिरंगी कपडाका मसिना टुक्राटाक्रीहरू लोभिएर हातमा खेलाउँदै नयाँ कपडा र कलबाट आउने फरकफरक किसिमको गन्धको मिश्रणलाई श्वासभरिभरि निलुझैंको अवस्थामा धेरैबेर लिइबसे जस्तो लाग्छ र घरबाट आमा अथवा हजुरआमाले बोलाएपछि कमिजको खल्तीमा कपडाका टुक्रा कोचेर घरतिर दौडिएजस्तो पनि लाग्छ ।

तर सबै यस्ता स्मृतिहरू 'जस्तो लाग्छ' को अवस्थामा आभासित हुने गर्छन् मेरो वर्तमानमा । यी मेरा कल्पनाशक्तिमा बाँचे अथवा यथार्थमा मैले भोगेँ म यसै भन्न सक्दिनँ । तर यी कुराहरूको बीचमा एउटा सत्यचाहिँ अझै मेरो अन्तरमनमा आलोकित भइरहन्छ कि मेरा मीत थिए कसैले सम्बन्धमा अनौपचारिकरूपमा बाँधिदिएता पनि ।

तर त्यो दिनको मलाई राम्रो सम्झना छ जुन दिन मेरा मीत आफ्ना बाआमासँग हिँडेका थिए । उनीहरू मधेस बसाइँ जाँदैछन् भन्ने घरमा घुइँरो-घुइँरो सुनेको थिएँ । मधेस भनेको कहाँ हो कति टाढाको हो मेरो सानो दिमागले कल्पनासमेत गर्न नसक्ने कुरा थियो । मीतआमाले डोकोमा केही पोका पुन्तरा बोकेकी थिइन्, एउटा हातमा झोला बोकेका मीत बा मीतलाई डोहोर्‌याएर हिँडिरहेका थिए । म तिनीहरूको पछिपछि कुदेको थिएँ ।

तिनीहरू घरमुन्तिरको पानी घट्टको पछिल्तिरको सानो बाटोबाट तेर्सिए । त्यो असजिलो बाटो मैले कुन उद्वेगले पछ्याएको थिएँ, अहिले त्यो अनुभूति गर्न सक्दिन । तर आमा भन्नुहुन्छ त्यतिखेर म एकनासले उनीहरूलाई पछ्याइरहेको थिएँ अरे । आमा मेरो पछि पछि दगुर्दै आउनुभएको थियो । सायद मीतआमाबाट मलाई फर्किएर जान भनिएको थियो । पर एउटा असजिलो साँघुको डिलमा पुगेपछि मलाई मीतबाले एक रुपैयाँको नोट दिनुभएको भने प्रष्टै याद छ ।

अलिकति लज्जाजस्तो, अलिकति अन्योलताजस्तो असजिलोले क्याप्पै समातेको थियो । त्यसैले मैले उनलाई आँखाले देख्ने आशा मात्रै गरिबसेँ, तर मीतआमासित उनको बारेमा सोधिनँ ।

उनीहरू साँघु तरेर पारी पुगे, तर म साँघुको मुखको खुड्किलोसम्म पनि उक्लिनँ । अब जानु हुँदैन भन्ने मेरो चेतनाले हो अथवा केटाकेटीहरूका निमित एक सुकी नै पर्याप्त हुने त्यो समयमा एक रुपैयाँ पाउनुको अप्रत्यासित घटनाले हो मलाई आज्ञाकारी बनाइदिएको थियो । त, उनीहरू साँघु तरेर पारी पुगे, मीतमीत बाको काँधमाथि थिए । तिनले मलाई फर्की हेरे कि हेरेनन् थाहा छैन । तर त्योबेला मलाई पछ्याउँदै मेरो पछिपछि आइपुगेकी मेरी आमा पछिसम्म पनि भन्ने गर्नुहुन्थ्यो मैले त्यतिखेर जोडले एकपटक 'मीत' भनी बोलाएको थिएँ अरे ।

मीत गए, मेरा निम्ति खेल्ने साथी अर्को भएन तत्कालको लागि । मीतबिना मैले रबरको त्यो सानो बल कोसित खेलेँ हुँला अथवा नयाँ साथीको खोजी कसरी गरेँ त्यो कुरा मेरा निमित्त विस्मृतप्रायः भइसकेको छ । पछि स्कुल जान थालेँ, नयाँनयाँ साथी बनाएँ, उमेर पनि बढ्दै गयो र बिर्सिँदै गएँ मीतलाई ।

लगभग स्कुल जान थालेपछि पनि बलचाहिँ सुरक्षित नै थियो । तर पछि त्यो पनि हराएपछि अब मेरा निम्ति मीतको सम्झना अतीत .समेत बनेन । एउटा मित्रता एउटा अव्यक्त आत्मीय सम्बन्ध कता बिलायो कता कुनै पदचिन्ह .समेत नराखेर मेरो मितेरी हरायो ।

