'राष्ट्रले खेलाडीलाई बुझ्न सकेन'
काठमाडौः पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रलाई चिनाउने खेलाडीलाई राजनीतिक दलले चिन्न नसकेको धारणा व्यक्त गरेका छन् ।
मदन भण्डारी स्पोर्टस एकेडेमीले सोमबार राजधानीमा आयोजना गरेको पूर्वफुटबल खेलाडीहरुको भेलालाई सम्बोधन गर्दै ओलीले आफू फुटबल खेलाडी बन्न नसके पनि आफ्नो सबैभन्दा मनपर्ने खेल फुटबल नै भएको बताए ।
‘फुटबलमा पनि घेरा तोडेर गोल गरिन्छ, राजनीतिमा पनि घेरा तोडेरै गोल गर्नुपर्छ । दुबै राष्ट्र र जनताको खुसी र समृद्धिका लागि खेलिन्छ तर, राजनीति केही गलत खेलाडीका कारण नकारात्मक बन्दै गएको छ’, पूर्वप्रधानमन्त्री ओलीले भने ।
कार्यक्रममा पूर्वफुटबल खेलाडी कृष्ण थापा, राजेश मानन्धर, उपेन्द्रमान सिंह, बालगोपाल महर्जन, हरि खड्का, निराजन रायमाझी, राकेश श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो ।
एकेडेमीका अध्यक्ष एवं सांसद विनोद श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा राखेपका पूर्वउपाध्यक्ष पिताम्वर तिमल्सिनाको पनि उपस्थिति थियो ।
पूर्वखेलाडीहरुको भेलाले एकेडेमीको केन्द्रीय फुटबल विभाग गठन गरेको छ । विजय श्रेष्ठको संयोजकत्वमा गठित उक्त विभागमा भरतबहादुर थापा, राकेश श्रेष्ठ, निराजन रायमाझी, शुभ शर्मा, केशरमान ब्यञ्जनकार, विकास तामाङ, नन्द काउछा, बालगेपाल थापा ्र सागर भट्ट सदस्य रहेका छन् ।