झापालाई हराउँदै एपीएफ सेमिफाइनलमा

झापालाई हराउँदै एपीएफ सेमिफाइनलमा

सुरुंगा झापाः झापाको सुरुंगामा जथारी सहारा सुरुंगा गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सफलता हात पारेको छ । एपीएफ क्लबले रमपम झापा—११ लाई टाइब्रेकरमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्‍यो । खेलमा एपीएफ क्लब टाइब्रेकरमा ५-४ गोलले विजयी भयो ।

अधिकांश समय झापाले बल आफ्नो नियन्त्रणमा राखे पनि निर्धारित समयभित्र गोल गर्न नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । झापाले गोल गर्ने धेरै अवसर सिर्जना गरे पनि स्ट्राइकर कर्ण लिम्बू र विशाल राईबीच तालमेल नमिल्दा फिनिसिङ पक्ष भने कमजोर देखिएको थियो ।

एपीएफका राजेन्द्र रावलले पहिलो हाफको २१ औं मिनेटमा गरेको सशक्त प्रहारलाई झापाका गोलरक्षक दिनेश थापामगरले उत्कृष्ट बचाउ गरेका थिए । दोस्रो हाफमा झापा केही सम्हालिएको थियो ।

दोस्रो हाफको छैटौं मिनेटमा झापाका परिवर्तित खेलाडी पूजन उपरकोटीले गरेको सशक्त प्रहार गोलपोस्टभन्दा केही टाढाबाट बाहिर हुइँकिएको थियो । लगत्तै कर्ण लिम्बूले दिएको पासमा अर्का स्ट्राइकर योगेश गुरुङले गरेको कडा प्रहारलाई एपीएफका गोलरक्षक अमृत चौधरीले बचाउ गरेका थिए ।

टाइब्रेकरमा राष्ट्रिय टोलीका सदस्यसमेत रहेका डिफेन्डर देवेन्द्र तामाङको प्रहार बाहिरिएपछि झापा ५-४ ले पराजित भएको थियो । एपीएफका तर्फबाट रञ्जन विष्ट, नवीन लामा, आदित्य चौधरी, मिलन राई र पाल्सङ लामाको प्रहार गोलमा परिणत भएको थियो । झापाका लागि भने योगेश गुरुङ, रवि थापामगर, दिलेन लोक्ताम र रञ्जित श्रेष्ठले मात्र गोल गरेका थिए ।

हजारौं घरेलु दर्शकको समर्थन पाएको झापाले गोल गर्न नसक्दा समर्थक निरास भएका थिए । उपाधिको दाबेदार मानिएको झापा पहिलो चरणबाटै बाहिरिएपछि बाँकी खेलमा दर्शकको उपस्थिति कम हुने आयोजकको ठम्याइँ छ । उक्त खेलमा एपीएफ क्लबका रञ्जन विष्ट म्यान अफ दी म्याच घोषित भए ।

उनललाई मेची मोबाइलको तर्फबाट एउटा एन्ड्रोइड फोन पुरस्कार प्रदान गरियो । मंगलबारको खेल मनाङ मस्र्याङ्दी क्लब र संकटा क्लब काठमाडौंबीच हुने जानकारी आयोजक कमिटीका सल्लाहकार कुमारमणि पोखरेलले दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.