जुत्ता सिलाएरै जीवन 

जुत्ता सिलाएरै जीवन 

रुकुमः सदरमुकाम खलंगा बजार छेउको बराहटाकुरा अलि पल्तिर पिपल चौतारा छ । बजार पस्नेहरू पिपलनेटाको उकालो चढेपछि पसिना पुछ्दै यही चौतारामा सुस्ताउँछन् । चौतारीसँगै जोडिएको एउटा सानो अस्थायी छाप्रो छ । त्यही छाप्रोमा ४५ वर्षीय घमन्डबहादुर नेपालीका २६ वर्ष बिते । उनका २६ वर्ष च्यातिएका र चुडिएका जुत्ताचप्पल टालेर बिते ।

१९ वर्षको कलिलो उमेरमा घमन्डबहादुरका कोही साथी कालापार (भारत) गए त कोही बिहेबारीमा जुटे । बिहे त उनले पनि गरे तर अरु जस्तो परिवार पाल्न उनी कालापार गएनन् ।

त्यो बेला उमेर पुगेका जवान केटाहरू कालापार जाने र दुईचार रुपैयाँ कमाएर फर्कने चलन थियो । तर उनलाई एउटा पेशा गरेर बस्ने सुर चल्यो र उनले छाला जुत्ता मर्मत पसल थाले । फाटेका जुत्ता खुब टाले तर उनको जीवन कहिलै फाटेन । बरु तिनै फाटेका जुताले उनको जीवन सिलाइरहे ।

सुरुमा त बजार पनि त्यति बिस्तार भएको थिएन । जसोतसो दिन काट्न मात्रै हुन्थ्यो तर विस्तारै उनी आफ्नो सीपमा पारंगत हुँदै गए । उनलाई विश्वास थिएन की यसरी जुत्ता सिलाएरै जीवन चल्ला भनेर ।

उनी आफ्नो पेशाप्रति पूर्ण सन्तुष्ट छन् । एउटा मज्जाको कुरा त के भने घमन्डबहादुरले २६ वर्ष जुत्ता सिलाएर गुजारा मात्र चलाएनन् आफ्ना दुई छोरालाई जिल्लाकै अब्बल विद्यार्थी बनाए ।

पहिलो छोरा छविलाल २०६५ सालको एसएलसीमा जिल्ला प्रथम भए र उनी अहिले एमवीवीएस चौथो वर्षको अध्ययन गर्दैछन् । अर्का छोरा रोशन सिभिल इन्जिनियर पढ्दैछन् ।

‘पहिले–पहिले तल्लो जाती भनेर धेरैले हेप्थे,' उनले पुराना दिन सम्झे, ‘तर अहिले मेरो श्रम र कर्मको फल देखेर सबै प्रशंसा गर्छन् । दुःख गरेर सानैदेखि छोराहरूलाई राम्रोसँग पढाएकै कारण छोराहरूले छात्रवृत्तिमा नाम निकालेर भनेजस्तो पढ्न पाए ।' त्यो बेला अरूको लहैलहैमा लागेर कालापार गएको भए ‘कालिपारे' हुन्थे होला भन्ने उनलाई लागेको छ । अहिलेको जीवन उनले आफै पनि कल्पना गरेका छैनन् । आफ्नै कमाईबाट उनले अहिले सदरमुकाममा घर बनाएका छन् ।

‘छोराहरू आफ्नो खुट्टामा उभिने भैसकेँ । मैले मिहिेनत गर्न छोडिन । आफूले अंगालेको पेशा छोडिन', घमन्डबहादुरले गर्व गरे, ‘फाटेका जुत्ता टालेरै जीवन बित्यो । जुत्ताजस्तै जीवन फाट्न दिइएन । जता च्यातिन्छ, त्यतै टाल्दै अनि सिउँदै गइयो र अहिले शिर ठाडो गरेर बाँच्न सकिएको छ ।'

यसरी मिहिनेत गरेरै उदाहरणीय जीवन बिताएका अन्य पात्रहरु पनि छन् जो खुसी र सुखी छन् । गोविन्द नेपाली ६२ वर्ष पुगिसके तैपनि पावरवाला चस्मा लगाएर जुत्ता सिलाइरहेका छन् । सल्यानको शारदा नगरपालिका-८ रानीकोटमा जन्मेका यी बृद्धले पनि २० वर्षको उमेरमा फाटेको जुत्ता जोड्दै आफ्नो भविश्य उन्न थालेका हुन् ।

