बार्सिलोनाका लागि प्रायोजक जुटाउँदै पिके र साकिरा
म्याड्रिड: फुटबलर जेरार्ड पिके र उनकी जीवनसाथी साकिराले बार्सिलोनाका लागि अहिलेसम्मकै ठूलो प्रायोजक जुटाएका छन्। बार्सिलोनाले पिके र साकिराले अहिलेसम्मकै ठूलो प्रायोजक जुटाएको जनाउँदै उनीहरूलाई धन्यवादसमेत दिएको छ।
स्पेनी राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य पिके बार्सिलोनाका डिफेन्डर हुन् । नयाँ प्रायोजक भित्रिएसँगै बार्सिलोनाले आफ्ना महत्वपूर्ण स्ट्राइकर लियोनल मेसीलाई क्लबमै राख्न सक्षम हुनेसमेत बताएको छ। बार्सिलोनाका उपाध्यक्ष मानेर आरोयोले भनेका छन्, ‘पिके र उनका पार्टनर साकिराले जापानी कम्पनी राकुटेनका अध्यक्ष हिरोसी मिकितानीलाई चिनेका थिए। उनीहरूले सन् २०१५ मा सान फ्रान्सिस्कोमा सँगै डिनरसमेत गरेका थिए। उनीहरूकै माध्यमबाट क्लबले अहिलेसम्मकै सर्वाधिक ठूलो राशिको प्रायोजक भित्र्याउन सफल भएको छ । त्यसमा क्लब पिके र साकिरलाई धन्यवाद दिन चाहन्छ।’
जापानकै सर्वाधिक ठूलो अनलाइन सपिङ सेन्टरका रूपमा चिनिएको राकुटेनसँग बार्सिलोनाले बुधबार नै सम्झौता गरेको छ । सो अवसरमा पिके र साकिरा पनि उपस्थित थिए । क्लबले राकुटेनसँग आगामी चार वर्षका लागि सम्झौता गरेको हो । सन् २०१७ बाट सुरु हुने उक्त प्रायोजनमार्फत बार्सिलोनाले करिब २० करोड ९० लाख पाउन्ड कमाउने छ ।
राकुटेनले प्रतिसिजन बार्सिलोनालाई चार करोड ७० लाख पाउन्ड रकम दिनेछ । साथै राकुटेनले बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिग जितेको अवस्थामा ४३ लाख पाउन्ड र घरेलु स्पेनिस लिग जितेको अवस्थामा थप १७ लाख पाउन्ड बोनससमेत दिने सहमति गरेको छ । सम्झौतामा हस्ताक्षरपछि बार्सिलोनाका उपाध्यक्ष आरोयोले मेसीलाई बार्सिलोनामै राख्नका लागि सबै प्रयास गरिने बताए । ‘हामी मेसीलाई बार्सिलोनामै राख्ने छौं । त्यसका लागि सबै प्रयास अपनाउने छौं’, आरोयोले भने ।