नयाँ स्वरुपमा बौद्धनाथ-डेढ वर्षपछि सर्वसाधारणलाई खुला

नयाँ स्वरुपमा बौद्धनाथ-डेढ वर्षपछि सर्वसाधारणलाई खुला

काठमाडौं: बौद्धस्थित भूकम्पबाट क्षतिग्रस्त बौद्धनाथ महाचैत्यको पुनर्निर्माण सम्पन्न भएसँगै मंगलबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेपछि करिब डेढ वर्षपछि सर्वसाधारणका लागि बौद्धनाथ खुला गरिएको हो । गतवर्ष वैशाख १२ गतेको भूकम्पपछि पुनर्निर्माण भएको यो पहिलो पुरातात्त्विक सम्पदा हो । विश्व सम्पदा सूचीमा सूचीकृत यो सम्पदा सरकारी सहयोगविना स्थानीय बासिन्दाको अगुवाइ एवं प्रयासमा पुनर्निर्माण गरिएको हो ।

भूकम्पले बौद्धनाथ महाचैत्यको मण्डला, डोमदेखि त्रयोदश भुवन (तेह्रवटा खुड्किला) र छ्यार्तेनहरू पूर्ण रूपमा भत्काएको थियो । गतवर्षकै जेठ १० गतेदेखि बौद्धनाथ क्षेत्र विकास समितिले महाचैत्य पुनर्निर्माण सुरु गरेको हो । पुनर्निर्माणका लागि संकलित ३० करोड रुपैयाँमध्ये २३ करोड मात्र खर्च भएको छ । बाँकी करिब सात करोड रुपैयाँ संग्रहालय र धर्मशालाको जग्गा र भवन निर्माणमा खर्च गर्ने समितिको योजना छ । महाचैत्यमा ३१ किलो सुन लागेको छ ।

त्यसमा भारतको हिमाञ्चल प्रदेशका ताइसितुपा रिम्पोछेले २६ किलो सुन र एक करोड रुपैयाँ दान गरेका थिए भने पाँच किलो सुन स्थानीयबाट संकलन भएको हो । मंसिर ३ र ४ गते ङिङमा, गेलुक, काग्यु, शाक्य, बज्रयान र थेरवादी गरी बौद्ध सम्प्रदायका गुरुको उपस्थितिमा शुद्धीकरण पूजा (डुस्याक) र ५ गते प्राणप्रतिष्ठा गरिएको थियो । बौद्ध परम्पराअनुसार देवातरण दिवस (लभव दुइछेन)को अवसर पारेर मंगलबार महाचैत्य उद्घाटन गरिएको हो ।

भूकम्पपछि सबैभन्दा पहिले बौद्धनाथ महाचैत्य पुनर्निर्माण भएको र यसले देशका साथै विदेशमा समेत राम्रो सन्देश गएको प्रधानमन्त्री दाहालले बताए । 'बौद्धनाथ पुनर्निर्माणका लागि चीन, अमेरिकालगायतका देशका संघसंस्था र व्यक्तिबाट पनि सहयोग जुटेको छ । इच्छाशक्ति भए ठूलो काम पनि समयमै गर्न सकिनेरहेछ भन्ने सन्देश दिन पाउँदा गर्वको महसुस भएको छ', उनले भने, 'हामीले चाह्यौं भने जुनसुकै र जस्तासुकै काम पनि गर्न सक्छौं भन्ने उदाहरण हो यो ।'

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले सम्पदाहरूको पुनर्निर्माणका लागि बौद्धनाथ नमुना भएको बताए । स्थानीय बासिन्दाको प्रयासको प्रशंसा गर्दै उनले सरकारले बजेट उपलब्ध नगराए पनि प्राविधिक खटाएको जानकारी दिए । बौद्धनाथ पुनर्निर्माणका क्रममा थुप्रै अवरोध आएको र त्यसमा धार्मिक, राजनीतिक एवं आर्थिक अवरोध पनि जोडिएको उनको भनाइ छ । 'धर्मको कुरा गर्नेहरू थुप्रै छन्, तर धेरैले व्यवहारमा धर्म देखाउँदैनन्', बाँकी सम्पदाको पुनर्निर्माण पनि समयमै गर्नुपर्नेमा जोड दिँदै उनले भने, 'हामी निर्देशन दिन्छौं, तर निर्देशनले मात्र पुग्दैन, पुनर्निर्माणकै लागि पनि कानुन परिवर्तन गर्नुपर्ने अवस्था छ ।'

समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले सरकारको मुख नताकी आफ्नै बलबुतामा पनि पुनर्निर्माण गर्न सकिन्छ भन्ने उदाहरण बौद्धनाथ महाचैत्य रहेको बताए । पुरातत्त्व विभागका प्राविधिकको सहयोग एवं निगरानीमा मौलिक शैलीबाट महाचैत्यको पुनर्निर्माण गरिएको उनको भनाइ छ । कार्यक्रममा महाचैत्य पुनर्निर्माणको आम्दानी र खर्चबारे जानकारी दिइएको थियो भने दातालाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.