देवता र मानवबीचको 'इगो'

देवता र मानवबीचको 'इगो'

शिल्पी थिएटर, बत्तीसपुतलीमा अभि सुवेदी लिखित नाटक 'चिरिएका साँझहरू' मञ्चन भइरहेको छ । भक्तपुरमा हरेक वर्ष वैशाख १ गते मनाइने बिस्केट जात्राको प्राचीन मिथकलाई आधार बनाएर लेखिएको सांस्कृतिक नाटक हो यो । निरंकुश र सर्वशक्तिमान ठान्नेहरूमाथि स्वतन्त्र सामान्य मानिसको विजयको कथा नाटकको मूल विषय हो ।

राजकुमारी मयजु (इनेसा भट्टराई) को हरेक दिन विवाह हुन्छ र बिहान उज्यालो हुदा उनी विधवा हुन्छिन् । राजा (दिवेन कार्की) ले आफ्नी छोरीलाई विधवा हुन नदिन हरेक दिन अर्को विवाह गराउँछन् । मयजुको शरीरबाट निस्कने नागहरू (सुलभ पाण्डे र सञ्जु पराजुली) ले प्रणयलीलाका बेला दुलाहालाई डसेर मार्छन् र उनी विधवा हुन्छिन् ।

राजकुमारीको दुःख र नवविवाहित युवकको मृत्युको कारण भद्रकाली (पवित्रा खड्का) र भैरप (सुरेशका जीसी) को अहम् हो । तर, एकदिन ठेगाना नखुलेका 'आउटसाइडर' व्यापरी युवक (सविन कट्टेल)ले तरबार र पुस्तकको सहयोगमा नागलाई मारी मयजुलाई विधवा हुन र सहरका अन्य युवकलाई मर्नबाट जोगाउँछन् ।

युवकको मयजुसँगको विवाह 'ड्रामाटिक आइरोनी' हो । दर्शक अनिश्चित र अनिर्णित धारमा आउने दुर्घटना वा विजयको अपेक्षा गरिरहेका हुन्छन् जुन कुरा त्यस व्यापारी युवकलाई पत्तो हुँदैन । उसले सारा लगानी गरेर किनेको पुस्तक र तरबार भद्रकालीको रिस समाप्त गरी सहरको समस्या अन्त्य गर्न र मयजुको दुःख अन्त्य गर्दै उनका पिताको चाहना पूरा गर्न प्रयोग भएका छन् ।

मिथक भए पनि आलंकारिक रूपमा हामीले बाँचिरहेको समय हो यो । आम समाजमा शक्तिशाली भन्नेहरूका अहम्का कारण नरनारीले अनायासै दुःख पाएको हामीले भोग्दै आएका छौं । हरेक सत्ता परिवर्तनका शृंखला चलिरहन्छन् तर पनि निहत्था जनताको पीडा र दुःख रोकिएको छैन । जनताले दुःख पाएको उनीहरूकै कारणले होइन बरु सत्ताधारीको जुँगाको लडाइँको कारण हो । सत्ताधारीहरू जनताको दुःखभन्दा आफ्नो स्वार्थलाई केन्द्रमा राख्छन् ।

नाटकले नरनारीको पीडालाई भजाएर कोकोहोलो मच्चाएको छैन, बरु आम नरनारीको शक्ति देखेर इश्वर पनि डराउँछन् भन्ने तर्क प्रस्तुत गर्दै वर्तमानमा शासक बन्न खोज्नेहरूलाई सचेत गराउँछ । शक्तिको घमण्ड गर्ने भद्रकाली र भैरवलाई साधारण मानिसले खोपिभित्र बन्द गरिदिन्छन् ।

भक्तपुरमा हरेक वर्ष सहरको पुनर्ताजगीका लागि मिथकका भिन्नभिन्न घटनाक्रमलाई बिस्केट जात्राको दिन पुनः प्रचार गरिन्छ । यो रीति अर्थात् 'रिचुअल' सारा ब्रम्हाण्डको सृष्टिसँग सम्बन्धित छ । नयाँ वर्षको अघिल्लो दिन बिस्केटजात्रामा ठड्याइने लिंगो अर्थात् 'विश्व वृक्ष' ब्रम्हाण्डको सिर्जना गर्न भएको आकाश र पृथ्वी मिलनको प्रतीक हो । लिंगो ठड्याइसकेपछि भक्तपुरका लौकिक अवयवहरूको पुनर्ताजकी हुने विश्वास गरिन्छ ।

