हस्तकला व्यापार मेलाको तयारी अन्तिम चरणमा
काठमाडौं ः नेपाल हस्तकला महासंघको आयोजनामा हुने १४ औं हस्तकला व्यापार मेला तथा १२औं हस्तकला प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । उद्यमीबाट उत्पादित ब्रान्डको बजार विकास तथा निर्यात प्रवद्र्धनमासमेत सहयोग पुर्याउने उद्देश्यका साथ आयोजना हुँदै आएको हस्तकला व्यापार मेला यस वर्ष मंसिर १० देखि १४ गतेसम्म प्रदर्शनी हल भृकुटी मन्डपमा आयोजना हुँदैछ ।
नेपाल सरकार वाणिज्य मन्त्रलायका सहसचिव तोयानारायण ज्ञवालीको प्रमुख आतिथ्यतामा आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको थियो । कार्यक्रममा उनले यस्ता मेलाले क्रेता र बिक्रेताबीचको सम्बन्धलाई प्रगाढ पार्नुका साथै व्यापार विस्तारमा पनि सघाउ पुर्याउने बताएका छन् ।
कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक इश्वरीप्रसाद घिमिरेले हस्तकला व्यापार मेलामा पिछडिएका तथा देशका कुना काप्चामा लुकेर रहेका उत्पादनलाई उजागर गर्नुपर्ने बताएका छन् ।
मेलामा ७ वटा प्याभिलियनसहित एक सय ७६ स्टल रहने छन् । हालसम्म ७ वटा प्याभिलियन र सम्पूर्ण स्टलहरु बिक्री भइसकेको आयोजकले जनाएको छ । मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्टका सामान ऊनी तथा सुती एवं ढाकाका सामान, पस्मिना, हाते कागज, छालाजन्य, प्राकृतिक रेसा र वाँसका सामानहरूका साथै जडिबुटी, अर्थोडक्स चिया आदि प्रदर्शनी तथा बिक्रीका लागि राखिने छन् ।