लोडसेडिङ हट्दा केही व्यापारीको मुखै अध्याँरो

लोडसेडिङ हट्दा केही व्यापारीको मुखै अध्याँरो

काठमाडौं: लोडसेडिङ हुन छाडेर उपत्यका झलमल्ल हुन थालेपछि खुसीयाली छाए पनि एकथरी व्यववसायीको मुखचाहिँ अँध्यारो भएको छ । लोडसेडिङकै कारण केही वस्तुको बजार गर्माएको थियो । तिनै वस्तुको व्यापार गरिरहेका व्यवसायी यतिबेला के गर्ने भन्ने चिन्तामा छन् ।

सोलार ऊर्जामा संलग्न व्यवसायीले आइतबार ऊर्जामन्त्रीलाई भेटेर समस्या राखे । तिनले लोडसेडिङ गराइदिनुस् भन्ने कुरा त भएन । लोडसेडिङमुक्त भए पनि सोलार ऊर्र्जा प्रवद्र्धनमा ध्यानाकर्षण गराएका थिए । 'हामीले लोडसेडिङमुक्त गर्ने प्रयासको मुक्तकण्ठले प्रंशसा गर्‌यौं', सौर्य ऊर्र्जा उत्पादक संघका अध्यक्ष उत्तम सिटौलाले भने, 'सरकारले सौर्य ऊर्र्जालाई पनि प्रवद्र्धन गर्नपर्छ भन्ने माग राख्यौं ।'

सरकारले लोडसेडिङबाट राहत दिन सहरी सौर्य ऊर्र्जा कार्यक्रमअन्तर्गत कम्तीमा दुई सय वाटको सोलार प्रणाली जडान गर्दा २० हजार रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो । जनसंख्या तथा वातावरण मन्त्रालयले कार्यान्वयनका लागि कार्यविधि तयार पार्दा कार्यक्रम कार्यान्वयन हुन्छ कि हुन्न भन्ने अन्योल भएको छ ।

कार्यक्रमअन्तर्गत प्रणाली जडान गर्न धमाधम बुकिङ भइरहेको थियो । सिटौलाका अनुसार ती उपभोक्ताले अब केही समय कुरौं न भन्न थालेका छन् । अनुदान कार्यक्रमअन्तर्गत इन्भर्टर जडान भएका घरमा दुई सय वाटको सोलार प्रणाली जडान गर्दा उपभोक्ताको १० देखि १५ हजार रुपैयाँ खर्च हुन्छ । सरकारले यसलाई प्रवद्र्धन गर्दा लोडसेडिङमुक्त सरकारको योजना चाँडै सफल हुने भएकाले प्रवद्र्धन गरिनुपर्छ भन्ने उनको तर्क छ । यसबाहेक सोलार प्रणालीमार्फत उत्पादित ऊर्र्जा राष्ट्रिय प्रसारण प्रणालीमा मिसाउन पनि संघले माग गरेको थियो ।

लोडसेडिङका कारण फस्टाएको व्यापार लोडसेडिङ रोकिएसँगै खस्किन थालिसकेको छ । इन्भर्टर, ब्याट्री, ब्याकअप, सोलार प्रणाली, जेनेरेटरका साथै ग्यास गिजरको माग घटिसकेको छ । 'निक इलेक्ट्रो टेक २०१६' मा इन्भर्टर, ब्याट्री, जेनरेटरको व्यापार गत वर्षको तुलनामा नगण्य भएको सहभागी व्यवसायीले बताए । भृकुटीमण्डपमा आयोजित प्रदर्शनी मंगलबार सकिएको छ ।

व्यावसायिक प्रयोजनका लागि केही सामान बुकिङ भए पनि व्यक्तिगत प्रयोजनका लागि कुनै अर्डर नभएको व्यवसायीले बताए । 'तिहारदेखि लोडसेडिङ नभएको र यसपालि लोडसेडिङ भए पनि एकदम कम हुन्छ भनिएकाले मेलामा इन्भर्टर र ब्याट्रीको स्टल नै कम थियो', नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष तथा मेलाका संयोजक तेजनारायण खरेलले भने । मेला घुम्न आएकाले कम बिजुली खपत गर्ने इलेक्ट्रिक सामानमा आँखा लगाएका थिए ।

क्वालिटी रिन्युवल इनर्जी प्रालिका प्रबन्धनिर्देशक सूर्य गौतमका अनुसार काठमाडौं लोडसेडिङमुक्त हुँदा मेलामा घुम्न आउनेको संख्या स्वाट्टै घटेको थियो । उनले व्यापार गरिरहेको सोलार प्यानल, इन्भर्टर र ब्याट्रीको व्यापार एक महिनामा पोहोरभन्दा झन्डै ५० प्रतिशतले घटेको छ । मेलामा दुई किलोवाट र तीन किलोवाट क्षमताको सोलार बिक्री भयो । सानो क्षमताको सोलारको व्यापार नगण्य भएको सूर्योदय ऊर्र्जाका डिजाइन तथा सेल्स म्यानेजर पदमहर्ष बज्राचार्य बताउँछन् । तैपनि सरकाले दिएको २० हजार अनुदान र घर निर्माण गर्दा अनिवार्य सोलार जोड्नुपर्ने निर्णयले भने यो व्यवसायमा खासै असर नपर्ने उनको ठम्याइ छ ।

