अध्यक्ष लामा र महासचिव महरको टक्करले अनेरास्ववियुको विवाद चर्को बन्दै
काठमाडौँः एमाले निकट अनेरास्ववियुको कार्य विभाजनसम्बन्धी विवाद अझै मिल्न सकेको छैन ।
पार्टीले अनेरास्ववियुको कार्य विभाजनसम्बन्धी विवाद मिलाउने जिम्मा विद्यार्थी इन्चार्ज तथा केन्द्रीय सदस्य रवीन्द्र अधिकारीलाई दिए पनि विवाद अझै नमिलेको अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले जानकारी दिए ।
विवाद मिलाउन पटक–पटक बैठक बसे पनि मिल्न नसकेको उनले बताए । विवादका कारण महाधिवेशन भएको आठ महिना भएपनि अखिलका सचिवालय र केन्द्रीय सदस्यको कार्यविभाजन अझै हुन सकेको छैन ।
अनेरास्ववियुको विधानअनुसार १५ विभाग हुने व्यवस्था भए पनि अध्यक्ष नवीना लामाले २२ विभाग गठन गरेपछि विवाद भएको थियो ।
अध्यक्ष लामाले विवाद मिलिसकेको भन्दै महासचिव ऐन महर बाहिर रहेकाले पूर्णता दिन नसकेको बताइन । ‘बाइसवटा विभागबाट विधानअनुसार १५ विभागमा झारेर विवाद मिलाइएको छ’, उनले भनिन, ‘अब चाँडै पदाधिकारी बैठकबाट कार्य विभाजनको विवाद मिलाउँछौँ ।’
कार्य विभाजनसम्बन्धी अध्यक्ष नवीना लामा र महासचिव ऐन महरबीच विवाद हुँदा अझै समाधान हुन नसकेको हो । महरले एकपक्षीय रुपमा अध्यक्ष लामाले कार्य विभाजन गरेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।
अध्यक्ष लामाले सचिवालय सदस्य र केन्द्रीय सदस्यको कार्य विभाजन भएपछि पदाधिकारी र प्रदेशको विभाजन गरिने बताएकी छिन् । रासस