कोहेनको त्यो अन्तिम पत्र

कोहेनको त्यो अन्तिम पत्र

दुई साताअघि (नोभेम्बर ७) क्यानेडियन गायक लियोनार्ड कोहेन यस धर्तीबाट बिदा भए । ८२ वर्षमा बितेका कोहेन मृत्युका तीन महिना अघिसम्म आफ्नो एल्बमको प्रोमो गर्दै थिए- लस एन्जल्स महानगरीमा जहाँ उनले आफू अब धेरै नबाँच्ने घोषणा गरेका थिए ।
 
मजस्तै धेरैको 'फेबरेट' गायक लियोनार्ड कोहेन पनि बिते । उनी बितेको मैले एकाबिहानै सुन्नुपर्‌यो, केन्याको नैरोबीमा । त्यो खबर सुन्दा म उपनिवेशको चंगुलबाट अफ्रिकालाई स्वाधीनता दिलाउने हिरो, अफ्रिकी नेताहरूलाई साठीको दशकतिर आतिथ्य गरेको दावा गर्ने होटेल सारापोभा पान-अफ्रिकामा थिएँ । होटेलको कोठा नम्बर ६२४ मा जहाँ झिसमिसै ब्युँझिएर मोबाइल खोल्दा 'द गार्जियन'को एप्सले यो अपडेट छोड्या रैछ ।

त्यो ७ नोभेम्बर भो झुर नोभेम्बर । अंग्रेजले मान्लान सात अंकलाई 'लक्की नम्बर सेभेन' । झोकमा 'द ब्लडी सेभेन' भन्दै मैले ओछ्यान त्याग गरेँ ।

नाता न गोताका विदेशी बित्दा दिल दुखेका मेरा थोरै अवसर छन् । जस्तै पृथक् अनुहारकी नोबेल विजेता अमेरिकी अर्थशास्त्री एलिनोर ओस्ट्रम बित्दा । तिनले त बरू मलाई दिलोज्यानले कुनैबेला सघाएकी थिइन् । स्नातकोत्तरको थेसिस गर्दा इमेलबाट परिचय भएथ्यो । त्यतिखेर विश्वविद्यालयमा गोल्डमेडलका लागि लड्दै थिएँ । 'झन्डै आधा धोक्रो अनुसन्धानमा आधारित किताबहरू हुलाकबाट पठाएको छु, थेसिसका लागि अल द बेस्ट' भनेर खबर पाउँदा म अवाक् भएँ ।

त्यसपछि एलिनोरसँगको दोस्ती सधैं लहरायो । नर्वेमा बर्गेन विश्वविद्यालय पढ्न बस्दा म पढ्ने विभाग निक्कै प्रख्यात थियो । उनको आतेजाते हुने रहेछ । झनै हामी झ्याम्मियौं । तिनको प्राज्ञिक टावर जति अल्गो, सानालाई हेर्ने नजर त्योभन्दा अल्गो परेछ । यसले मलाई सर्लक्कै जित्यो । तीनको सूर्यास्त अनपेक्षित रूपमा जुन १२, २०१२ मा भो । यो खबर मैले कोलकातामा दुःखका साथ स्वीकारें ।

कोहेनसँग मेरो कुनै हैसियतको गोरुबेचे साइनो थिएन । तर, मेरो सानो घर उसको 'फ्यान क्लब' थियो । त्यस क्लवमा थियौं- स्वयं म, गितारको सौखिन छोरो सौरभ र दिल्ली विश्वविद्यालयकी अर्थशास्त्रकी तेज विद्यार्थी छोरी श्रद्धा । मेरी अर्धांगिनी सरिताबाहेक सप्पै ।

हामी तीनैजना कहिले जोन लेननको फ्यान, त कहिले 'प्यासेन्जर'को फ्यान बन्यौं । कहिले कासी लि मुसग्रेभ्सको फ्यान, त कहिले पल योंगको फ्यान भयौं, सँगसँगै । तर, कोहेनको फ्यान सधैं रह्यौँ । हाम्रो रुचिलाई उमेरले छेकेन । पुस्तान्तरको पर्खालले छेकेन । हालांकी उसको गीतसँगको मेरो संगत लामो हुँदै होइन ।

