योगगुरु रामदेवले नेपालमा एक खर्ब लगानी गर्ने

योगगुरु रामदेवले नेपालमा एक खर्ब लगानी गर्ने

काठमाडौं: योगगुरु रामदेवले नेपालमा आयुर्वेदिक उद्योगमा ठूलो लगानी गर्न लागेको बताएका छन् । पतञ्जली ब्रान्डको आयुर्वेदिक वस्तु उत्पादनमा उनले ठूलो लगानी गर्ने भएका हुन् । उनले बाराको प्रसौनीमा पतञ्जली आयुर्वेदिक उद्योग खोलिसकेका छन् । नेपालमा एक अर्ब भारुबाट लगानी सुरु गरेका रामदेवले यसलाई बढाएर एक खर्ब भारु पुर्‌याउने घोषणा गरेका छन् ।

'यहाँ पतञ्जलीको १० हजार करोड भारुसम्मको आर्थिक गतिविधि चलाउने योजना छ', उनले भने, 'आगामी ५/१० वर्षभित्र २० हजारलाई प्रत्यक्ष रोजगारी दिन सकौं । अप्रत्यक्षसमेत गरी एक लाखले रोजगारी पाऊन् ।' नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको कार्यक्रममा योगगुरु रामदेवले नेपालमा लगानी विस्तार गरेर रोजगारीका लागि विदेश जानुपर्ने अवस्था अन्त्य गर्ने दाबी गरे ।

नेपालमा उत्पादित पतञ्जलीका वस्तु बिक्री गरेर भएको नाफा भारत नलैजाने घोषणा उनले गरे । नेपालमा भएको नाफाबाट यहीं लगानी विस्तार गर्दै जाने उनको योजना छ । नेपालमा पतञ्जलीले ठूलो लगानी गरेर अरूलाई हौसला दिने रामदेवले बताए । 'नेपाललाई स्वस्थ, समृद्ध, राजनीतिक स्थिरता भएको हेर्न चाहन्छु', उनले भने, 'हामी सब मिलेर काम गर्‌यौं भने नेपाललाई विश्वको नम्बर वान मुलुक बनाउन सकिन्छ ।'

रामदेवले कमाउने मात्र नभई लोकको भलाइ पनि सोच्न सबलाई आग्रह गरेका छन् । उनले धनी मुलुकमा पतञ्जलीका वस्तु बिक्री गरेर नाफा कमाउने र गरिब मुलुकमा खर्च गर्ने बताए । 'आगामी वर्ष धनी मुलुकमा एक खर्ब भारुको पतञ्जलीका वस्तु निर्यात गर्छौं', उनले भने, 'धनी मुलुकबाट नाफा कमाउँछौं र गरिब मुलुकको समृद्धिमा खर्च गर्छौं ।'

नेपालमा जंगल, मनी, जडीबुटीलगायत अलगअलग स्रोत रहेको बताउँदै उनले यसलाई उपयोग गर्न सकेमा विदेशमा रोजगारी खोज्न जानु नपर्ने ठोकुवा गरे । नेपालमा उपलब्ध जडीबुटी र वस्तुको उपयोग गरेर ठूलो रोजगारी सिर्जना गर्ने उनको भनाइ छ । पतञ्जलीले गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोसँग साझेदारी गरेर उद्योग स्थापना गरेको हो । उद्योगबाट ५५ किसिमका वस्तु उत्पादन गर्ने लक्ष्य छ । पतञ्जली भारतमा सर्वाधिक सफलता पाएको कम्पनी हो । नेपालमा पनि उत्तिकै सफलता पाउने विश्वास छ ।

रामदेवले नेपाली व्यवसायीलाई ब्रान्ड स्थापित गर्न सुझाव दिएका छन् । यसका लागि लामो संघर्ष गर्नुपर्ने उनको भनाइ छ । 'पतञ्जली २० सालदेखि रातदिनको मेहनतबाट स्थापित भएको हो', उनले भने, 'एउटा ब्रान्डलाई स्थापित गराउन १०÷२० वर्ष संघर्ष गर्नुपर्छ ।' उनले एउटाएउटा गरी ब्रान्ड स्थापित गर्दै जान उद्योग व्यवसायीलाई सुझाव दिएका छन् । उनले ब्रान्ड स्थापित गर्न न्युज च्यानलमा अर्बौं भारु खर्चिएको बताएका छन् ।

महासंघका अध्यक्ष पशुपति मुरारकाले नेपालमा पतञ्जली आयुर्वेदिक उद्योग सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गरे । 'नेपालमा आयुर्वेदिक कच्चा पदार्थ नष्ट भइरहेको छ', उनले भने, 'पतञ्जली उद्योग स्थापनासँग कच्चा पदार्थ उपयोग हुनेछ र नेपालमा रोजगारीको अवसर पनि बढ्नेछ ।' पतञ्जली उपचार विधि र उत्पादनमा मानिसको विश्वास बढेको उनको भनाइ छ । महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले सातवटा प्रदेशमा एकएकवटा पतञ्जली आयुर्वेदिक उद्योग खोल्न रामदेवसँग आग्रह गरिन् ।

