महिला मजदुरकै भरमा उद्योग

महिला मजदुरकै भरमा उद्योग

पथरी: गाउँमा पुरुष कमै देखिन्छन् । कामदार खोज्दै उद्योग गाउँ जाँदा पनि मजदुर फेला पर्दैनन्। अन्ततः गर्नसक्ने काममा महिला नै प्रयोग गर्ने निचोडमा पुग्दै यतिबेला मोरङ–सुनसरी करिडोरका दर्जनौँ ठूला उद्योगले महिलालाई कामदारको रुपमा प्रयोग गर्न उत्साहित गरेको छ।

महिला पनि घरमै त्यसै बस्नुभन्दा दैनिक ४०० रुपैयाँसम्म आम्दानी हुने काममा लाग्न थालेका छन्। अहिले करिडोरका १०० भन्दा बढी ठूला उद्योगमा १५ हजारभन्दा बढी महिला कामदार नियमितरुपमा काम गरिरहेका छन् । 'महिला कामदारका लागि हामीले बसबाट ल्याउने र पुर्‍याउनेसमेत गरेका छौं,' अरिहन्त जुट मिल्सका गोविन्द बजगाईंले भने। 

दुहबी–४ सुनसरीकी सरस्वती चौधरी क्वालिटी बिस्कुट उद्योग, दुहबीमा काम गर्छिन्। उनका श्रीमान् वैदेशिक रोजगारीका लागि कतार गएको तीन वर्ष भयो। छोराछोरीलाई बिहानै खाना खुवाएर चौधरी उद्योगमा काम गर्न जान्छिन्। उद्योगमा कामगर्ने बहुसङ्ख्यक महिलाका श्रीमान् विदेशमा छन्। पुरुष विदेश गएपछि उद्योगमा देखिँदै आएको मजदुर अभाव महिला मजदुरबाट पूर्ति गर्ने प्रयासमा उद्योग जुटेका छन्।

'पुरुष कामदारको अभाव पूर्तिगर्न पनि हामीले महिलालाई राखेका छौँ, उनीहरू कामप्रति बढी जिम्मेवार हुने गर्दछन्', क्वालिटी बिस्कुट उद्योगका प्रबन्ध निर्देशक नवलकिशोर काबराले भने,'उनीहरू गफमा भन्दा काममा बढी ध्यान दिन्छन्।' यस्ता महिलालाई उद्योगले समयको पावन्दीलाई ध्यान दिएर काम गर्छन्। उनीहरूलाई साँझ ६ बजेपछि बिदा दिइन्छ।

काबराको उद्योगमा ४०० भन्दा बढीले रोजगारी पाएका छन्। अरुमा पनि २०० भन्दा बढी महिला छन् । औद्योगिक करिडोरमा सञ्चालित जुट उद्योगमा पनि महिला मजदुरले नै बढी मात्रामा काम गरेको देख्न सकिन्छ। नेपाल जुट उद्योग सङ्घका अध्यक्ष राजकुमार गोल्छाले भने, 'तर अहिले महिला कामदार राख्न थालेपछि अभाव हटेको छ।' उनका अनुसार मजदुरकै कारण अहिले उद्योगले उत्पादन कटौती गर्नुपर्ने अवस्था छैन।

महिला भनेपछि गार्मेन्टस् उद्योगमा मात्र काम गर्ने संस्कार थियो। महिला यतिबेला जुट, बिस्कुट, प्लास्टिक, चकलेट, चाउचाउलगायतका उद्योगमा काम गरिरहेका छन्। 'मेरो रमपममा पनि महिला कामदार मनग्गे छन्', एसियन थाइफुड्सका प्रबन्ध निर्देशक महेश जाजुले भने।

यस क्षेत्रमा सानाठूला गरी ५५० भन्दा बढी उद्योग छन्। ती उद्योगमा करिब ६० हजारभन्दा बढीले रोजगारी पाएका छन्। त्यसमध्ये यस क्षेत्रमा सञ्चालित नौ जुट उद्योगमा मात्रै २० हजारभन्दा बढी मजदुर आबद्ध छन्। विगतमा खेती गर्ने पनि अहिले उद्योगमा मजदुरी गर्न थालेका छन्। मोरङ सिसवनी बडहराकी फूलमती राजवंशी उद्योगमा काम गर्नुभन्दा अगाडि अर्काको खेती गर्थिन्। तर खेतीबाट सधैँ घाटा हुन थालेपछि कृषि पेसालाई चटक्कै छाडेर मजदुरी गर्न थालेको उनी बताउँछिन्। 

'कहिले पानी नपर्ने, कहिले मल नपाउने, कहिले उत्पादित वस्तुको मूल्य नहुने अवस्थाले लगानीसमेत नउठेर धेरैपटक घाटा सहनुपर्‍यो,' फूलमतीले भनिन्, 'उद्योगमा त काम गरेको दिन पैसा पाइहालिन्छ।' उद्योगमा काम गर्ने महिलाले दैनिक  ५५० देखि ८०० रुपैयाँसम्म कमाउने गरेका छन्। उद्योगमा काम गर्नेमध्ये एकै परिवारका चार–पाँचजनासमेत महिला छन्।

उद्योग सङ्गठनका कार्यकारी सदस्य नन्दकिशोर राठीले भने,'महिला मजदुर सधैँ कसरी धेरै काम गरेर बढी पैसा कमाउने भन्नेतर्फ ध्यान केन्द्रित गरेको देखिन्छ।त्यही भएर पनि हुनसक्छ केही वर्षयता उद्योगमा मजदुरको समस्या छैन।' रासस

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.