भारतीय नोटको प्रतिबन्धले नेपाली भान्सा महँगियो
बर्दिबास (महोत्तरी): भारतले भारु पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाएपछि महोत्तरीको सीमावर्ती गाउँका गृहिणीको भान्सा एक सातादेखि महँगिएको छ ।
महोत्तरीको दक्षिणी क्षेत्रमा पर्ने सम्सी, मठियानी, जलेश्वर, इठर्वाकट्टीलगायत एक दर्जनभन्दा बढी ग्रामीण क्षेत्रका हजारौं बासिन्दाको जीवन महँगिएको हो । उनीहरू महँगीको मारमा छन् । भारतीय बजारमा बढेको महँगीले गरिब तथा विपन्न समुदायको जनजीवन यतिखेर थप प्रभावित बनेको छ ।
यहाँका सर्वसाधारणलाई एक किलो चिनी लिन पनि भारतीय बजार पुग्नुपर्ने बाध्यता छ । सीमा क्षेत्रका बासिन्दा सीमावर्ती भारतीय बजार भिट्ठामोड, कन्माबेला, मधवापुर लगायतका बजारमा नुन, तेल, चामल, दाल, पिठो, चिनी, चियापति जस्ता दैनिक उपभोग्य समाग्रीहरू खरिद गर्न जाने गरेका छन् ।
भारु पाँच सय र हजारको नोटमा भारतले प्रतिबन्ध लगाएपछि दैनिक उपभोग्य सामग्रीको मूल्य ह्वात्तै बढेको छ । ३९ रुपैयाँ भारु प्रतिकिलो पाइने चिनी अहिले भारतीय बजारमा ४६ देखि ५० रुपैयाँमा बिक्री भइरहेको छ । पहिले लिटरको ८० भारुमा पाइने खानेतेलको मोल बढेर ९० रुपैयाँ पुगेको छ ।
५० रुपैयाँमा पाइने चियापत्तीको भाउ ६० रुपैयाँ पुगेको छ भने ७ सय ५० रुपैयाँ भारुमा बिक्ने चामल ८ सय ५० रुपैयाँसम्ममा बिक्री भइरहेको उपभोक्ताहरूले बताएका छन् ।
'भारतकै बजार हामीलाई घरबाट नजिक पर्छ । हामी कन्मा बजारबाटै प्रायः सबै खाद्यान्न र सरसामान किन्छौं । महँगीले गर्दा पहिलेभन्दा अहिले कम सामान खरिद गर्छौं', सीमानजिकैको सम्सीकी गृहिणी सीता यादवले भनिन्, 'महँगीले हाम्रो खानामा लाग्ने खर्च बढ्यो ।'
दैनिक उपभोग्य वस्तुको मनपरी रेट कायम गरेर भारतीय बजारका व्यापारीले नेपाली उपभोक्तासँग असुली गरिरहेको भटौलिया ५ का प्रवीण कर्णले बताए । उनले भने, 'एकातिर भारतीय पसलेहरूले सरसामानको भाउ बढाएका छन् । अर्कोतिर भारु पाँच सयको ७ सय ५० र हजारको १५ सयमात्र मूल्यांकन गरेर उपभोक्तासँग दोहोरो असुलिरहेको छ ।' नेपाली उपभोक्ता दोहोरो मारमा छन् ।
भारतीय बजारमा सामान खरिद गर्ने क्रममा भारु पाँच सय र हजारको नोट दिँदा पूरै रकमको सामान लिनैपर्ने बाध्यता भारतीय व्यापारीहरूले थोपरेको जलेश्वर १५ का उपभोक्ता रामशोभित महतोले बताए । 'समान किनेर बाँकी रुपैयाँ पसलेसँग फिर्ता माग्दा हत्तपत्त दिँदैनन् । दिइहाले पनि भारु सयको नोट फिर्ता नदिई नेपाली पैसा नै दिन्छन्', महतोले भने ।
'भारु पाँच सय र हजारको नोटमा भारतीय सरकारले प्रतिबन्ध लगाएपछि सीमा क्षेत्रका नेपाली बजार पनि प्रभावित भएका छन्', जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष कृपाशंकर साहले भने, 'भारतीय बजारमा व्यापारीहरूले मनपरी गरिरहेका छन् । उपभोक्ता त्यसको मारमा छन् ।'
यतिखेर भारतीय व्यापारीहरूले भारतीय रुपैयाँमा लगाइएको प्रतिबन्धलाई यही हो कमाउने मौका भन्दै बजार कब्जा गरेपछि नेपाली भान्सा प्रभावित बनेको छ ।