मञ्चलाई डबलीको आकारमा सजाइएको छ । हाकुपटासिका लामा तान झुन्ड्याइएका छन् । दरबारको दृश्य, ढुंगेधारा आदि निर्माण गरिएको छ । ब्रम्हाण्डको सृष्टि अर्थात् प्रकृति र पुरुषको सम्मि श्रणको रूपक हो लिंगो । नाटकले मिथकीय र वर्तमान समयको विलय गराएझैं लाग्छ । तर, मञ्च भित्रैबाट भद्रकालीलाई गुबाजुले 'हामी तपार्इंका लागि जात्रा निकाल्छौं' भनेपछि दर्शक फेरि जिन्दगितिर फर्कन्छ ।

सुन्दर नाटकीय स्थान अर्थात् 'ड्रामाटिक स्पेस' सिर्जना गरेका छन् निर्देशकले । लोक-कथा, मिथकलाई विषय बनाई प्राचीन पूर्वीय थिएटरको गैरभौतिक प्रविधि यसमा अपनाइएको छ । ब्रेख्तियन शैलीको काव्यिक नाटक 'इपिक थिएटर'को भान पार्छ यसले । 'एलियनेसन इफेक्ट'का प्रशस्त उदाहरण छन् नाटकमा ।

सूत्रधार गुवाजुहरू (झकेन्द्र बीसी र संगीत पोख्रेल) ले दर्शकलाई स्वतन्त्र मानिसको शक्ति र सामथ्र्यको क्षमता बोध गराउँछन् । गुवाजुहरू देवतासँग पनि हार खाँदैनन् बरु उनीहरूलाई आफ्नो सर्तमा बाँध्छन् र नियमित आइलागेको बिपत्तिबाट समाजलाई सहज अवतरण गराउँछन् । 'पावर अव द कमन म्यान'को उदाहरण हो यो । शक्तिशाली भनाउँदालाई सामान्य मानिसले तह लगाउने दिन नजिकिएको उद्घोष गर्छ नाटकले । कुनै पनि कुराको सीमा हुन्छ, सहने र पर्खने पनि । सीमा र आधार भत्किसकेपछि बिस्केट जात्राको अघिल्लो दिन अस्तव्यस्तता आउँछ र त्यसको अन्त्य अवश्यंभावी छ भन्ने नाटकले देखाउँछ ।

भिजुवल दमदार छ नाटकमा । अधिकांश नयाँ कलाकारलाई मञ्चमा उतारेका निर्देशक घिमिरे युवराजले 'चिरिएका साँझहरू'जस्तो गहन नाटकलाई न्याय गरेका छन् । कलाकारहरूले 'डयलग डेलिभरि'मा मेहनत गर्नुपर्ने देखिन्छ । अन्य कलाकार- विवेक तिवारी, सन्दीप थपलिया, कुलशेखर लुइँटेलको अभिनय राम्रो छ ।

मयजु, भद्रकाली, सर्प र युवकको कथा कला र वस्तुगत संसारको समग्र दृष्टान्त 'एलेगोरी' हो । आर्ट र काल्पनिकता अनि काल्पनिकता र यथार्थको समागमको रूपमा युवकले आफ्नो सिरिखुरीसँग साटेको हो- तरबार र किताब । युवकले नागहरूलाई सिध्याएर मयजुको उद्दार गरेको, सारा सहरका युवालाई आईपर्ने दुर्घटनाबाट बचाएको घटना आर्ट र कल्पनाको सम्बन्ध 'अलायन्स'को रूपक हो ।

बारम्बार मञ्चन गरिने यस्ता प्राचीन 'रिचुअल्स र सेरेमोनिज' अर्थात् शास्त्रोक्त विधि र उत्सवले मानव र देवताबीचको सम्बन्धलाई नाटकका माध्यमले अनुकूल बनाइदिने मान्यता राख्छन् विद्वानहरू । प्राचीन इजिप्टमा रिचुअल्सले जिजस क्राइस्टसम्बन्धी प्यासन प्लेहरूमा अविदोस भन्ने ठाउँको हेब—सेब जात्रामा इसिज र ओसिरिसजस्तो उत्सवमा प्र श्रय पाउँथे । यसैगरी ग्रिक नाटकहरू पहिलोपटक वार्षिक धार्मिक उत्सवमा भगवान् डायनिससलाई समर्पित गरेर मञ्चन गरिएको थियो ।