४२ वर्ष भयो गोविन्दले ग्राहकको चाहना अनुसार जुत्ता-चप्पल सिलाइरहेको । तीन दशक सल्यान सदरमुकाम खलंगामै जुत्ता सिलाएका नेपाली आफ्नो ससुराली गाउँ रुकुम सदरमुकाम आएको १२ वर्ष भयो । दुई छोरा र चार छोरीका बाबु आफ्नो पेशामा सन्तुष्ट छन् । उनले यही पेशाको कमाईबाट छोराछोरी पढाए र घर-परिवार धानेका छन् ।

जेठो छोराले पढ्न त पढे तर उनले बुवाकै सिको गर्दै मुसिकोटमै ठूलो छाला जुत्ता पसल थापेर बसेका छन् । कान्छो छोरा नेपाली सेनामा कार्यरत छन् । तीन छोरीहरू विहे गरेर सुखले बसेका छन् ।

जुत्ता सिलाएरै आएको आम्दानीबाट सानो घडेरी जोडेका गोविन्दलाई त्यसमा छोराहरूले घर ठड्याएको हेर्न मन छ । छोराछोरीले ‘उमेर बढ्यो हामी छौ काम नगर' भने पनि उनलाई शरिरले धानेसम्म यहि काम गर्न मन छ । ‘जिन्दगी नै यही पेशा गरेर बितेकाले होला काम गर्ने लत नै लागेको छ', उनले भने, ‘उमेरले ६ दशक नाघे पनि अहिलेसम्म स्वास्थ्य बिग्रेकै कारण थला परेको छैन ।

चस्माभित्रका आँखाले च्यातिएको र फाटेको ठाउँ देखे पुग्छ ।' धागो सियोमा छिराउन सक्यो भने सिलाउन गाह्रो नहुने उनले बताए । ‘अब त काम गर्न पाइएन भने पो कष्ट हुन्छ त । काम गर्न पाए आनन्द आउछ,' उनले भने, ‘गरिखान सक्दासम्म काम गर्नुपर्छ ।'

मुिसकोटकै चुडामणि सार्कीले १० वर्षको उमेरमा जुता सिलाउन थाले । बुवाको छेउमा बसेर ग्राहकका जुत्तामा पालिस गरिदिने, तुना हालिदिने कामबाट सुरु भएको सिकाइ अहिलेसम्म जीवन जिउने उपाय भएको छ ।

‘त्यो बेला म स्कूल जान्थें तर कतिबेला घर पुगौ र बाको छेउमा बसेर काम गरौं भन्ने रहर जाग्थ्यो । यसरकारण पढाईभन्दा काममा मन गयो', उनले भने, ‘सायद बाले पनि बुझे क्यारे । काम गर्न सिकाए । मेरो मन त्यो बेला औधि खुसी भयो जतिबेला आफ्नै हातले छालाको जुत्ता ग्राहकको खुट्टाको नापो अनुसार तयार पारें ।'

१६ बर्षको हुँदा छोराले आफूले गरेको काम सिकेर जुत्ता नै तयार पारेको देखेर उनका बाले कुममा धाप मारेको अझै पनि सम्झन्छन् उनी । ५४ वर्षका चुडामणि थाहा पाउने भएदेखि अहिलेसम्म यही पेशामा छन् । ‘४४ वर्ष बित्यो पुरानोलाई नयाँ बनाउन थालेको । अनि दैनिकजसो आउने फरक–फरक ग्राहकको मन जित्न थालेको,' उनले भने, ‘रुकुमभरि जुत्ता खुबै चलेको छ । आफ्नो सीप देखाएरै धेरैको मन जितेको छु ।'

सयौं ग्राहक अहिले पनि उनले तयार गरेका जुत्ताका पारखी छन् । धेरै त उनका नियमीत ग्राहक नै छन् जसको सेवामा उनी हरदम तयार हुन्छन् । ‘मेरा नियमित ग्राहकको सेवा गर्दै दिन जान्छ ।

नयाँ ग्राहक पनि आउनुहुन्छ तर त्यसपछि उहाँहरू पनि नियमीत ग्राहक बन्नहुन्छ,' गोविन्द भन्छन् ‘अब त ग्राहक नै परिवार जस्तो लाग्छ । एकदिन पसल बन्द गर्नपरे परिवारसँग छुटे जस्तो लाग्छ ।'

तीन सन्तानमध्ये जेठो छोरा नेपाल प्रहरीमा र कान्छो नेपाली सेनामा कार्यरत छन् भने एक छोरीको पनि बिहे भैसकेको छ । उनले थाहा पाउने भएदेखि अहिलेसम्म कुनै अभाव झेल्नु परेको छैन । मुसिकोटमै घर छ । ‘सबै त कसलाई पुगेको छ र ? भगुवान पनि अपूरो नै छन् भने हामी त मानव हौ,' उनले खुसी व्यक्त गरे, ‘खुसी हुनु नै सबै पुग्नु हो । मलाई आफ्नो पेशामा सन्तुष्टी छ ।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.