उपचार खर्च तिर्न नसक्दा अस्पतालमै अलपत्र

उपचार खर्च तिर्न नसक्दा अस्पतालमै अलपत्र

हेटौँडाः हेटौँडास्थित नापी कार्यालय मकवानपुरमा आगलागी हुँदा घाईते भएकाहरु उपचारखर्च तिर्न नसक्दा अस्पालमा अलपत्र परेका छन् । गत कात्तिक १० गते हेटौँडा ५ स्थित नापी कार्यालयको भाडाको घरमा सहारा ग्याँस सिलिण्डर पड्किएर आगलागी हँदा ३६ जना घाईते भएका थिए । तीमध्ये उपचार खर्च तिर्न नसक्दा पाँच जना घाईते हेटौँडा-११ स्थित चुरेहिल अस्पतालबाट घर फर्कन सकेका छैनन् ।

चुरे हिल अस्पतालको दोस्रो तल्लाको शैयामा आरती बिसंखे छटपटाईरहेकी छिन् । दुबै खुट्टाको अप्रशनपछि उनलाई तीन दिन अघि डाक्टरले घर गएर आराम गर्न भनेका थिए । आफन्तको सहयोगमा अस्पतालको प्रशासनमा पुग्दा उनलाई घर जना दिइएन । 'दुबै खुट्टा अप्रेशन गरेको तीन लाख ५० हजार रुपैयाँ तिर्न नसके यही बस्नु भनेपछि म अस्पतालमै अलपत्र परेकी छु', बिसंखेले रुँदै भनिन्, 'म एकल महिला,यत्रो पैसा कहाँबाट ल्याएर तिर्नु ।'

दुई छोरा छोरीकी आमा ३२ वर्षीय बिसंखेको दश वर्ष अघि नै श्रीमान् बितेका थिए । छुट्टीएर बसेकी उनी भूकम्पले घर भत्किएपछि सरकारले दिने अनुदान लिन जग्गा पास गर्ने क्रममा नक्सा बनाउँन ससुरा दिपकसँगै नापी कार्यालय पुगेकी थिईन् । ससुरा दिपकको पनि देब्रे खुट्टा भाँचिएको छ । बुहारीसँगै उनलाई पनि डाक्टरले घरमा गएर आराम गर्न भनेका छन् ।

'दुई लाख रुपैयाँ बढी पैसा तिर्न सकिएन,त्यसैले अस्पतालको बेडमै बसिरहेको छु', दिपकले भने, 'कसले उपचार खर्च दिने हो, कहाँबाट आउने हो अहिलेसम्म अत्तोपत्तो छैन ।'

दिपक र उनका बुहारीसँगै हेटौँडा ६ का जयराम स्याङ्तान,हेटौँडा ९ का अरुणकुमार जोशी,हेटौँडा २५ का रिना तिमल्सिना पनि उपचार खर्च तिर्न नसक्दा अस्पतालबाट घर जान पाएका छैनन् । 'पैसा हुनेहरु तिरेर गैसके हामीहरु अस्पतालमा बन्धकजस्तै भएका छौं', रिना तिमल्सिनाले भनिन्, 'अस्पतालले घर जान दिँदैन,कस्ले उपचार खर्च तिरिदिन्छ थाहा छैन ।'

अस्पताल प्रशासनले नापी आगलागीका घाईतेहरुको उपचारमा १५ लाख रुपैयाँ बढी खर्च भएको जनाएको छ । 'सहारा ग्याँस कम्पनीले उपचार खर्च ब्यहोर्ने कुरा भएको छ', अस्पतालका प्रशासन प्रमुख रविरमण अधिकारीले भने, 'कम्पनीले पैसा तिर्ने बित्तिकै हामी बिरामीलाई घर पठाउँछौं ।'

सहारा ग्याँस कम्पनीका म्यानेजर महेश गौतमले प्रक्रिया मिलाउँदा केही ढिलाई भएपनि छिट्टै नै उपचार खर्च तिरिदने बताए ।

सरकारी कार्यालयमा आगलागी हुँदा जनता घाईते भएपनि स्थानीय प्रशासनले समन्वयकारी भूमिका नखेलेको भन्दै जिल्लास्थित राजनीतिक दलहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

कर्मचारीको उपचार खर्च कसले बेहोर्ने

आगलागी बेला नापी कार्यालयमा कार्यरत कर्मचारीहरुले भने आफ्नै खर्चमा विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । केही उपचार गरी घर फर्किसकेका छन् भने केही अझै पनि उपचाररत छन् । नापी कार्यालय हेटौँडाका नापी अधिकृत दिलिप कुमार सिंह काठमाडौंको त्रिपुरेश्वस्थित ब्लुक्रस अस्पतालमा उपचाररत छन् ।

ढाडको हड्डी भाँचिनुका साथै खुट्टामा पनि चोट लागेका उनी अहिले चिकित्सकको सल्लाह अनुसार आराम गरिरहेका छन् । सिंहले भने-'अहिले उपचारको क्रममा छु । सुधार हुँदैछ । उपचार खर्च धेरै भएकाले यसको व्यवस्थापन कसरी हुन्छ भन्ने चिन्ता छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.