उपराष्ट्रपति पुन र श्रीलंकाली राजदुतबीच भेट
काठमाडौंः उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ' र नेपालका लागि श्रीलंकाका राजदूत डब्लु एस पेरेरा(Wellage Swarnalatha Perera) ले शिष्टाचार भेट गरेका छन् ।
बुधबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग श्रीलंकाका राजदूत पेरेराले शिष्टाचार भेट वार्ता गर्नु भएको थियो ।
भेटमा उपराष्ट्रपतिले नेपाल र श्रीलंका घनिष्ठ मित्र राष्ट्र भएको बताए । उनले नेपाल र श्रीलंकाको सम्बन्ध जनस्तरसम्म विकास भएको बताए । उपराष्ट्रपतिले लुम्बीनी भ्रमणमा आउने श्रीलंकाका पर्यटकको संख्या वृद्धि हुँदै आउँदा दुई देशबीच जनस्तरसम्मको सम्बन्ध प्रगाढ बन्दै गएको बताए ।
उपराष्ट्रपतिले संविधान जारीपछि नेपालमा लगानीमैत्री वातावरण बनेको बताउँदै विकासमा साझेदारी गर्नुपर्नेमा जोड दिए । उनले भूकम्पपछिको पुनःनिर्माणलगायत विविभन्न क्षेत्रमा श्रीलंकाले सहयोग गरिरहेकोमा धन्यवाद दिए ।
भेटमा श्रीलंकाका राजदूत पेरेराले नेपाल श्रीलंकाका असल घनिष्ठ मित्र राष्ट्र भएको बताए । उनले श्रीलंकालीहरुको लुम्बीनीप्रति विशेष लगाव रहेको बताए । श्रीलंकामा राष्ट्रिय मेलमिलापको वातावरण बन्दै गएको उनको भनाई थियो । राजदूत पेरेराले श्रीलंकाले नेपालको संविधानको पूर्ण समर्थन गरेको बताइन् ।