पाँच सय हेक्टर माछापोखरी थपिँदै
बुटवलः माछाको उत्पादन बढाउन रूपन्देहीमा चालू आर्थिक वर्षमा पाँच सय हेक्टर जमिनमा माछापोखरी निर्माण गरिने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाअन्तर्गत प्रदेश नम्बर ५ मा रूपन्देही जिल्लालाई माछा उत्पादनका लागि छनोट गरिएको छ । यो आयोजनाअन्तर्गत रूपन्देहीमा व्यावसायिक मत्स्य उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम लागू भएको हो ।
कार्यक्रम अधिकृत रमेश जैसवालका अनुसार दयानगर गाविसलाई केन्द्र बनाएर ८ गाविसमा माछापोखरी निर्माण गरिनेछ । मानमटेरिया, पश्चिम अमुवा, हर्नैया, सूर्यपुरा, धमौली, मैनहिया र कम्हरिया गाविसमा माछापोखरी निर्माण हुनेछ । जोन विकास कार्यक्रमका लागि सरकारले साढे १७ करोड रकम विनियोजन गरेको छ । कार्यक्रम लागू भए पनि कार्यालय भने अझै स्थापना भएको छैन ।
रूपन्देहीमा अहिले एक हजार दुई हेक्टर क्षेत्रफलका पोखरीमा माछा उत्पादन भइरहेको छ । जोन कार्यक्रम लागू भएपछि रूपन्देहीको माछा उत्पादनमा ५० प्रतिशत वृद्धि हुने अपेक्षा गरिएको कार्यक्रम अधिकृत जेैसवालले बताए । रूपन्देहीमा गएको आर्थिक वर्ष चार हजार पाँच सय मेक्ट्रिक टन माछा उत्पादन भएको थियो ।
अघिल्लो वर्षभन्दा गएको वर्ष तीन सय मेक्ट्रिक टन माछा उत्पादन बढेको थियो । जोन विकास कार्यक्रमअन्तर्गत पहिलो वर्ष पोखरी निर्माण गरिनेछ भने क्रमशः मत्स्य बजार निर्माण, भुरा उत्पादन, नर्सरी व्यवस्थापनका काम हुनेछन् ।
रूपन्देहीका २० गाविसलाई माछाको पकेट क्षेत्रमा राखिएको छ । जिल्ला कृषि विकास कार्यालय रूपन्देहीका प्रमुख भोजराज सापकोटाका अनुसार रूपन्देहीका आठ सय ७८ माछापोखरीमा माछा पालन गरिएको छ ।
व्यावसायिक माछा उत्पादन हुन थालेपछि भुराको उत्पादनसमेत रूपन्देहीमै सुरु गरिएको छ । हाल ६ वटा मत्स्य ह्याचरी र १७ वटा मत्स्य नर्सरी रहेको रूपन्देही मत्स्य उत्पादक संघका अध्यक्ष पुन्य चौधरीले बताए ।
माछाको उत्पादन र व्यवसायीको संख्या बढे पनि पुराना पोखरी सुधार नहुँदा लक्ष्य अनुसारको उत्पादन नभएको उनले बताए । रुपन्देहीमा उत्पादन भएका माछा पोखरा, काठमाडौं, चितवन, कपिलवस्तु, पाल्पासहित भारतका सीमावर्ती क्षेत्रमासमेत खपत हुने गरेको छ ।