कोहेन चिनाउने कोलकाता

एकदिन भारतीय मूलकी फ्रेन्च उपन्यासकार तान्या मेन्दोजा कोलकाता आएको मौका थियो । करिबन दस÷पन्ध्र जनाको साहित्यिक रोगीहरूलाई निम्त्याइएको रहेछ । उनको पछिल्लो उपन्यास 'द बुक अफ जोसुवा'माथि चर्चा गर्न ।

कोलकाताको नामी होटेल ताज बंगालको धुरीमा भेला भएका हामी गफ्फिरहेका थियौं । अलि पर गमक्क उभिएको औपनिवेशिक अस्तित्व भिक्टोरिया प्यालेस, एसियाकै सुरुसुरुको रेसकोर्स दावा गर्ने मैदान र बाजी मार्न त्यहाँ दौडिरहेका घोडाहरूलाई बेवास्ता गर्दै । कोलकातामै जन्मिएकी मेन्दोजाको सुनको जिब्रो रहेछ, बोलीले मन्त्रमुग्ध पारिन् । बीचबीचमा लामो श्वास लिँदै लियोनार्ड कोहेनको गीत सुन्नुको आनन्द सुनाइन् । कहिल्यै नसुनेको कोहेनलाई कतिबेला सुन्नु ? दिनभर अधैर्य भएँ म ।

त्यसैदिन बेलुका म नछुनेजस्तो भएर पर बसेँ । टीभी र श्रीमतीबाट । मैले पनि कोहेनका एक भारी गीत बटुलेको थिएँ । हाल्लेलुजा, सुजाने, डान्स मी टु द एन्ड अफ लभ, सो लंग मेरियाने, यु वान्ट इट डार्कर, बर्ड अन द वायर, आइ एम योर मेन र त्यस्तै अरूअरू गीतहरू । हरेक गीतका हरफ खँदिला कविता थिए । कुनै टनेलझैं मेहनत गरेर बनाइएका । हरेक हरफहरू बाक्ला फ्रेस जुसजस्ता रसिला थिए ।

कतै सुफी अन्दाजका गीतझैं लाग्ने ! कतै मेडिटेरियन सागर किनारातिर गुञ्जिने स्थानीय गीतझैं लाग्ने ! कतै जाज संगीतझैं लाग्ने ! कतै पूर्वीय धुनझैं लाग्ने ! एकाउस्टिक गितारमा बजाउने रमाउने कोहेनको रुचि मजस्तालाई लठ्ठाउने रहेछ । तिघ्रे हुन्जेल गितार बजाउन उनलाई आउँदैनथियो । एकपल्ट एउटा फिरंगी स्पेनिसले सिकाइदिएपछि उनले गितार पूरै टिपे ।

बराला कोहेन

पचासको प्रारम्भमै केनेडाको म्याकगिल विश्वविद्यालय छिर्नु चानचुने कुरो थिएन । त्यसैगरी पचासको दशक बीचोबीच अमेरिकाकै गर्विलो बोस्टन विश्वविद्यालय पढ्न पुग्नु मामुली कुरो थिएन । यसैबीच उनले पढाइ हापे । 'मासुबिनाको चाहना, उत्कर्ष बिनाको प्रेम'जस्तो पढाइ भन्दै लत्याएर हिँडे ।

गोजीमा पैसा जब सुको परेन, लोकभाकाको गीत गाएर जीविका गर्न कोहेन सन् १९६७ मा केनेडाबाट न्युयोर्क छिरे । त्यही साल 'सुजाने'जस्तो एल्बम निकालेका उनलाई बजारले गन्दै गनेन । त्यो पनि निक्कै पछिसम्म । जबकि उनीभन्दा झन्डै सात वर्षले कान्छा बब डिलन त्यतिखेर नै खुरुखुरु नाम र दाम छाप्दै थिए । अरू त अरू धेरैपछिका छिमलका माइकल ज्याक्सन र मेडोनाहरूले संसार पिट्न थालिसकेका थिए ।

सन् १९८४ सम्म ओझेलमा परेका कोहेनलाई संगीत दुनियाँले बल्ल अलि भाउ दिन थाल्यो । यो देख्दा नेपालमा कुनै दह्रो गुटमा नछिर्दा वा आफूलाई जुरुक्क उचाल्ने मिडिया साथमा नहुँदा अलपत्र परेका गायक वा लेखकहरूको झझल्को आउँछ । यस्तै दुर्गति कोहेनको भएको थियो ।