जेनेरेटरको व्यापार गर्दै आएको एमएडब्लू इन्जिनियरिङ प्रालिले त व्यापारमा कमी आएपछि जेनेरेटरको सेक्सनमा काम गर्ने कर्मचारीलाई अन्यत्र सार्ने योजनानै बनाई सकेको कम्पनीका सेल्स म्यानेजर प्रकाश ठाकुरले बताए । उनका अनुसार कात्तिकदेखि वैशाखसम्म चल्ने जेनेरेटरको बजारमा गत वर्षको यही बेलाभन्दा ५० प्रतिशतले नै कमी आइसकेको छ । अहिले जेनेरेटरको 'इन्क्वायरी' समेत स्वाट्टै घटेको छ । तैपनि काठमाडौंबाहिरको बजारमा असर परिनसकेको उनले थपे ।

जेनेरेटर, इन्भर्टर, सोलार, ब्याट्रीका साथै लोडसेडिङमुक्त हुँदा जाडोयाममा प्रयोगमा आउने ग्यासबाट चल्ने गिजर र हिटरको बजारमा पनि ठूलो असर परेको एएस इलेक्ट्रिक एन्ड मेसिनरी स्टोरका सेल्स म्यानेजर नारायणप्रसाद भेटवाल बताउँछन् । उनका अनुसार सधैं मानिसलाई आकर्षण गर्दै आएको ग्यास गिजरको बजार यो समयमा शून्य छ । लोडसेडिङमुक्त हुँदाको असर बजारमा तुरुन्तै नदेखिए पनि उपभोक्ताले इलेक्ट्रिक गिजर र हिटरबारे सोधीखोजी गर्न थालेका छन् ।

व्यवसायी अब वैकल्पिक व्यवसायको खोजीमा छन् । लोडसेडिङमुक्त हुँदा गर्न सकिने इलेक्ट्रिक वस्तु हुन सक्छ भनेर सोच्दैछन् । व्यवसायी स्टकमा रहेका सामान के गरी बेच्ने भन्ने चिन्तामा छन् । उपभोक्ता पनि घरमा रहेका इन्भर्टर के गर्ने भन्ने सोधीखोजीमा लागेका छन् । 'नयाँ खालको व्यापारचाहिँ सुरु हुन्छ', उनले थपे । त्यतिमात्र नभएर घरमा भएका इन्भर्टरलाई पनि कसरी तह लगाउने भन्ने समस्या उत्पन्न भइसकेको उनले बताए ।

जेनेरेटर, इन्भर्टर, सोलार, ब्याट्री, ग्यास गिजर, हिटरलगायतको बजार ठण्डा हुँदा बिजुलीबाट चल्ने घरायसी सामानको बजार भने गर्माएको छ । इलेक्ट्रिक गिजर यो वर्ष मेलामा आकर्षण र सोधीखोजीको विषय बनेको एएस इलेक्ट्रिक एन्ड मेसिनरी स्टोरका सेल्स म्यानेजर भेटवाल बताउँछन् । उनका अनुसार यो वर्ष हिटर, राइसकुकर, आइरन, पंखा, पानी तताउने कित्ली, एसीजस्ता सामग्रीको बजारले स्थान पाएको छ ।

गत वर्षको तुलनामा यो वर्ष यसको व्यापारमा ठूलो फरक आएको उनले बताए । लोडसेडिङमुक्त हुने पूरा विश्वास भए इमर्जिङ रड (पानी तताउने रड) को माग यो सिजनमा धेरै गुणाले बढ्ने उनले थपे । अब अफिस र धनाढ्यका घरमा बढी प्रयोग हुँदै आएको एसी, इलेक्ट्रिक गिजर मध्यमवर्गीय परिवारमा पनि पुग्नेछ । नाकाबन्दीपछि उपत्यकावासीले प्रयोग गर्न थालेको इन्डक्सन चुलोको प्रयोग व्यापक हुने निश्चित छ ।

अध्यक्ष खरेलका अनुसार अहिले नेपालको इलेक्ट्रिक बजार ९० प्रतिशत आयातमा चलेको छ । लोडसेडिङ मुक्त भएको खण्डमा यस क्षेत्रमा नेपाललाई एक वर्षको अवधिमा ७० प्रतिशतसम्म झार्न सकिने बताए । लोडसेडिङ सधैंका लागि मुक्त हुन हो भने देशमा उद्योग व्यवसाय स्थापना हुनेछन् । डिजेल, मोबिलजस्ता इन्धनको प्रयोगमा कमी आउनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.