यी पाइला चाल खोजिरहेछन्

यी पाइला चाल खोजिरहेछन्

त्यो सुरु र अन्तिम पत्र थियो तिमीले मेरो नाममा लेखेको ।

धेरै मन परेको थियो तिमीले दिएको नाम- क्रिस्टिना । थाहा छैन, कुन लोक कुन भूगोलकी क्रिस्टिना देख्यौ मेरो रूपरंगमा, टाँसिदियौ मेरो अस्तित्वको छातीमा । चिठीको सुरुमै रातो मसीले लेखेको त्यो नामले पूरै लाली दलिदियो मेरो अनुहारमा । मेरो नाममा कोरिएका तिम्रा अक्षर कतिपटक पढें, औंलामा गन्न सक्दिनँ । किताबको बीचमा बडो जतनले सजाएर राखेकी थिएँ त्यो चिठी ।

आह ! ती पनि दिन थिए । तिमीले बोलाउँथ्यौ त्यही नामले । ओठमा मसिनो मुस्कान बोकेर हिँडिदिन्थेँ म । मानौं भर्खर प्वाँख पलाएको पक्षी हुँ म । फुरफुर-फुरफुर फुर्किरहन्थेँ । अचानक आइपुगेका थियौ तिमी मेरो जीवनमा आनन्दको बहार भएर । कसरी सम्झुँ तिमीलाई ? के भनेर सम्झुँ ? बिर्सन मनलाग्छ घरीघरी फेरी बिर्सुं कसरी ? के मात्रै थिएनौ तिमी मेरो लागि ?

मज्जा थियौ - झमझम पानीमा भिज्दै नाच्नुको मज्जा ।
आनन्द थियौ - मध्यरातमा जुन हेर्दै कफी पिउनुको आनन्द ।
उमंग थियौ - चिसो लुगा लगाएर चौरमा पल्टी नीलो आकाश हेर्ने उमंग ।
उत्साह थियौ - साँझपख अँध्यारो कुनामा बसी प्रेमील गीत गुन्गुनाउने उत्साह ।
उद्वेग थियौ - डायरीका पानाहरूमा मसी बनी पोखिनुको उद्वेग ।
उत्कर्ष थियौ - भावनाका वेगहरूमा उत्ताल छाल बनी बहनुको उत्कर्ष ।

थाहा छैन कहाँबाट चोरी ल्याएका थियौ सारा रहरहरू, पोखिदिएका थियौ मेरै पोल्टोमा । तिमीसँग हुँदा म आफैंलाई बिर्सने भएको थिएँ । तिम्रो साथमा हुँदा म संसार बोकिहिँड्ने बनेको थिएँ । तर, आज त केवल एउटा उच्छवास छ मेरो भाग्यमा । र, बोझ बनिरहेछ आफ्नै जिन्दगी पनि ।

आज सारा सम्झना जीवित छन् तर वर्तमान आफैंसँग छैन । मन्दिर त्यही छ हामी बस्ने गरेको । घन्टी त्यही छ हामीले बजाउने गरेको । ती साँघुरा गल्लीहरू हाम्रो प्रेमिल जिन्दगीको एन्टिक याद बोकेर अझै हिँडिरहेछन् समयको बाटोमा । छैन त केवल मार्गनिश्चित वर्तमान । छैन त केवल गन्तव्य बोकेको भविष्य । छातीमा अधुरो प्रेमको सम्झना र काँधमा एउटा अपुरो सम्बन्धको शव बोकेर थाहा छैन म यी गल्लीहरूमा किन भड्किरहेछु ? थाहा छैन, यी भीडभाडमा कसलाई खोजिरहेछु ?

