संविधान संशोधनको विरोधमा एमालेका भ्रातृ संगठन आन्दोलनमा उत्रिने
काठमाडौंः जबरजस्ती संविधान संशोधन गर्न लागिएको भन्दै नेकपा एमालेका भ्रातृ संगठन नेपाल युवा संघ र अनेरास्ववियुले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
युवा संघ र अनेरास्ववियुले मंगलबार संयुक्तरुपमा पत्रकार सम्मेलन गरी संविधानको पूर्ण कार्यान्वयन नहुँदै संविधान संशोधन गर्न खोज्नु उचित नभएकाले त्यसविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन्।
वर्तमान सरकारले सत्ता स्वार्थ र गलत प्रभावमा परी संविधान संशोधन गर्न लागिएको भन्दै सचेत हुन सबैलाई अपिल गरेका छन्। युवा संघका अध्यक्ष राजीव पहारी र अनेरास्ववियु अध्यक्ष नवीना लामाले प्राविधिक विषय भन्दा पनि आम जनताको भावना विपरीत संविधान संसोधन गर्ने दुस्प्रयास भए जनता चुप लागेर नबस्ने चेतावनी दिएका छन्।
सहमतिविपरित संविधान संशोधन गरे विद्यार्थी आन्दोलनमा उत्रन वाध्य हुने उनीहरुले चेतावनीसमेत दिएका छन्।
यसैबीच युवा संघ र अनेरास्ववियुले मंसिर ९ गते ‘संविधान कार्यान्वयन र संसोधनको प्रश्न’ विषयमा अन्तरक्रिया गर्ने भएका छन्। मंसिर ९ गते दिउँसो १२ बजे हुने कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा, उपाध्यक्ष भीम रावल, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी सहभागी हुने छन्।
त्यस्तै राप्रपाबाट अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकबाट अध्यक्ष विजयकुमार गच्छदार, जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी, तमलोपाबाट नेता हृदेश त्रिपाठी र संघीय समाजवादीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ पनि सहभागी हुने बताइएको छ।