कवि र उपन्यासकार बन्ने सपना गोड्दै पचासको दशक अन्तदेखि नै ग्रिसतिर बरालिएर हिँडे, कोहेन । उपन्यास, गीत र कविता ठेलीका ठेली लेखिभ्याएका थिए । किताब लेख्नु, छाप्नु र नचल्नुको लफडामा जिन्दगी नराम्ररी जिल्लिँदै थियो । त्यसो त यहुदी समुदायको खातापिता मध्यमस्तरीय परिवारमा जन्मिएका कोहेनलाई नपुग्दो केही थिएन । यसो त लेखनको भूत चढेका अधिकांशमा यो भूत टिकाउ हुँदैन । आफैं ओर्लन्छ । तर, कोहेनमाथि चढेको भूत कडा खाल्को परेछ ! त्यो केही गर्दा पनि ओर्लिएन । आखिरमा उनलाई गीत÷संगीतले नै ठूलो र लोकप्रिय संग्रहालय बनायो ।

कोहेनका 'म्युज'हरू

लेखनमा 'फ्लप' भएका बेला कोमल अंग मन झनै कोमल बन्छ । उनको हालत यस्तै थियो । केटी फेर्दै हिँड्दा अरू बिग्रिन्छन् । उनलाई चाहिँ यो कुलत लाभदायक रह्यो । जीवनको विभिन्न मोडमा जो-जो आए, सबैले उनलाई गीत÷कविताको रचनामा औधी सघाए । अर्थात तिनीहरू 'म्युज' वा प्रेरणा स्रोत बनेर यसरी ठडिए, उनले एकोहोरो लेखिरहन पाए ।

निकै युवा उमेरमा कोहेन आफ्नै थलो मन्ट्रियलकी सुजाने नाम गरेकी केटीबाट भुतुक्कै भएका थिए । उनीहरूबीच कुनै गहिरो पिरती थिएन तर गीतहरूमा सुजाने छताछुल्ल भएर पोखिई । जब यो गीत मान्छेले सुने, सुरुसुरुका समयमा स्टेजमा आउन नमान्ने डरछेरुवा उनलाई भीडले 'कोहेन कोहेन' भन्दै स्टेजमा उकास्न थाले । एक बाजी यस्तै क्षणमा लागूऔषधको सहयोग लिएर पनि स्टेजमा सुजानेका गीतहरू जमेर गाएका थिए ।

'सुजानेले तिम्लाई तल नदीछेउ उनको ठाउँतिर लैजान्छे
तिमी तिम्रै छेउबाट बहिरहेको डुंगा सुन्न सक्छौ
तिम्ले सिंगै रात उनको छेउ बिताउन सक्छौ
र थाहा पाउन सक्छौ कि उनी अर्ध सिल्ली छिन् त्यसैले त तिमी त्यहाँ पुग्न चाहान्छौ ।'
(सुजाने गीतबाट)

मार्च १९६० मा लन्डनको झरी छल्न ग्रिस पुगेका कोहेनको जीवनमा फेरि अर्को मोड आयो । मेडिटेरियन टापु हाइड्रा उपनगरीमा उनको भेट मेरियाने इलेन नाम गरेकी समवयी नर्वेजियन सुन्दरीसँग भयो । मेरियने खासमा कोहेनसँग त्यहीँ चिनाजानी भएका एक नर्वेजियन लेखककी श्रीमती थिई ।

खैरो कपाल गरेकी मेरियनेसँग उनको चार आँखा हुँदा भर्खरै लोग्ने अर्की केटीसँग सल्किएको सुनेर ऊ आगो भएकी थिई । काखे छोरो थियो उसको । एउटा सार्वजनिक थलोमा गीत गाएर बसेको कोहेनले देख्नासाथ मेरियनेलाई निकै आदरपूर्वक बोलाए । मेरियने भन्छिन्- कोहेनलाई देख्नासाथै उसको शरीरमा करेन्ट दौडिएथ्यो ।

