‘धर्मनिरपेक्षता खारेज नगरिए धर्मयुद्ध'

‘धर्मनिरपेक्षता खारेज नगरिए धर्मयुद्ध'

काठमाडौंः राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकीकरण भएको छ । राजधानीमा सोमबार आयोजित घोषणासभामा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले घोषणापत्रमा हस्ताक्षर गरेपछि दुई पार्टीबीच विधिवत् एकीकरण भएको हो ।

एकीकृत पार्टीको राष्ट्रिय अध्यक्षमा पशुपतिशमसेर राणा र अध्यक्ष कमल थापा रहेका छन् भने लोकेन्द्रबहादुर चन्द, डा. प्रकाशचन्द्र लोहनी र विश्वबन्धु थापालाई वरिष्ठ नेता बनाइएको छ । यसअघि दुवै पार्टीमा रहेका पदाधिकारी र केन्द्रीय सदस्य एकीकृत पार्टीमा यथावत् रहने जनाइएको छ ।

राप्रपा नेपालले प्रयोग गर्दै आएको झन्डालाई एकीकृत पार्टीको झन्डा कायम गरिएको छ भने पार्टीको नाम राप्रपा राखिएको छ । चुनाव चिह्न र राजसंस्थाको विषय एकीकृत पार्टीको महाधिवेशनले टुंगो लगाउने भएको छ । यसअघिका निर्वाचनमा राप्रपा नेपालले गाई र रापपाले हलो चुनाव चिह्न प्रयोग गरेका थिए ।

घोषणासभामा सम्बोधन गर्दै पार्टीका शीर्ष नेताले ९४ प्रतिशत नेपाली ओमकार परिवारभित्र रहेको र ८१ प्रतिशत हिन्दु भएको भन्दै धर्मनिरपेक्षता खारेज गर्न र हिन्दु राष्ट्र कायम गर्न माग गरे ।

यसअघि गणतन्त्र र धर्मनिरपेक्षतासमेत स्विकारेका राप्रपा पक्षका नेताहरूले नै हिन्दु धर्मका विषयमा चर्को वकालत गरेका थिए । राष्ट्रिय अध्यक्ष राणाले मुलुक अब धर्मनिरपेक्ष भएर रहन नसक्ने बताए । ‘मुलुक अब धर्मनिरपेक्ष भएर रहन सक्दैन । ८१ प्रतिशत हिन्दु भएको ठाउँमा यस्तो हुन पनि सक्दैन । सहन पनि सक्दैनौं', राणाले भने ।

उनले धर्मनिरपेक्षता लागू गर्नेलाई जनमतसंग्रह गरेर देखाउन चुनौती दिए । ‘धर्मनिरपेक्षता लागू गर्नेलाई म चुनौती दिन्छु । सक्छौ र आँट छ भने जनमतसंग्रह गर', उनले भने, ‘यो मुलुकमा हिन्दुवादी धर्मयुद्ध गर्न तयार छन् । त्यस अभियानको नेतृत्व राप्रपाले गर्छ ।' उनले ०५१ सालमा भएको पार्टी एकतालाई कायम गर्न नसकेकाले अहिलेको अवस्थामा पार्टी आउनुपरेको दाबी गर्दै अब दुईदुई जोड्दा आठ हुने गरी काम गर्न आग्रह गरे ।

पार्टी अध्यक्ष कमल थापाले दुई पार्टीको एकीकरणसँगै नेपालको राष्ट्रिय राजनीतिमा बलियो राष्ट्रवादी प्रजतान्त्रिक शक्तिको उदय भएको बताए । उनले १० वर्षअघि दिल्लीमा भएको १२ बुँदे समझदारी र त्यसको कार्यान्वयनक्रममा भएका त्रुटिले मुलुकको सार्वभौमसत्तामा समेत खतरा उत्पन्न भएको दाबी गरे ।

‘हिन्दुत्व, प्रजातन्त्र र राष्ट्रवादी विचारका आधारमा अब छिट्टै यो पार्टी देशको नेतृत्वदायी र पहिलो हुनेछ', उनले भने । पार्टीएकता रहर वा बाध्यता नभएको दाबी गर्दै उनले कोहीसँग स्वार्थको सम्झौता नभएको बताए । उनले नेपालको इतिहासमा अहिलेजस्तो बाह्य शक्तिको चलखेल कहिल्यै नभएको दाबीसमेत गरे । उनले मधेसका मागमा केही लचक भएर समस्या समाधान नगरे तराईमा अतविादी विखण्डनवादी तत्व हाबी हुने चेतावनी पनि दिए ।

कोमल वली राप्रपामा

पार्टी एकीकरण घोषणासभामा उद्घोषण गरिरहेकी लोकगायिका कोमल वली राप्रपामा प्रवेश गरेकी छन् । कार्यक्रमको अन्तिममा वलीलाई कमल थापाले फूलमाला लगाएर पार्टीमा स्वागत गरेका थिए । सम्बोधनको अन्त्यमा थापाले ‘म त्यसै छोड्नेवाला छैन' भन्दै आफूसँग खुसीको कुरा रहेको बताए ।

लगत्तै उनले लोकगायिका वलीलाई पार्टीमा स्वागत गरेको भन्दै फूलमाला लगाइदिए । थापाले फूलमाला लगाइदिएपछि राणालगायतले पनि वलीलाई माला लगाइदिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.