प्रविधि थपिए पनि जाम उस्तै
काठमाडौं: पछिल्लो समय ट्राफिक प्रहरीले प्रविधिमा फड्को मारे पनि सवारी जाम भने घट्न सकेको छैन । एक वर्षयता सडकमा खटिएका ट्राफिक गोप्य तवरले फोटो र भिडियो खिच्ने गोप्रो क्यामेरादेखि टेप रेकर्डरसमेत बोकेर खटिँदै आएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मुख्य चोकमा भएका ट्राफिक गतिविधिलाई सीसीटीभी क्यामेराबाट समेत निगरानी गर्ने गरेको छ । दुई साताअघि मात्रै ट्राफिक गतिविधि निगरानीका लागि भन्दै ड्रोन क्यामेरासमेत सञ्चालनमा ल्याइयो ।
सीसीटीभी, गोप्रो क्यामेरा, टेप रेकर्डर र ड्रोन क्यामेरासहितका ट्राफिक प्रहरी सडकमा खटिए पनि सवारीजाम ज्यूकात्यूँ छ ।
महाशाखाका प्रमुख डीआईजी प्रकाश अर्यालका अनुसार विशेषगरी बानेश्वर, कोटेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु, कालीमाटी, गौशाला, चाबहिल, महाराजगन्ज, लैनचौर सडक खण्ड लामो समय सवारीजाम हुने क्षेत्रमा पर्छन् ।
सवारी अस्तव्यततालाई नियन्त्रण गर्न ट्राफिक प्रहरी महाशाखाले सडक लेन अनुशासन कायम नगर्नेलाई चिट काटेर कारबाही गरी एक घन्टा कक्षा लिने व्यवस्था मिलायो । त्यति गर्दा पनि चालकको लापरबाही भने घटेन ।
डीआईजी अर्यालका अनुसार उपत्यकामा दैनिक ६ लाख बढी सवारीसाधन गुड्ने गरेका छन् । यातायात व्यवस्था विभागका अनुसार बागमती अञ्चलमा मात्रै नौ लाख २५ हजार सवारीसाधन दर्ता छन् । दर्ता भएका ९० प्रतिशत सवारीसाधन एकैपटक सडकमा निस्कन्छन् । बागमतीमा दर्ता भएका अधिकांश सवारीसाधन उपत्यकाभित्रै गुड्छन् ।
सडक विभागको तथ्यांकअनुसार उपत्यकाको सडकको लम्बाइ १५ सय ९४ किलोमिटर हो । सडकको क्षेत्रफलभन्दा सवारीसाधनले ओगट्ने क्षेत्रफल बढी भएकाले सवारीजाम बढेको दाबी ट्राफिक प्रहरीको छ । ट्राफिक प्रहरीले लेन अनुशासन, मादक पदार्थ सेवन, निषेधित स्थानमा पार्किङ, जेब्राक्रसमाथि गाडी रोक्ने र अन्य कारबाहीअन्तर्गत दैनिक दुई हजार ८० जना सवारी चालकलाई कारबाही गर्दै आएको छ ।
'सडकमा लापरबाही ढंगले सवारी हाँक्ने चालकलाई कारबाही गरेरमात्रै जाम नियन्त्रणमा आउने होइन, यो कुरामा हामी पनि स्वीकार गर्छौं तर सडकको भौतिक पूर्वाधार र दिनानुदिन थपिएका सवारी रुट र सवारीसाधन पनि जामका प्रमुख कारक हुन्,' डीआईजी अर्यालले भने, 'सवारी जाम भयो भनेर ट्राफिक प्रहरीलाई मात्रै दोष दिन मिल्दैन, सवारी रुट परमिट बाँड्ने, सडकको भौतिक पूर्वाधार हेर्ने र अरू थुप्रै सरोकारवाला निकाय पनि उत्तिकै दोषी देख्छु ।'
त्रिपुरेश्वरदेखि कलंकीसम्मको सडक विस्तारले अझै गति लिन सकेको छैन । त्यससँगै सहरका भित्री रुटका सडक विस्तारसमेत तीव्र हुन नसकेपछि ट्राफिक प्रहरीले दैनिक अस्थायी रूपमा वैकल्पिक बाटो प्रयोग गरेर सवारीसाधन सञ्चालन गर्दै आएका छन् ।
डीआईजी अर्याल सडक क्षमताभन्दा बढी सवारीसाधन सडकमा आउँदा जाम हुनु स्वाभाविकै ठान्छन् । उनले भने, 'सडकको चौबाटोमा बढी सवारीसाधन रोकिएपछि एउटा दिशाको गाडी रोकेर अर्को दिशाको पास गराउनु ट्राफिक प्रहरीको बाध्यता छ, थोरै समय सडकमा रोक्नुपर्दा त्यसलाई जाम भन्न मिल्दैन ।' अर्यालले मौजुदा सडकको अवस्था र सवारीसाधनको संख्यालाई आधार मान्ने हो भने कलंकी, त्रिपुरेश्वर, थापाथली, बानेश्वर र कोटेश्वरमा फ्लाई ओभर आवश्यक रहेको औंल्याए ।
प्रविधि विकाससँगै उपत्यकाका ट्राफिक प्रहरीले अंगालेका यी स्रोतसाधनका साथै ट्राफिक लाइट पनि अपरिहार्य हुन् । केही स्थानका ट्राफिक लाइटले काम गरे पनि अधिकांश स्थानमा राखिएका ती लाइट देखाउनका लागि मात्रै छन् ।