उनीहरू साठीको पूरै दशक लिभिंग टुगेदरमा बसे । कोहेनका कैयन हिट र मूल्यवान् गीतहरू त्यही समयमा तयार भयो । उनीहरूले जीवनको त्यो चोक्टालाई ग्रिस, केनेडा, नर्वे र अन्य ठाउँमा घुमिघुमी बिताए । यद्यपि ग्रिसमा बिताएका थुप्रै वर्ष निकै प्रेमिल र उत्पादनमूलक रह्यो । भनिन्छ, मेरियने नभएको भए सायद कोहेनबाट ती गीत जन्मिने थिएनन् ।

एकाबिहानै मेरियने झ्यालनेर उभिएर बाहिर हेर्दै थिइन् । टांगिएको बिजुलीको तारमा चरा बसेको देख्दा मेरियनेले कोहेनलाई बोलाएर गीत लेख्न मीठो 'थिम' दिलाइन् । यसरी लेखिएको 'बर्ड अन द वायर (तारमा बसेको चरो)' बोलको गीतले निकै धमाका मच्चायो ।

'तारमा बसेको एउटा चरोजस्तो
आधारातको सामूहिक गीतमा एउटा जँड्याहाजस्तो
मैले मेरो हिसापले मुक्त हुने कोसिस गरेँ
बल्छीमा उनिएको गँड्यौलो जस्तो.........'
(तारमा बसेको चरो गीतबाट)

आखिर कोहेनले के गाए, के पाए ?
एकथरी मान्छे भन्छन्, कोहेनले खाली मान्छेको व्यथा गाए । भित्रभित्रै मान्छे रित्तिएको-खोक्रिएको गीत गाए । मान्छे थाकेको-गलेको कथा गाए । हालाँकि उनीसँग आफ्नै साह्रै बलिया तर्क छन् । मान्छे रोएपछि शरीरबाट ट्युमर झिकेजस्तो हलुका हुन्छ । खासमा उनी मान्छेको मुटुसम्म पुग्ने गायक थिए । मुटुमा गुम्सेको पीर उतार्ने जादुगर हुन् । मुटुको भल्भ रोकिएको चिरफार औषधि विज्ञानले गर्छ । तर, पनि औषधि विज्ञानले अझै सफलता पाउन बाँकी छ । उनले आफ्ना लाखौं-करोडौं श्रोताहरूको पीर झारे । यहाँनेर हाम्रा नारायणगोपाल उनको नजिक छन् क्यार !

यसो त राजनीतिक गीत कोहेनले मनग्गै गाए । यसै पनि सत्तरीको दशकदेखि राजनीतिक होली खेल्न पश्चिमा संगीत सिपालु र तन्नेरी भइसकेको थियो । आम मान्छेको निराशा र आक्रोश व्यक्त गर्न गीतसंगीत सजिलो वाहन बनिसकेको थियो ।
जोआन अफ आर्क (१९७१), डान्स मी टु द एन्ड अफ लभ (१९८४), इफ इट वी योर विल (१९८४), फर्स्ट वी टेक मेनहट्टन (१९८७), एभ्रिबडी नोज (१९८८), डेमोक्रेसी (१९९०), द फ्युचर (१९९०), अन दाट डे (२००४), अमेन (२०१२), अलमस्ट लाइक द ब्लुज (२०१४) र अ स्ट्रिट (२०१४) यसका बलिया उदाहरण हुन् । यी गीतहरूमार्फत उनले दुनियाँलाई मनग्गै सन्देश दिए ।

मेरियने एकाबिहानै झ्यालनेर उभिएकी थिइन् । बिजुलीको तारमा चरा बसेको देख्दा मेरियनेले कोहेनलाई बोलाएर गीत लेख्न मीठो 'थिम' दिलाइन् । यसरी लेखिएको 'बर्ड अन द वायर (तारमा बसेको चरो)' बोलको गीतले निकै धमाका मच्चायो ।

महिला स्वतन्त्र नहुन्जेल लोग्ने मान्छे पनि स्वतन्त्र हुन्न भने । नाजीले दमन गर्न चलाएको होलोकास्ट गलत थियो भने । आतंकवाद र अतिवादविरुद्ध गीत बुने । 'डेमोक्रेसी' बोलको गीतमा उनले बर्लिनको पर्खाल ढलेकोमा रमाइरहेका मान्छेहरूमाथि ठाडै शंका गरे । अमेरिकालाई संकेत गर्दै प्रजातन्त्र तिमीतिर आउँदैछ भन्ने म मान्दिनँ भन्ने तिखो अभिव्यक्ति पोखे । उनलाई टिप्पणीकार केविन गोजतोला एक 'दुःखी आदर्शवादी' मान्छन् ।