पतञ्जली आयुर्वेद उद्योगको उत्पादन सुरु

वीरगन्ज: बाराको प्रसौनीमा सञ्चालित पतञ्जली आर्युवेद उद्योग प्रालिले ५५ किसिमका दैनिक उपभोग्य वस्तु उत्पादन गर्न थालेको छ । योगगुरु रामदेव बाबाको पतञ्जली योग पीठ र गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतोको संयुक्त लगानीमा पतञ्जली आर्युवेद उद्योग प्रालि सञ्चालनमा ल्याइएको हो ।

उद्योगले जडीबुटी प्रशोधन गरेर साबुन, सेम्पु, डिटर्जेन्ट सर्फ, बडी लोसन, खाने तेल, चामल, अचार, गहुँको पीठो, दन्तमन्जन, च्यावनप्रास, मह, मसला, जुस, विभिन्न आर्युवेदिक औषधिलगायत दैनिक उपभोग हुने ५५ प्रकारका सामान उत्पादन गर्दै आएको छ ।

पहिलो चरणमा ५५ किसिमका मात्र सामान उत्पादन भइरहेको छ', उद्योगकी प्रबन्धनिर्देशक समता महतोले भनिन्, 'निकट भविष्यमै चाउचाउ, बिस्कुट, घिउलगायत वस्तु पनि उत्पादन गर्ने योजनामा छौं ।'

स्वदेशी कच्चा पदार्थलाई नै प्राथमिकता दिने नीति भए पनि उद्योगका लागि चाहिनेजति कच्चा पदार्थ नेपालमा उपलब्ध नभएका कारण भारतबाट पनि कच्चा पदार्थ ल्याउनुपर्ने बाध्यता रहेको प्रबन्धनिर्देशक महतोले बताइन् ।

अहिले उद्योगलाई चाहिएका मध्ये १० प्रतिशतमात्र कच्चा पदार्थ नेपालमा उपलब्ध भइरहेको छ', उनले भनिन्, 'बाँकी ९० प्रतिशत कच्चा पदार्थ र रसायन भारतबाट ल्याउने गरेका छौं ।'

जडीबुटी भने सबै स्वदेशकै प्रयोग गर्ने गरिएको उनले बताइन् । पर्याप्त कच्चा पदार्थ स्वदेशमा उपलब्ध नभएका कारण उद्योगको क्षमताअनुसार सामान उत्पादन गर्न नसकिएको भन्दै उनले उत्पादित सामान भारत वा अन्य मुलुकमा निर्यात गर्न नसकिएको बताइन् ।

उद्योगका उत्पादन अहिले स्वदेशमा मात्रै आपूर्ति भइरहेको जानकारी प्रबन्धनिर्देशक महतोले दिइन् । करिब नौ बिघा क्षेत्रफलमा स्थापना गरिएको आयुर्वेद उद्योगमा अहिले सामान उत्पादन गर्ने १० वटा प्लान्ट सञ्चालनमा छन् ।
प्रबन्धनिर्देशक महत्तोले भनिन्, 'अहिले कस्मेटिकका पाँचवटा र फुडका पाँचवटा गरी कुल १० वटा प्लान्ट चलिरहेका छन् ।

२०७२ साल वैशाखको पहिलो सातादेखि औपचारिक रूपमा उत्पादन थालेको उद्योग विनाशकारी भूकम्प तथा त्यसलगत्तै भएको मधेस आन्दोलन र नाकाबन्दीका कारण नौ महिना बन्द भएको थियो ।

मधेस आन्दोलन सकिएपछि गत फागुन महिनादेखि भने फेरि उद्योगको उत्पादन सञ्चालन भएको प्रबन्धनिर्देशक महतोले बताइन् । उद्योगमा अहिलेसम्म एक अर्ब ६० करोडको लगानी भइसकेको जानकारी उद्योगका सञ्चालक एवं एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले दिए ।

उनले उद्योगले अहिले वार्षिक करिब एक अर्ब रुपैयाँबराबरको कारोबार गर्ने लक्ष्यका साथ आफूहरू अगाडि बढेको जानकारी पनि दिए ।

अबको एक वर्षपछि भने वार्षिक चारदेखि पाँच अर्ब रुपैयाँबराबरको कारोबार गर्ने लक्ष्य उद्योगले लिएको सञ्चालक महतोले बताए । अहिले नै उद्योगको मासिक कारोबार झन्डै १२ करोडको हाराहारीमा छ ।

उद्योगबाट हुने सम्पूर्ण मुनाफा सामाजिक क्षेत्रमा खर्च गरिने सञ्चालक महतोले बताए । उद्योगबाट हुने सबै मुनाफा स्थानीय कृषि, शिक्षा र स्वास्थ्यका क्षेत्रमा खर्च गरिने महतोको भनाइ छ । उद्योगको औपचारिक उद्घाटन यही मंसिर ९ गते हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर ९ गते उद्योग उद्घाटन गर्ने तय भएको जानकारी उद्योगकी प्रबन्धनिर्देशक महतोले दिइन् ।

उनका अनुसार उद्घाटन समारोहमा पतञ्जली योग पीठका मुख्य सञ्चालक रामदेव बाबा, नेपाल सरकारका मन्त्री, भारतीय राजदूत रन्जित रेलगायतको उपस्थिति रहनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.