सम्बन्ध बढाउन चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति ओबामा सहमत
लिमा (पेरु): चिनियाँ राष्ट्रपति सी जिन पिङ र अमेरिकी समकक्षी बाराक ओबामाले द्विपक्षीय सम्बन्धलाई चिरस्थायी पार्न दुवैले प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यी दुई सर्वोच्च नेताबीच शनिबार पेरुको राजधानी लिमामा सौहार्दपूर्ण भेटवार्ता भएको थियो ।
एसिया तथा प्रशान्त महासागरीय राष्ट्रबीच आर्थिक सहयोग (एपेक) सम्मेलन सन् २०१६ मा भाग लिन गएका राष्ट्रपतिद्वयले सम्मेलनको शून्य समय वार्ता (साइड लाइन टक्स) मा छलफल गर्दै संयुक्त प्रयासले द्विपक्षीय सम्बन्ध विस्तारमा थप प्रगति हासिल गर्ने पनि बताएका छन् ।
चिनियाँ राष्ट्रपति सीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग केही दिनअघि मात्र टेलिफोन वार्ता भएको पनि समकक्षी ओबामासँग चर्चा गरे । सीले ओबामासँग जस्तै नवनिर्वाचित राष्ट्रपति ट्रम्पसँग दुई देशको सरोकार रहेका हरेक क्षेत्रमा घनिष्ठ सहकार्य गर्न इच्छुक रहेको समेत बताएका छन् ।
विगत केही वर्षदेखि चीनसँग नजिकिँदै क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा सफल द्विपक्षीय सहकार्य गरेको र यसमा राष्ट्रपति सीले गरेको हार्दिक सहयोग, मित्रता र आपसी विश्वासको राष्ट्रपति ओबामाले पनि स्मरण गरे ।
भेटमा ओबामाले दक्षिण चीन सागरमा देखापरेको विवाद सम्बद्ध सबै पक्षसँग समन्वय गरेर शान्तिपूर्ण तरिकाले मिलाउनुपर्ने सुझाव दिएका थिए । उनले चीनसँग आर्थिक सुधारका कार्यक्रम पनि अघि बढाउन आग्रह गरे । यसका साथै ओबामाले बजारमा आधारित मुद्रा दर लागू गर्न पनि चीनसँग अनुरोध गरेका थिए ।
चीनले आफ्नो मुद्रा प्रचलित दरभन्दा कम बनाएर विश्व बजार प्रभावित बनाएको पश्चिमा मुलुकको आरोप छ । राष्ट्रपतिका सैसियतमा बाराक ओबामा र सीबीच यो अन्तिम भेट हो ।
दोभाषेमार्फत सीले भने, 'हामी अमेरिका र चीनको महत्वपूर्ण सम्बन्ध चाहन्छौं । दुवै देश मिलेर सुदृढ हुनु आवश्यक भएकाले असहमतिलाई सुल्झाउनु पर्छ । आगामी दिनमा दुई देशबीचको सम्बन्धमा शान्तिपूर्ण परिवर्तन आउनेछ र अझै प्रगाढ हुनेछ ।'
नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा कयौंपटक चीनविरोधी विचार प्रकट गरेका छन् । चीनले मुद्रामा धोका दिने गरेको बताएका थिए । चिनियाँहरूले अमेरिकी नागरिकको रोजगार खोसिदिएको जस्ता उत्तेजक विचार उनले सार्वजनिक गरेका थिए ।
ओबामा र सी दुवैले जलवायु परिवर्तनसँग लड्न पेरिस सम्झौता लागू गर्नुपर्नेमा जोड दिए । दुवै देश मिलेर काम गरेमा जलवायु परिवर्तनमा सफलता मिल्ने उनी ओबामाले स्पष्ट पारे ।