उनको सबैभन्दा ठूलो योगदान कवितालाई गीतमार्फत जनप्रिय बनाउनु नै हो । जसरी बब डिलनले यो मार्ग पक्रिए, कोहेनले श्रवण गर्न कवितालाई घरघरमा पुर्‌याए । केहीले त डिलनलाई वर्ष २०१६ का लागि नोबेल पुरस्कार दिएको घोषणा सुन्दा अब कोहेनको पालो भन्न पनि भ्याए ।

जे होस, ८२ वर्षमा बितेको कोहेनले उमेरको पूरापूर उपयोग गरे । मृत्युभन्दा तीन महिना अघिसम्म आफ्नो एल्बमको प्रोमो गर्दै थिए- लस एन्जल्स महानगरीमा । जहाँ उनले आफू अरू धेरै नबाँच्ने घोषणा गर्न छुटाएनन् ।

माउन्ट एभरेस्टलाई मेडल

यसै साल अमेरिकी गायक बब डिलनलाई साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा भयो, कवितालाई गीतमा उत्कृष्ट फ्युजन गरेबापत ।

त्यसपछि लगत्तै डिलन नोबेल पुरस्कार कमिटीको सम्पर्कमा नआएको विषय पुरस्कारभन्दा ठूलो समाचार बन्यो । जति कोसिस गर्दा पनि डिलाले कुनै प्रतिक्रिया नजनाएपछि नोबेल कमिटीको पसिना छुट्यो । त्यो पुरस्कारको इज्जत-प्रतिष्ठा जुवामा परेजस्तै भयो । कतिपयले डिलनको यो गुप्तवासलाई अहंकार भने । डिलनका पुराना साथी कोहेनले भनिदिए, डिलनलाई यो पुरस्कार दिनु 'माउन्ट एभरेस्टलाई सर्वोच्च चुचुरा भयौ' भनेर मेडल लगाई दिएजस्तै हो । बजारमा उनको यो टिप्पणीलाई अलग-अलग तरिकाले व्याख्या गरियो ।

कोहेनका दोस्ती

कोहेनका केही ख्यातिप्राप्त आइकनहरूसँगको मित्रता कतिपयका लागि अझै खुल्दुलीको विषय बनेको छ । खासगरी कत्तिले बिट्स कवि एलेन गिन्सबर्ग, ज्याक केरोअक, बब डिलन र केही अन्यसँगको उनको लसपस अझै खोतल्दै छन् ।

कोहेनको एल्बम 'डेथ अफ अ लेडिज मेन' सन् १९७७ मा निक्लियो । यसको रेकर्डिङमा गिन्सबर्ग र डिलनले साथ दिएका थिए । ती दुवैले त्यसबेला एउटा गीतमा पृष्ठस्वर पनि भरेका थिए । त्यसैगरी, डिलनको कैयन स्टेज शोमा कोहेन भेटिन्थे । गिन्सबर्गले कोहेनको प्रशंसामा एकफेर गरेको तुलना सुन्नलायक छ- 'डिलनले हरेकको दिमाग उडाउँछ, कोहेनको बाहेक ।'

कोहेन र डिलनबीचका संवाद बेलाबेलामा देख्नेहरू भन्छन् त्यो चुम्बकीय हुने गथ्र्यो । ग्रिसेली गायिका नाना मुस्कोरी उनीहरूलाई संवादरत हेर्न पाउनु अद्भुत चेस खेल हेर्नुजस्तै हुने गरेको बताउँछिन् ।

विवादको घेरामा

कोहेन विवादमुक्त थिए भनियो भने सायद उनलाई अन्याय हुनेछ । एकबाजी लडाइँको बेला इजरायलमा गरेको सांगीतिक सहभागिता निकै विवादित भयो । सन् १९७३ मा साइनाइमा इजरायलले हमला गरेको समय थियो । युद्धरत इजरायली सैनिकलाई संगीत सुनाउन मैदानमा उनी अघि सरे । सायद उनको यहुदी पहिचानले उनलाई उरालेर त्यहाँ पुर्‌याएको हुनुपर्छ । पछि सन् १९७५ मा र पछिल्लोपल्ट २००९ मा पनि उनले इजरायलमा संगीत प्रस्तुत गरे । त्यसबेला पनि तिनले आलोचना खेपे ।

