अमेरिकी टिमका फुटबल प्रशिक्षक क्लिन्सम्यान पदबाट बर्खास्त

अमेरिकी टिमका फुटबल प्रशिक्षक क्लिन्सम्यान पदबाट बर्खास्त

न्युयोर्कः लगातार टोलीको कमजोर प्रदर्शनपछि अमेरिकी फुटबल संघले राष्ट्रिय टोलीका प्रशिक्षक योर्गेन क्लिन्सम्यानलाई पदबाट बर्खास्त गरेको छ । खासगरी विश्वकप छनोटमा अमेरिकाको कमजोर सुरुआतपछि क्लिन्सम्यानको पद धरापमा परेको थियो । सन् १९९० मा जर्मनीले विश्वकपको उपाधि जित्दा टोलीको सदस्य रहेका ५२ वर्षीय क्लिन्सम्यान सन् २०११ मा अमेरिकाको प्रशिक्षकमा नियुक्त भएका थिए ।

विश्वकप छनोटअन्तर्गत गत साता भएको खेलमा अमेरिकी टोली कोस्टारिकासँग ४—० गोलले पराजित भएपछि क्लिन्सम्यान निकै निराश देखिएका थिए । उनले उक्त हारलाई नमीठो क्षणको रूपमा चित्रण गरेका थिए । त्यसको केही दिनअघि अमेरिकी टोली मेक्सिकोसँग पनि २–१ गोलले पराजित भएको थियो । अमेरिका विश्वकप छनोटअन्तर्गत अन्तिम चरणको प्रतियोगितामा सुरुका दुई खेलमा पराजित भएको यो पहिलो पटक हो ।

‘मलाई विश्वास छ, विश्वकपमा छनोट गराउन हामीसँग स्तरीय खेलाडीको कमी छैन’ , अमेरिकी फुटबल संघका अध्यक्ष सुनील गुलाटीले भनेका छन् । गुलाटीले क्लिन्सम्यानबारे गरिएको निर्णय अत्यावश्यक भएको बताएका छन्।

‘अहिलेसम्म टोलीको लय र स्तरको प्रगतिअनुसार अब फरक दिशामा जानुपर्ने आवश्यकता महसुस ग¥र्यौं’, गुलाटीको भनाइ छ ।
यसअघि अमेरिकी फुटबल टोलीका कप्तान माइकल ब्राड्लीले पनि तत्काल टोलीमा परिवर्तन आवश्यक रहेको बताएका थिए । सन् २०११ को कन्काकाफ प्रतियोगिताको फाइनलमा अमेरिकाले कमजोर प्रदर्शन गरेपछि क्लिन्सम्यानले अमेरिकी टोलीमा बब ब्राड्लीको ठाउँ लिएका थिए । त्यतिबेला फाइनलमा मेक्सिकोले अमेरिकालाई ४–२ गोलले हराएको थियो ।

त्यसपछि क्लिन्सम्यानकै प्रशिक्षणमा अमेरिकाले सन् २०१३ को कन्काकाफको उपाधि जितेको थियो । सन् २०१४ को विश्वकपमा दोस्रो चरणमा पुगेको अमेरिका नकआउट चरणमा बेल्जियमसँग पराजित भएको थियो । सन् २०१५ को कन्काकाफको सेमिफाइनलमा जमैकासँग पराजित भएको अमेरिका कन्फेडेरेसन कपको प्ले अफमा भने मेक्सिकोसँग निराश भएको थियो ।
यसै वर्ष भएको कोपा अमेरिकाको सेमिफाइनलमा अमेरिकी टोली अर्जेन्टिनासँग ४–२ गोलले हारेको थियो ।

उत्तर, मध्यअमेरिका तथा क्यारेबियन क्षेत्रबाट तीन टोली विश्वकपमा छनोट हुने प्रावधान छ भने चौथो टोलीले प्ले अफ खेल्ने अवसर पाउँछ । प्रतियोगितामा ६ टोली सहभागी छन् । अमेरिकाले पहिलो पटक सन् १९९० को विश्वकप खेलेको थियो । त्यतिबेला विश्वकप छनोट प्रतियोगितामा टोलीले कमजोर प्रदर्शन गरेपछि अमेरिकाले प्रशिक्षक परिवर्तन गरेको थियो ।

त्यसयता अमेरिकाले विश्वकप छनोट प्रतियोगिताका क्रममा प्रशिक्षक परिवर्तन गरेको थिएन । अमेरिका जारी विश्वकप छनोट तालिकामा छैटौं तथा अन्तिम स्थानमा छ । ‘हाम्रो आगामी छनोट खेल सन् २०१७ को मार्चमा छ । त्यसैले हामीसँग त्यो खेलका लागि तयारी गर्ने प्रशस्त समय छ’, गुलाटीले भनेका छन्, ‘विश्वकपमा लगातार आठौं पटक छनोट हुन हामीले अब उत्कृष्ट विकल्पको खोजी गर्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.