तिमी त थियौ मेरो मनमा सपनाको बिउ रोपिदिने । तिमी त थियौ मेरा हरेक पाइलामा साहसको हत्केला थामिदिने । तर, समय त्यो दोषी थियो सायद । तिमीलाई कसैगरी आफ्नो बनाउन सकिनँ । सायद जति बलियो थियो परम्पराको बार त्योभन्दा बलियो थियो मभित्रैको भय । बा-आमाको इज्जत, समाजको डर, परम्पराको माखेसाङ्लो थाहा छैन के-केले बाँधेका थिए त्यतिबेला मलाई । त्यसैले त आफैंलाई बाँध्न पुगेको थिएँ तथाकथित वैवाहिक सम्बन्धको डोरीमा । कोही अर्कैसँग, कोही पराइसँग ।

त्यो क्षणदेखि नै हो तिमीलाई भुल्ने प्रयास गरेको ।
त्यतिबेला नै हो तिमीले लेखेको त्यो चिठी किताबको माझबाट खोल्सामा फालेको । त्यतिबेला नै हो तिम्रा उपहार कलम भाँचेको ।

तर, कसैगरी सकिनँ तिमीलाई मनबाट झिकेर कुनै सडकछेउको प्रतीक्षालयमा अलपत्र छोड्न । मलाई कसैगरी पनि बुझ्न नसक्ने पति, मेरा चाहनाहरूलाई घरको सुसेधन्दामै मार्न चाहने परिवार र दिनरातको कचकचबीच तिम्रो सम्झनाको धुमिल तस्बिर झनै गाढा बन्दै गयो । म हरक्षण तिम्रो उपस्थितिको परिकल्पना गर्थें र तुलना गर्थेँ हरपलसँग ।

डायरीका पानामा साना अक्षरले कोरिएका मेरा कविता पढेर तिमी कति उल्लासित हुन्थ्यौ । तर, यो नयाँ घरमा पहिलोदिन नै मेरो कविताको डायरीलाई लिएर मजाक उडाइयो । किताबका पानामा डुबिबस्दा म, कपाल सुम्सुमाउँदै साथ दिन्थ्यौ तिमी । यो घरमा मेरा किताबहरू साटिए भान्साघरको चुलेसीमा । मबाट खोसिए मेरा सबै रहर । र, बाँकी रह्यो केवल आँसु मेरो पोल्टोमा ।

आँसुलाई हाँसोमा बदल्न बारम्बार कोसिस गरेँ तर हरेकपटक असफल भएँ । आँखाको डिलैडिल बनाउँदै÷भत्काउँदै, फेरि बनाउँदै÷फेरि भत्काउँदै अन्ततः एउटा बालुवाको घरलाई भत्काइ हिँड्न विवश भएँ । भनेका थियौ तिमीले, जीवनमा जस्तै दुःख परे पनि दुःखी नहुनु । मेरा आँखाका आँसुले पगाल्ला तिमीलाई भनी आँसुले लत्पतिएका आँखा हतपत पुछिहाल्थें । चस्मा र गाजल लगाउँथे । हरेक पल ओठमा जबर्जस्ती मुस्कान बोकी हिँड्थेँ । तर, सकिँदो रैनछ आफैंसँग आफैलाई ढाँट्न ।

जिन्दगीको यो चोकमा फेरि आइपुगेको छु रित्तो बनेर, पूर्णतया रित्तो । केवल सम्झनाको झोला बोकेर । सारा रहर र उमंगहरू निर्वासनमा गइरहेका छन् । समयको यो पिँढीमा टुक्रुक्क बसेर चुपचाप हेरिरहेछु तिमीलाई ।

तर किन मौन छौ तिमी ? किन पिउँछौं चुरोट ? किन रक्सीले मातिइहिँड्छौ हररात प्रेमका पुराना गीत गाउँदै ? के तिमी पनि समयको त्यही चोकमा छौ ?

उफ् ! कति लामो यो चौकठ हामीबीचको ? कति गहिरो नदी हामीबीच बहेको समयको ?
तिमी रित्तो, म रित्तो ।
मेरो मनमा तिमी, तिम्रो गीतमा म ।
तर किन बन्दी हाम्रा पाइला ?

यो वर्तमान सायद यी स्थिर पाइलामा गति खोजिरहेछ ।
अहिले त छ केवल स्मृतिको भारी र तिमीले दिएको नाम - क्रिस्टिना ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.