निकैअघि उनको ग्रिस बसाइ-दौरान उनले 'फ्लावर फर हिटलर' लेखेका थिए । सन् १९६४ मा त्यो कवितासंग्रह बजारमा आउँदा विवादमा उनी लतारिए । त्यस्तै जुत्ताझैं केटी फेर्न माहिर कोहेन यसका लागि पनि आलोचित बने । ग्रिस बसाइमा नर्वेली लेखककी स्वास्नी मेरियनेलाई तिकडम लगाएर हत्याएको दोष पनि बोके ।

अन्तिम प्रेमपत्र

अर्को जन्ममा मान्छेको नवीकरण हुन्छ हुँदैन ? कसैलाई थाहा छैन । यद्यपि धेरै वर्षअघि झन्डै आठ वर्ष लामो लिभिंग टुगेदर 'ब्रेकअप' गरेका कोहेनले मेरियनेलाई चटक्क माया मार्न सकेनन् । केनेडा र नर्वेबीच करिब ६ हजार किलोमिटर टाढा रहँदा रँदै पनि ! उनीहरूलाई विशाल आन्द्र महासागरले वारिपारि राख्दा पनि !

ब्रेकअपपछि सामान्यतः पाँडे-गाली गर्ने चलन छ । यो विपरीत उनीहरूबीच भावनात्मक मायाको संक्रमण बढ्यो । सायद यही नै थियो ग्रिसेलीहरूले व्याख्या गर्न खोजेको 'प्लुटोनिक प्रेम' ! अर्थात्, शरीरको खातिर होइन, मानसिक रूपले समर्पित प्रेम !

धेरै-धेरै वर्षपछि तिनै मेरियने ल्युकोमियाको अन्तिम सास गिन्दै थिइन् । कसैले यो खबर कोहेनको कानमा पारिदिए । त्यसबेला उनले मेरियनेलाई भावपूर्ण अन्तिम पत्र लेखे । त्यो अन्तिम पत्र अहिले जताततै भाइरल भएको छ-

मेरियने

यसबेला हामी ज्यादै वृद्ध भएका छौं र हाम्रा शरीर अलगथलग भएका छन् । म ठान्दछु, म पनि निकै चाँडो तिमीलाई पछ्याउँदैछु । मलाई थाहा छ, म तिम्रो पछाडि यति नजिक छु कि तिमीले हात तन्काएमा मलाई लाग्छ तिमी मसम्म आइपुग्ने छौ । र, तिमीलाई थाहा छ कि मैले तिम्रो सौन्दर्य र विवेकका लागि सधैं तिम्लाई माया गरेँ....तर अहिले म तिम्लाई केवल शुभयात्रा भन्न चाहन्छु । गुडबाई मेरो पुरानो साथी ! मेरो अनन्त प्रेम ! उँधो बाटामा कतै भेटौला !

कोहेन

कोहेनको पत्र सुनेर मात्र मेरियनले गएको जुलाई २०१६ मा सदाका निमित्त आँखा चिम्लिन् । संयोगै भनौं, त्यसको तीनै महिनामा कोहेनको पनि चोला उठ्यो । सायद तल बाटोमा मेरियन कतै पर्खदै थिइन् ।

कोहेनलाई उनकै मर्जीअनुसार मन्ट्रियलनेर आफ्ना बुवाआमा हजुरबुवा हजुरआमाहरू छेउ दफनाइयो । अहिले चिरनिद्रामा लीन छन् उनी । उनको 'एन्थम' शीर्षकको अर्को गीतबाट तलको पंक्ति याद आउँछ-

'त्यहाँ प्वाल परेको छ, हरेक कुरामा प्वाल छ
यसरी नै प्वालबाट किरण छिर्ने गर्छ
यसरी नै प्वालबाट किरण छिर्ने गर्छ
यसरी नै प्वालबाट किरण छिर्ने गर्छ'

कविता र गीतको दुनियाँमा यत्तिखेर प्वाल हैन, एउटा ठूलो भ्वांग परेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.