एउटै टहरामा तीनवटा कक्षा

एउटै टहरामा तीनवटा कक्षा

सेमजोङ (धादिङ): एउटा बाँसले बनाएको टहरो, तीनवटा लहरमा राखिएका डेस्कबेन्च र एउटै टहराभित्र तीनजना शिक्षिका । हेर्दा जोसुकैले पनि विद्यार्थीबीच कुनै अतिरिक्त क्रियाकलाप गराइरहेजस्तो लाग्छ तर त्यसो होइन । यहाँ एउटै टहराभित्र तीनवटा कक्षाको पठनपाठन भइरहेको छ । उत्तरी धादिङको सेमजोङ गाविसस्थित बुद्ध प्राविको भवन २०७२ को विनाशकारी भूकम्पले भत्काएपछि उत्पन्न भएको अवस्था हो यो ।

भूकम्पपछि विद्यालयको भवन पूरै भत्किएर पठनपाठन ठप्प भएका बेला विद्यालय व्यवस्थापन समिति र अभिभावकले बनाएको टहरोमा अहिलेसम्म पढाइ भइरहेको छ । आर्थिक अभावका कारण धेरैवटा अस्थायी टहरा बनाउन नसकिएपछि बाध्य भएर एउटै टहरोमा तीनवटा कक्षाका विद्यार्थी राखेर पढाउनुपरेको शिक्षिका रोजिना तामाङले बताइन् ।

'एक महिनासम्म विद्यालय नै खुलेन । त्यसपछि पनि सबै कक्षाका विद्यार्थी एकै ठाउँमा भए । विद्यालय आए पनि पढ्ने ठाउँ थिएन', उनले भनिन्, 'खुला चौरमा राखेर विद्यार्थीलाई भूकम्पबारे जानकारी दिने र सान्त्वना दिने गर्न थालियो । केही समयपछि अस्थायी सिकाइ केन्द्र बन्यो । सबै कक्षाका विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउन थालियो ।'

भूकम्पअघि ८० जना विद्यार्थी अध्ययन गर्ने यो विद्यालयमा अहिले ४० जनामात्र छन् । बाँसले बारेर बनाइएको एउटा टहरामा कक्षा तीन, चार र पाँचको पढाइ हुन्छ । तीनवटै कक्षामा एकैपटक अध्ययन गर्दा एकबाट अर्कोमा हल्ला हुने, पढाएको कुरा विद्यार्थीले नबुझ्ने, कक्षाकार्य गराउन अप्ठ्यारो हुनेजस्ता समस्या रहेको उनले बताइन् ।

एउटा कक्षामा पढाउँदा अर्को कक्षाका विद्यार्थीलाई समस्या भएपछि विद्यार्थी पनि अलमलमा पर्ने गरेका छन् । दुवैतिरको पढाइले दुवै कक्षामा असर गरिरहेको छ । बाँसको पातलो बारले कक्षा कोठा छुट्ट्याएको भए पनि त्यसले एउटा कक्षाको हल्ला अर्कोमा जान रोक्न सकेको छैन । तीन कक्षाका विद्यार्थीले चार र पाँच कक्षाको पाठ पनि सुन्छन् । आफ्नै कक्षाको पाठ राम्रोसँग नबुझेका विद्यार्थी अरू कक्षाको पढाइले रनभुल्लमा पर्ने गरेका छन् ।

यसरी पढाउन थालेको पनि डेढ वर्ष भइसक्यो । तर अस्थायी टहरोबाहेक विद्यालयमा कुनै पनि भवन बनेन । फरकफरक कक्षाकोठा बनाउन जिल्ला शिक्षा कार्यालयमा पटकपटक पाल माग गरिए पनि छिट्टै विद्यालयको पक्की भवन बन्ने भनेर कुनै पनि सहयोग प्राप्त नभएको अभिभावकले बताए ।

यो वर्ष तीनवटै कक्षालाई एउटै टहरामा राखेर पढाइए पनि अर्को वर्षदेखि भने विद्यार्थीले नयाँ भवनमा पढ्न पाउने विद्यालयका प्रधानाध्यापक मेनुका तामाङको भनाइ छ । हाल उक्त विद्यालयको पक्की भवन नर्वेजियन राजदूतावासको सहयोगमा निर्माण भइरहेको छ । यो विद्यालयसँगै सेमजोङ गाविसका छवटा विद्यालयका पक्की भवन नर्वेजियन राजदूतावासको सहयोगमा जर्मन विकास सहयोगले निर्माण गर्न थालेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.