तर, जीवन सपाट रहेनछ बक्र रहेछ । घुम्दै-फिर्दै आउँदोरहेछ मान्छे, अब कहिल्यै फर्कन्न नि भनेर मुन्टो फर्काएका बिन्दुहरूमा । जानेर होस् अथवा नजानेर हृदयले पचाइसकेका पुराना दिनहरू सम्झनामा मात्र होइन यथार्थमा पनि उगेल्दोरहेछ मनले । त्यस्तै भयो । सम्बन्धको गहिराइमा नपुग्दै कता-कता बिरानो प्रदेशतिर लागेको मेरो मितेरी सम्झना धेरै वर्षपछि टुप्लुक्क आइपुग्यो मेरै घरको छेउमा ।

त्यो सानो घरमा होइन (त्यो त भत्किसकेको थियो) नजिकैको एउटा घरको छिँडीको कोठामा । त्यो नआएको भए आमा अथवा बुबाका सम्झनाहरूमा मात्रै हुने थियो मेरो मितेरी सम्बन्ध । तर मेरो जीवनको दुःस्वप्नजस्तो बनेर त्यो कुनै दिन आयो । मैले नगरेको गल्तीको सजाय दियो र मेरो कोमलतामा अलिकति चिमोटियो ।

म बाँचेको समाज, यसले उचालेको सांस्कृतिक सत्ताको ध्वजा अनि यसको सञ्चालनका लागि कति हो कतिऔँ युग अगाडिका पुर्खाले बनाइदिएका घोषित अघोषित नियम-विनियम...यी सबैको ऐतिहासिक गल्तीको सजाय मभित्रको मान्छेले पायो र मलाई आफू बाँचेको जीवनको दुर्बलता पहिलो पटक आफैंले अनुभूत गर्ने मौका मिल्यो । ओहो म त मान्छे कम 'बिष्ट' बढी रहेछु । कस्तो अचम्म । थोरै किताबी ज्ञानको भरमा पृथक् जीवन बाँच्ने आदर्श मोह एकै घटनाले धुजाधुजा पारेर पातलो कागज च्यातेझैँ च्यातिदियो ।

त्यतिखेर म विद्यालयको पढाइ सकेर क्याम्पस जान थालिसकेको थिएँ । त्यही क्रममा एकदिन थाहा भयो मेरा मीतका सपरिवार फेरि फर्की आए । आमाका मुखबाट पुरानो स्मृतिलाई किञ्चित कोट्याइएपछि मन ढक्क फुल्यो । हिजोको त्यो सम्बन्ध आज लामो अन्तरालपछि एकैपटक ठूलो भएर पुनस्मृति गर्दा मनमा कताकता धक लागेजस्तो भयो । झन् मीतआमा मैंलाई खोज्दै घरमा आएपछि त कताकता लज्जाबोध पनि भयो ।

मीतआमाको मायालु स्वरमा आफैंप्रतिको जिज्ञासु रहर देखेपछि भावुक मनमा कस्तो-कस्तो आँधी चल्यो । मीतआमासँगको सामान्य बोलिचालीमै पुरानो आत्मीयता फेरि जागेर आयो । मनमा फुटेका काला गालामाथि राता धर्सा कोरिएका आँखा भएको त्यो मान्छेको बढी सम्झना आयो । मीतआमासँग सोध्न सकिन, कताकति लाज लागेजस्तो पनि भयो । तर जिज्ञासाहरू धेरै थिए मीतका बारेमा ।

त्यतिखेर मैले आफैंलाई सम्झिनँ, म बाँचेको समाज र यसको सांस्कृतिक सत्ताका चरित्रहरूलाई सम्झिन सकिनँ । बरु धेरै सम्भव-असम्भव भावुकताले नजाने के-के कुरा पो सम्झिरहेँ । तर मीतलाई भेट्न जान भने सकिन । किनभने मैले गरेजस्तै अनुभूति उनले गरेका नहुन पनि सक्छन् भन्नेचाहिँ मनमा थियो । फेरि पनि किशोर भावुकताको एउटा आवेगले मीतको घरछेउ पुर्‌याइदियो ।

मीत आमा बाहिर बसेर केही सिइरहनुभएको थियो । सामान्य भलाकुसारी गरेँ । मीतआमाले अनुहारभरि अघिपछिको जस्तै खुसीले उज्यालिइएको थियो । उहाँसित कुराकानी गर्दा गर्दै मैले बेलाबेलमा भित्रतिर चियाएर हेरि पनि रहेको थियो । मलाई कसैलाई हेर्न मन थियो, अनि गफिन मन थियो । म घरिघरि मीत बाको बारेमा कुरा गरिरहेको थिएँ । तर मीतको बारेमा सोध्न चाहिँ मलाई आइरहेको थिएन ।

