‘डेब्यु' खेलमै चम्किए ग्रान्डहोम र राभल
क्राइस्टचर्चः न्युजिल्यान्ड र पाकिस्तानबीचको पहिलो टेस्ट क्रिकेटको दोस्रो दिन शुक्रबार दुवै टोलीका गरी १३ विकेट खसेको छ । पहिलो दिन बिहीबारको खेल वर्षाका कारण एक बल पनि नखेली रद्द भएको थियो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको भ्रमणकारी टोली पाकिस्तान पहिलो पालीमा केवल एक सय ३३ रनमा अलआउट भयो । जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली न्युजिल्यान्डले पनि दोस्रो दिनको खेल समाप्त हुँदासम्म एक सय चार रन जोड्दै तीन विकेट गुमाइसकेको छ ।
न्युजिल्यान्डका ओपनर ब्याट्सम्यान जित राभल अविजित ५५ रन बनाउँदै क्रिजमा छन् भने हेनरी निकोल्सले २९ रन बनाएर उनलाई साथ दिइरहेका छन् । केवल ४० रनको कुल स्कोरमा तीन महत्वपूर्ण विकेट खसेपछि केही सम्हालिएर खेलेका राभलले एक सय आठ बलको सामना गरी सात चौका प्रहार गरेका छन् । निकोल्सले पनि ५७ बलको सामना गरी चार चौका प्रहार गरेका छन् ।
घरेलु टोलीका अर्का ओपनर ब्याट्सम्यान टम लाथम एक रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किएका थिए । कप्तानसमेत रहेका केन विलियम्सन पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् ।
अनुभवी ब्याट्सम्यान रोस टेलर पनि व्यक्तिगत खातामा ११ रन जोड्दै पेभेलियन फर्किएका थिए । पाकिस्तानी बलर मोहम्मद आमिर, सोहेला खान र राहत अलीले एकएक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानलाई अत्यन्तै सस्तोमा समेट्ने क्रममा न्युजिल्यान्डका बलर कोलिन डे ग्रान्डहोम एक्लैले ६ विकेट लिएका थिए । उनले १५.५ ओभर बलिङ गर्दै पाँच मेडनको सहायताले केवल ४१ रन खर्चिए । न्युजिल्यान्डका दुई खेलाडी ग्रान्डहोम र राभलको यो ‘डेब्यु' टेस्ट हो । अर्का किविज बलर टिम साउथी र ट्रेन्ट बोल्टले पनि दुईदुई विकेट हात पारे ।
पाकिस्तानका कुनै पनि ब्याट्सम्यान लामो समयसम्म क्रिजमा टिक्न सकेनन् । पाकिस्तानका लागि कप्तान मिसबाह उल हकले सर्वाधिक ३१ रन बनाए । ओपनर ब्याट्सम्यान सामी अस्लमले १९ रन बटुले भने असाद सफिकले १६ रन थपे ।
अर्का ओपनर अजहर अली पनि १५ रन बनाउँदै पेभेलियन फर्किए । पाकिस्तानका अन्य ब्याट्सम्यानले दोहोरो संख्यामा रन बनाउन सकेनन् । पाकिस्तानले अतिरिक्त रूपमा २० रन पाएको थियो ।