मूल्य वृद्धि ६ दशमलव ७ प्रतिशत
काठमाडौः तीन महिनाको अवधिमा तीन दशमलव सात प्रतिशतले मूल्य वृद्धिदर घटेको छ । गत वर्षको असार मसान्तसम्म दश दशमलव चार प्रतिशत रहेको मूल्य वृद्धि असोज महिनामा आइपुग्दा ६ दशमलव सात प्रतिशतमा खुम्चिएको राष्ट्र बैंकले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । गएको आर्थिक वर्षको अधिकांश महिना चर्को महंगी खेप्दै आएका आम उपभोक्तालाई ओरालो लागेको उपभोक्ता मूल्य वृद्धिले केही राहत दिएको छ ।
गत साउनमा आठ दशमलव ६ प्रतिशत रहेको मूल्य वृद्धि भदौमा शुन्य दशमलव ७ प्रतिशतले घटेर सात दशमलव नौ प्रतिशतमा सीमित रहेको थियो । असोजमा आइपुग्दा उक्त मूल्य वृद्धि ६ दशमलव सात प्रतिशतमा सीमित रहेको छ । गत वर्षको असोजमा यस्तो वृद्धिदर आठ दशमलव दुई प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य सबैभन्दा बढीले वृद्धि भएको छ । सो अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य वृद्धि १७ दशमलव आठ प्रतिशत भएको छ भने मदिराजन्य पेय पदार्थको मूल्य १३ दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।
फलफूल, दलहन तथा गेडागुडी, मदिराजन्य पेय पदार्थ, मसला, लत्ताकपडा, जुत्ता र विविध वस्तु तथा सेवाहरुको मूल्य वृद्धिदर उच्च रहेकाले समग्र उपभोक्ता मूल्यवृद्धि दर अपेक्षित रूपमा घट्न नसकेको हो । गएको वर्षको तुलनामा यस वर्षको यो अवधिमा खाद्यान्नको मूल्य वृद्धिदर घटेकाले समीक्षा अवधिमा मूल्य वृद्धिमा सुधार आएको हो ।
समीक्षा अवधिमा खाद्यान्नको मूल्य वृद्धि पाँच दशमलव ७ प्रतिशत रहेको छ । गएको वर्षको सो अवधिमा खाद्य पदार्थको मूल्य वृद्धि नौ दशमलव सात प्रतिशत रहेको थियो । समूह अन्तर्गतको दलहन तथा गेडागुडी, घ्यू तथा तेल, दुग्धजन्य पदार्थ तथा अण्डा, मासु तथा माछालगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकाले खाद्यान्नको मूल्य वृद्धि कम रहन गएको हो ।
गैर–खाद्य तथा सेवा समूहतर्फ पनि गएको आर्थिक वर्षको तुलनामा मूल्य वृद्धि केही बढेको छ । समीक्षा अवधिमा गैर–खाद्य वस्तुको मूल्य वृद्धि सात दशमलव ६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सो अवधिमा गैर–खाद्य वस्तुको मूल्य वृद्धि सात दशमलव एक प्रतिशत रहेको रहेको थियो । यस समूहअन्तर्गत लत्ताकपडा तथा जुत्ताको मूल्य ११ दशमलव दुई प्रतिशतले, शिक्षातर्फ नौ दशमलव ६ प्रतिशतले, घरभाडातर्फ नौ दशमलव चार प्रतिशतले मूल्य वृद्धि भएको छ ।
समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य सबैभन्दा बढी वृद्वि भएको छ ।
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा पहाडमा आठ दशमलव नौ प्रतिशत, हिमालमा छ दशमलव तीन प्रतिशत, तराईमा छ दशमलव दुई प्रतिशत र काठमाडौं उपत्यकामा पाँच दशमलव सात प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पहाडमा आठ दशमलव पाँच प्रतिशत, हिमालमा ६ दशमलव नौ प्रतिशत, तराईमा सात दशमलव पाँच प्रतिशत र काठमाडौं उपत्यकामा नौ दशमलव एक प्रतिशत मूल्य वृद्धि रहेको थियो
तलव परिसूचक १४ प्रतिशतले वृद्धि
समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकांक १४.४ प्रतिशतले वृद्धि भएको छ । गएको वर्षको सो अवधिमा यस्तो सूचकांक आठ दशमलव एक प्रतिशतले वृद्धि भएको थियो । सरकारले निजामती कर्मचारीको तलब वृद्धि गरेकाले ज्यालादर सूचकांकभन्दा तलब सूचकांकमा उच्च वृद्धि भएको हो ।
तलबअन्तर्गत निजामती सेवा, सैनिक तथा प्रहरी बल र सार्वजनिक संस्थान उप– समूहहरूको तलब सूचकांक क्रमशः २४.२ प्रतिशत, २३.६ प्रतिशत र २०.८ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, ज्यालादरअन्तर्गत निर्माण मजदुर, कृषि मजदुर र औद्योगिक मजदुरको ज्यालादर सूचकांक क्रमशः १५.७ प्रतिशत, १३.५ प्रतिशत र १२.३ प्रतिशतले वृद्धि भएको छ । तीन महिनामा करिब एक खर्ब ७२ अर्ब विप्रेषण आय भित्रियो ।
समीक्षा अवधिमा विप्रेषण आय तीन दशमलव दुई प्रतिशतले वृद्धि भई एक खर्ब ७१ अर्ब ८० करोड पुगेको छ । समीक्षा अवधिमा गएको वर्ष अघिल्लो वर्षको तुलानामा सोही अवधिमा विप्रेषण आप्रवाह २४ प्रतिशतले वृद्धि भएको थियो ।
विप्रेषण आयमा प्रभाव पार्ने वैदेशिक रोजगारमा जाने कामदार पछिल्ला महिनामा निरन्तर घट्दै गएपछि त्यसको असर विप्रेषण आयमा परेको हो । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या यस वर्षको तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा १६ दशमलव १ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १२ दशमलव ३ प्रतिशतले घटेको थियो ।