सोफोक्लिजजस्ता प्राचीन नाटककारले 'इडिपस रेक्स' र 'एन्टिगोन' जस्ता नाटक मानव र भगवानका इच्छाबीचको अन्तरंगलाई प्रधान बनाएर लेखेका थिए । अक्सरगरी यी नाटक नरनारीको कारुणिक सन्दर्भ भन्दा इश्वरको इच्छालाई प्रमुख बनाएर लेखिन्थे । पूर्वीय परम्परामा पनि देवताहरूले दधिचि, दशरथजस्ता मानिससँग सहयोग मागेका थुप्रै प्रमाण छन् । ग्रिकका निम्ति मानिस र भगवानबीचको सामाजिक चेतना र सम्बन्धको व्याख्या गर्न थिएटर अत्यधिक महत्त्वपूर्ण थियो ।

नाटकले मानिस निरीह र विचरा छैन, ऊ त सर्वशक्तिमान भनिने दवीसँग पनि लड्न तयार छ भनेको छ । नाटकले 'सवाल्टर्न'का सम्बन्धमा आवाज उठाएको छ । मानिसले नै शक्तिको केन्द्र र समाज परिवर्तनका मियो हो भन्छ नाटक । समाजमा व्याप्त विभिन्न विचारबीचको द्वन्द्वलाई देवता र मानवबीचको 'इगो'ले देखाउँछ । द्वन्द्वले मानव र देवताबीचको सम्बन्धमा छाया पार्छ । र, अन्त्यमा विजय 'कमनम्यान'कै हुन्छ ।

सुवेदीले नाटकलाई मानवका आधुनिक जीवनका भोगाइमा आइपर्ने कठिनाइ अभिव्यक्त गर्ने माध्यम बनाएका छन् । नाटकमा प्रयोग गरिएको संगीतले त्यो रहस्यलाई अझ गाढा बनाउँछ । चर्या र अन्य क्लासिकल नाचमा बजाइने ध्वनि आफैंमा 'मिस्टिक' छ । मञ्चन शैलीले नेपाल मण्डलको स्थानीय लोककथा, प्राचीन संगीत र नृत्यबीचको पारस्परिक परिपूरकको सम्बन्ध स्थापित गरेको छ । 'रिचुअल प्रोसेस'ले समय र स्थानको अवधारणालाई भत्काएर कलाकार र दर्शकलाई एकैसाथ उतार्न सफल भएको छ ।

व्यक्तिगत र सामाजिक तहमा अनुभव गरिने 'लिमिनालिटी' अथवा सामाजिक संरचनाको दैनिक भोगाइमा आउने उल्झन 'एन्टिथेसिस' हो । समाजका विभिन्न तहमा आईपर्ने यस्ता घटनाक्रमले सामाजिक रीति अथवा संस्कार अघि र पछि दैनिक व्यवहारमा आइपर्ने समानता, पवित्रता, र दैविक शक्तिबीचको सम्बन्धलाई देखाउँछ । नागहरू नकारात्मक प्रवृत्तिका शक्तिका प्रतीक अथवा देवताद्वारा प्रक्षेपण गरिएका सुनियोजित अस्त्र हुन् भनी नाटकले देखाउँछ ।

महिलालाई सामाजिक परीक्षामा उभ्याइएको छ । परीक्षामा खरो उत्रिन्छिन् मयजु । महिलाले मात्र परीक्षाको कसीमा उभिनु परिवार र पूरै समाजलाई चुनौती हो । यो सर्वव्यापी महिला हिंसाविरोधी अभियानको एउटा उदाहरण हो । तर, लेखकले यसलाई सहज अवतरण गराएर साधारण महिलाको विजय 'आउटसाइडर'को माध्यमले सुनिश्चित गराएका छन् ।

के 'आउटसाइडर' नै समस्या समाधानका स्रोत हुन् ? नेपाल मण्डलको इतिहासमा शाहवंशले राज गरेयता यहाँको सम्पदा, कला, संस्कृति र सम्पन्नतामा के कस्ता परिवर्तन आए ? नेपाल मण्डललाई 'आउटसाइडर'ले सपारेका छन् कि बिगारेका छन् ? नाटकले प्रश्नहरू छोडेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.