परम्पराबाट पृथक

परम्पराबाट पृथक

पाँचौं औपन्यासिक किताबको रूपमा उपन्यासकार चन्द्रकान्त आचार्य 'हरित भूमि' लिएर बजारमा आएका छन् । यसअघि 'ज्वाला', 'मित्रता', 'दासता मुक्ति' र 'न्युयोर्क सुन्दरी'जस्ता उपन्यास, 'सम्झनाको क्षितिजबाट' यात्रा-संस्मरण, फुटकर लेख-निबन्ध आदि क्षेत्रमा आफूलाई सक्रिय गराउँदै आएका आचार्यको यो पछिल्लो उपन्यास एक किसिमको जवाफी साहित्य हो । किनभने यस किसिमले घोषित रूपले नै अफ्नो कृतिलाई अमुक कृतिको जवाफमा लेखिएको रचना भनेर घोषणा नै गरिएको प्रसंग नेपाली सिर्जनाजगत्मा उति साह्रो सुनिएको छैन ।

उपन्यासकार आचार्यको स्व-कथन छ, 'यस पंक्तिकारलाई अमर न्यौपानेसँग सहकार्य गरेर 'हरियो धरती' रचना गर्न मन लागेको छ (थियो) । ... हरियो धरती यसरी रचना गरौं कि नयाँ नेपाल बनाउन सक्ने सुतिरहेको शक्ति जुर्मुराएर उठोस् । ताराजस्ता अनेक पात्र नेपालभरि छन् तर तिनीजस्तै घर छाडेर हिँडेपछि आफूले भोग्न नपाएको जीवनप्रति कुण्ठित हुँदै भगवान्को भरोसामा रहने एकातिर र अर्कोतिर भोगविलासमा लम्पट भएर धनसम्पत्ति कमाउने पवित्राजस्ता पात्र होइनन् कि आफू आ श्रयविहीन भएर पनि अरूलाई आ श्रय दिन कसरी अघि बढ्ने भन्ने क्रान्तिकारी चरित्र निर्माण गर्नतिर लागौं ।... त्यस्तो सहकार्य हुन सकेन र 'हरियो धरती' को भावना समेटिएको 'हरित भूमि' प्रकाशित गरियो ।'

धूर्त सौतेनी आमाको अविश्वसनीय कुटिलताले गर्दा विवाहको पहिलो रात नै वैधव्यको कहालीलाग्दो जञ्जालमा धकेलिन पुगेकी भर्भराउँदी युवती मायालाई केन्द्रमा राखेर रचिएको उपन्यास हो, हरित भूमि । वैधव्यको जीवन बिताउँदै गर्दा पनि यसलाई केवल भावीको लेखा मान्दै पुर्पुरोमा हात राखेर पूर्वजन्मको कर्मलाई दोष दिँदै दिन बिताउने परम्परागत प्रचलनभन्दा धेरै पर पुगेर मायाले आफूलाई सक्रिय गराई कसरी ऊ सामाजिक-सांस्कृतिक-धार्मिक सेलिब्रेटी बन्न सफल हुन्छे भन्ने रोचक वर्णन यस उपन्यासमा पढ्न पाइन्छ । उपन्यासकी नायिक माया 'सेतो धरती' को पक्षधर होइन, ऊ 'हरियो धरती' की पक्षधर हो । हरियाली र जलवायु संरक्षणका साथै नयाँ नेपाल निर्माणका लागि सहयोगी हुने दिगो विकास उसका सपना र जपना हुन् ।

राजेन्द्र सुवेदी लिखित १८ पृष्ठ लामो भूमिका समेटिएको यस उपन्यासको कथानक सरल छ, उपन्यासकार चन्द्रकान्त आचार्यजस्तै । माया एक वर्षकी हुँदा उसका पिताले दोस्रो विवाह गरेपछि मायालाई त्यहीँ छाडेर उसकी आमा अर्कै मानिससँग विवाह गर्छिन् । सौतनी आमा र उनकी छोरीले मायालाई निकै हेलाँ गर्छन् । मायाको विवाहको प्रस्ताव आएपछि सौतेनी आमाले मायाका ग्रहदशा अनिष्ट छन् भन्ने अफवाह फिँजाएर प्रस्तावित केटा (सरोज) सित आफ्नै छोरीको विवाह गराउन खोज्छिन् । तर सरोजले मायासितै विवाह गर्ने हठ गरेपछि अनिष्ट ग्रहदशाको अफवाहलाई सत्य साबित गर्न षड्यन्त्रपूर्वक सरोजलाई विषयुक्त भोजन खुवाइन्छ ।

दुलही घर भित्र्याउने र दुलहालाई अस्पताल भर्ना गर्ने काम एकैसाथ हुन्छ र दुलहाको मृत्यु हुन्छ । सधैं तिरस्कार, उपेक्षा र हेलाहोँचो व्यहोर्दै आएकी मायालाई विवाह-मण्डपमा चञ्चले दुलहाले बोलेका माया-स्नेहका केही वाक्य र व्यवहार नै मायाका लागि बाँच्ने र जीवनलाई सार्थक बनाउने आधार बन्न पुगेका हुन्छन् । मायामा पढ्ने रहर हुन्छ तर पहिले सौतेनी आमा र पछि सासूले गर्दा यो इच्छा पूरा हुन पाइरहेको हुँदैन ।