अलिकति लज्जाजस्तो, अलिकति अन्योलताजस्तो असजिलोले क्याप्पै समातेको थियो । त्यसैले मैले उनलाई आँखाले देख्ने आशा मात्रै गरिबसेँ, तर मीतआमासित उनको बारेमा सोधिनँ । आखिर कुराकानीकै सन्दर्भमा मीतआमाले भित्री कोठातिर च्याउन खोज्दै हकार्नुभयो- 'ए कति भित्र बस्छस् । ह्याँ बाहिर आ त मीत आ'छन् ।'

मन ढक्क फुल्यो । एउटा आवेगको लहर मेरो हृदयकेन्द्रबाट हुन्हुनाउँदै अनुहारभरि पोतरियो । म अल्मलिएँ र हड्बडाएँ । कस्ता होलान् मेरा मीत ? तिन्ले मलाई सम्झेका त छन् के ? ती मसँग बोल्लान् ?

मनमा एकैपटक यस्ता जिज्ञासाका धेरैवटा फाँकीहरू छरिए । तर यिनका उत्तर मसँग थिएनन् । अब भने मैले त्यो भित्री कोठातिर हेर्न पनि सकिनँ । टाउको निहुर्‌याएर केही क्षण त्यो प्रिय आहटको प्रतीक्षा गरिबसेँ । तर अहँ, भित्रबाट कोही बाहिर आएको त के चल्मलाएको आभाससमेत आएन ।

मीतआमाले तीनचार पटक हकार्नुभयो । तर कोही निस्किएन ।

मैले मीतसँग कति चित्त दुखाइन् । किनभने मीतले मसँग भेट्ने उत्साह देखाउन नसक्नुको एउटा मर्मलाई मैले राम्ररी नै बुझेको थिएँ । म बाँचेको सामाजिक सांस्कृतिक जीवनको पुछारमा थिए ती, ती मलाई टुलुटुलु माथितिर हेरिरहेथे ।

अनि मतिर हेरेर उहाँले प्रतिक्रिया दिनुभयो- 'अलि कस्तो कस्तो छ के यो ।' उहाँले यसलाई सामान्य रूपमा लिनुभयो ।
म फिस्स हाँसेँ मात्र । तत्काललाई कुनै प्रतिक्रिया दिइनँ । एक्कासि मनमा नरमाइलो अनुभूति छायो । म नआएको भए पनि हुने यहाँ- थकथकी पनि लाग्यो ।

अनि भावुकताको एउटा लहर जसलाई हृदयभरि अटेसमटेस बोकेर लगेथेँ त्यसलाई मीतआमाकै चौकटमा छाडेर म फर्किएँ । मेरो मनको कुनै कुनामा बाँचेको एउटा कोमल भावुकताको अन्तिम पटाक्षेप थियो त्यो ।

हिजोसम्म भावुकता थियो । मनको कोमल पत्रमा एउटा अस्पष्ट र बांगोटिंगो रेखामा कुनै मानवाकृति कोरिएर त्यसको तल्तिर लेखिएको चहकिलो 'मीत' शब्द थियो । तर आज त्यो नजाने किन हो अथवा कसरी हो एकै झिमिकमा लगभग मेटिएजस्तै थियो । कस्तो अचम्म । अब म कसैको 'मीत' होइन, 'बिष्ट' बनिसकेको थिएँ । जातीय व्यवस्थाको कुचक्रमा परेर मेरो मितेरी हराइसकेको थियो ।

तर मैले मीतसँग कति चित्त दुखाइनँ । किनभने मीतले मसँग भेट्ने उत्साह देखाउन नसक्नुको एउटा मर्मलाई मैले राम्ररी नै बुझेको थिएँ । म बाँचेको सामाजिक सांस्कृतिक जीवनको पुछारमा थिए ती, ती मलाई टुलुटुलु माथितिर हेरिरहेथे । अनि त्यो खुड्किलाको सबैभन्दा माथिल्लो भागमा म थिएँ, तिनलाई हेरिबसेथेँ । बीचमा बाधक के थिए कुन्नि मेरो जात, मेरो उनको भन्दा थोरै सम्पन्न जीवन अथवा मेरो पढाइ........? न उनी खुड्किलो उक्लेर आउन सके, न म झरेर आउन अथवा हात दिएर तान्न नैँ सकेँ उनलाई ।

कठै, सभ्य समाजको आवरणमा जातीय व्यवस्थाको जाँतोमा पिसिएर कति मितेरीहरू छुटिएका होलान्, यो नारकीय सामाजिक सांस्कृतिक व्यवस्थामा बसेर सुस्केरा हाल्नुबाहेक मैले पनि अरू गर्नै सकेँ के र ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.