'संशोधनको चार बुँदे प्रस्ताव मान्दैनौं'
वीरगन्जः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका विषयमा हल्लामा आएको चारबुँदे प्रस्ताव आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् ।
वीरगन्जमा सोमबार फोरम नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान संशोधनको विषयवस्तुबारे सरकार एवं सत्तारूढ दलले मधेसी मोर्चासँग कुनै सहमति नगरेको दाबी गरे । सरकारले एकलौटी रूपमा गर्ने संविधान संशोधनले मधेसका एजेन्डालाई सम्बोधन नगर्ने उनको भनाइ छ ।
‘सरकार एवं सत्तारूढ दलले आन्दोलनरत मोर्चासँग सहमति नगरी आफ्नो स्वार्थका लागि एकलौटी रूपमा संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने षड्यन्त्र गरिरहेका छन्’, उनले भने, ‘उक्त प्रस्ताव मोर्चाको सहमतिमा पेस हुनुपर्छ, अन्यथा संशोधनको कुनै अर्थ हुँदैन ।’
मधेसी मोर्चाको सहमतिमा १५ दिनभित्र संविधान संशोधन गर्न माग गर्दै सरकारलाई लिखित रूपमै ‘अल्टिमेटम’ दिइएको उनले जानकारी दिए । एकलौटी रूपमा संविधान संशोधन गरे सरकारलाई दिएको समर्थन फिर्ता लिई आफूहरू आन्दोलनमा जाने उनको चेतावनी छ ।