यस्तोमा एउटा बटुवा सुमनले उसलाई पढ्न आग्रह र सहयोग गर्छ, एकजना छिमेकी वृद्धले पनि सघाउँछन् । कथानक विकास हुँदै जाँदा रमाको उद्धार र उसलाई पढाइतिर प्रेरित गर्ने, सुमनसित प्रेमसम्बन्धको विकास, माओवादी द्वन्द्वको भयानक प्रभावमा पर्नबाट बल्लतल्ल जोगिनु र अन्ततःघरपरिवारको सहमति र सबैको सहयोगमा सुमनसित पुनर्विवाह गर्दै हरित भूमि निर्माणको योजना पूरा गर्ने निश्चयसहित उपन्यासको समापन हुन्छ ।

देवघाटमा एउटा ठूलो धार्मिक सभालाई सम्बोधन गर्दै माया भन्छे, 'मैले इहलोकमा जे राम्रा कामहरू गरिरहन्छु त्यसले मेरा पतिको पारलौकिक कर्म राम्रो हुन्छ भन्ने मेरो मान्यता छ । त्यसैले विधवाहरूले देश र जनताका लागि राम्रो हुने काम अझ बढी गर्नुपर्दछ अर्थात् आफ्ना पतिले गर्नुपर्ने काम पनि हामीले गर्नुपर्दछ जस्तो लाग्दछ ।' (पृ.९७) उपन्यासकी नायिकामा रहेका यी विचार परम्पराभन्दा पृथक् र पूर्ण क्रान्तिकारी छन् ।

उपन्यासकारको आसय पनि यही हो- नयाँ नेपाल बनाउन परम्परागत सोच, मान्यता, चालचलन र क्रियाकलापमा अल्झेर हुँदैन, त्यसमा परिवर्तन समयको माग र आवश्यकता दुवै हो । रचनाकारहरूले यस्ता पात्र सिर्जना गर्नुपर्दछ जसले समाज बदल्ने प्रक्रियामा देश र देशवासीलाई 'स्टिमुलेट' गर्न सकून्, झकझक्याउन सकून् । यस लक्ष्यमा 'हरित भूमि'लाई सफल मान्न सकिन्छ ।

उपन्यासका पात्रहरूमा कतै कुनै वृथाभिमान छैन । लगभग सबै पात्र सहज, सरल, प्रतिभाशाली, परि श्रमी र देशको विकासशील परिवर्तनको सपना चरितार्थ गर्न अभिप्रेरित छन् । उनीहरूलाई सामूहिकतामा विश्वास छ । मुख्य पात्र नायिका भन्ज्याङडाँडाकी माया, उसका प्रेरणस्रोत दिवंगत पति आनन्दवनका सरोज, नायक सुमन, रमा (मानुषी) र अन्य पात्रहरू सबैसित केही न केही विशेषता छ जसलाई उपन्यासकारले कथानकभित्र ठाउँठाउँमा यथेष्ट उजागर गरेका छन् ।

लोग्नेले दोस्रो विवाह गरेर दुवैजना मिलेर पिट्ने-कुट्ने र हदैसम्मको ताडना दिन थालेपछि एक रात आत्महत्या गर्न तम्सेकी 'ख्याउटे दमिनी' रमा विधवा बाहुनी मायाको सहयोग र उत्प्रेरणाले कालान्तरमा प्रकाण्ड विकासे कार्यकर्ता मानुषी बनेर विकसित हुन्छे । त्यसैले पनि उपन्यास भन्छ, 'दलित भन्ने कुनै जात हुँदैन, परिस्थितिले माथिल्लो भनिने जातको मानिसलाई पनि दलित बनाएको हुन्छ र व्यवहारले तल्लो भनिने जातको मानिस पनि उत्पीडक ठहरिन सक्छ ।' (पृ.४९)

उपन्यासमा यस्ता प्रसंग बग्रेल्ती छन् । त्यसो त यो उपन्यास नै हो, त्यसकारण यसमा स्वाभाविक रूपमा केही नाटकीयता र 'पोएटिक जस्टिस' हुनु अनौठो संयोग हुन सक्दैन । उपन्यास 'हरित भूमि' पनि यस पक्षबाट मुक्त छैन । अमेरिकामा सर्वोच्च अंकसहित इन्भायोरनमेन्टल इन्जिनियरिङको अध्ययन सकेर कामका लागि उतै आकर्षक प्रस्ताव आउँदा पनि त्यसलाई लत्याएर सिंगो नेपाललाई हरित भूमि बनाउने दृढ इच्छासहित सुमनको नेपाल फिर्ती, विदेशीसित बिहे गरेर उतै गएकी मानुषी झन् परिपक्व बनेर हरित भूमि योजनालाई सफल तुल्याउन नेपाल आउने प्रसंग उल्लेखनीय छन् । यस अर्थमा, स्वदेशमा सम्भावना नै नखोजेर, नदेखेर, नपाएर खाडी र अन्यत्रतिर भौंतारिरहेका नेपालीहरूका लागि यो एक सन्देशमूलक, आशावादी एवं पढ्नयोग्य कृति हो ।

किताबः हरित भूमि
लेखकः चन्द्रकान्त आचार्य
प्रकाशकः साझा प्रकाशन
मूल्य रु.२५०/-


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.