एभरेस्टले किन्यो श्रीका दुई हेलिकोप्टर

एभरेस्टले किन्यो श्रीका दुई हेलिकोप्टर

काठमाडौंः निजी क्षेत्रको पछिल्लो हेलिकोप्टर कम्पनी एभरेस्ट हेलीले श्री एयरलाइन्सका दुईवटा हेलिकोप्टर खरिद गरी सेवा सञ्चालन गर्ने तयारी गरेको छ । हेलिकोप्टर सेवामा थप हुन लागेको यो नयाँ वायुसेवा कम्पनीले श्री एयरलाइन्सको एएस ३५० बीथ्रीई नामका दुईवटा होलिकोप्टर खरिद गरेको हो ।

हेलिकोप्टर बिक्री गर्ने सम्झौता डेढ महिनाअगाडि नै भैसकेको भए पनि औपचारिक रूपमा स्वामित्व परिवर्तन भने सोमबार मात्रै भएको जानकारी श्री एयरलाइन्सका कार्यकारी अध्यक्ष सुधीर मित्तलले दिए । ‘हाम्रा दुई हेलिकोप्टर एभरेस्ट हेलीले खरिद गरेको छ’, उनले भने ।

एक वर्षअगाडि नै एयरवस हेलिकोप्टरबाट खरिद गरेर ल्याएको नयाँ दुई हेलिकोप्टर श्रीले एभरेस्ट हेलीलाई बिक्री गरेको छ । श्रीसँग चारवटा यस्ता हेलिकोप्टर रहेको भए पनि बाँकी दुईवटा भने नियमित उडानमा छन् ।

बजार मूल्यअनुसार एयरबस हेलिकोप्टरका यस्ता नयाँ हेलिकोप्टर किन्दा एउटाको २५ करोडभन्दा बढी पर्ने भए पनि केही समय सञ्चालन भएकाले प्रतिहेलिकोप्टर करिब २० करोड रुपैयाँमा खरिदबिक्री भएको सम्बन्धित वायुसेवा कम्पनीको भनाइ छ ।

हेलिकोप्टर सेवाको अग्रणी कम्पनी श्रीसँग ६ सिट क्षमताका यस्ता साना हेलिकोप्टर अझै दुईवटा छन् भने एमआई १७ नामका ठूला ६ वटा हेलिकोप्टर छन् । यसका ठूला हेलिकोप्टर दुईवटा अफ्रिकामा, दुईवटा मर्मतमा र दुईवटा भने काठमाडौं विमानस्थलमा नै छन् ।

नेपाली आकाशमा १७ वर्षदेखि हेलिकोप्टर सेवा प्रदान गरिरहेको श्रीले नियमित रूपमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न फिक्स विंग्सका दुईवटा जहाज प्रयोग गर्ने तयारीसमेत गरिरहेको छ ।

यो वायुसेवाले जहाज ल्याएर लामो समय नराख्ने र उडान गर्ने गरी तयारी गरेकाले नेपाल नागरिक उड्डयन प्राधिकरणमा वायुसेवा सञ्चालन अनुमति (एओसी) का निम्ति आवेदन दिएको छ ।

नेपाली आकाशमा १७ वर्षदेखि हेलिकोप्टर सेवा प्रदान गरिरहेको श्रीले नियमित रूपमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न फिक्स विंग्सका दुईवटा जहाज प्रयोग गर्ने तयारी गरिरहेको छ ।

प्राधिकरण स्रोतका अनुसार श्रीको आन्तरिक उडानको वायुसेवाको आवेदन प्रारम्भिक चरणमा नै रहेकाले अनुमति पाउन केही समय पखर्नुपर्ने उल्लेख छ । प्राधिकरणबाट एओसी लिएर सञ्चालनको तयारीमा रहेको यो वायुसेवाले १५ दिनपछि हेलिकोप्टर उडानको योजना बनाइरहेको छ ।

एभरेस्ट हेलीका कार्यकारी अध्यक्ष लाक्पा ग्याल्जेन शेर्पाका अनुसार हेली सञ्चालन गर्न आन्तरिक तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ । प्राधिकरणबाट अनुमति पाउनासाथ एभरेस्ट हेलीले जहाज उडाउने जानकारी पनि शेर्पाले दिए ।

उनका अनुसार तत्काल दुईवटा हेलिकोप्टर सञ्चालन गर्दै गर्ने र आगामी एक वर्षभित्र अर्को एक नयाँ हेलिकोप्टर थप गर्ने योजना कम्पनीको छ । एभरेस्ट हेलीमा शेर्पासहित ६ जना सञ्चालक छन् । अन्य पाँचजनामा पर्वतारोही मिङ्मा शेर्पा, क्याप्टेन निशल केसी, इन्जिनियरत्रय जनक थापा, ईश्वरी लामिछाने र राजेश्वर श्रेष्ठ छन् ।

‘एभरेस्ट हेलीले सोमबार मात्रै श्री एयरलाइन्सका दुईवटा हेलिकोप्टरको स्वामित्व लिएको जानकारी दिएको छ’, प्राधिकरण हवाई सुरक्षा विभागका एक अधिकारीले भने । उनका अनुसार यो वायुसेवाले जहाज खरिद गरिसकेकाले एओसी पाउने अन्तिम तयारीमा रहेको छ ।

अब जहाजको इस्पेक्सन र डेमोस्टेसन फ्लाइटपछि एओसी पाउने पनि प्राधिकरण स्रोतको भनाइ छ । प्राधिकरणका अनुसार यो वायुसेवाले आवश्यक डकुमेन्ट तयार पारेको अवस्थामा एक साताभित्र एओसी पाउनसक्ने पनि उल्लेख छ ।

विगत दुई वर्षदेखि प्राधिकरणले हवाई उडानमा कडाइका साथ नियमन गर्न थालेकाले कुनै पनि वायुसेवाको अनुमति लिन औपचारिक रूपमा आवेदन दिएको कम्तीमा ६ महिना लाग्छ ।

प्राधिकरणका अनुसार आवश्यक मापदण्ड सबै पूरा गर्न नै कम्तीमा यो समय लाग्छ । यो अवधिमा प्रारम्भिक निवेदन, डकुमेन्टेसन, नो अब्जेक्सन लेटर, इन्सपेक्सन एन्ड डेमोस्टेसनका प्रक्रिया पूरा गरेपछि मात्रै प्राधिकरणले जहाजको उडान अनुमति एओसी दिने गरेको छ ।

आन्तरिक उडानमा एभरेस्ट हेली थप भएपछि हेलिकोप्टर सेवा प्रदायकको संख्या नेपाली सेनाकोसहित १० वटा पुग्ने भएको छ । हाल नेपाली आकाशमा सिम्रिक एयर, मनाङ, नेपाली सेना, श्री एयरलाइन्स, फिस्टेल एयर, माउन्टेन हेलिकोप्टर, एयर डाइनेस्टी, प्रभु हेलिकोप्टर र अल्टिच्युट हेलिकोप्टरले सेवा दिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.