पुँजी बजार घट्ने क्रम जारी
काठमाडौः पुँजी बजारमा निरन्तर ओरालो लाग्ने क्रम जारी हुँदा नेपाल धितोपत्र बोर्डले बजार अनुगमन सुरु गरेको छ । म्युचुअल फन्ड कम्पनीहरूकै कारण बजार ओरालो लागेको लगानीकर्ताहरूको गुनासो तथा उजुरीका आधारमा बोर्डले त्यस्ता कम्पनीहरूको अनुगमन थालेको हो ।
हाल धितोपत्र बजारमा चलखेल भएको गुनासो आएपछि बोर्डले वास्तविक अवस्था पत्ता लगाउन म्युचुअल फन्ड कम्पनीको अनुगमन सुरु गरेको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । बोर्डले मंगलबार दुई वटा म्युचुअल फन्ड कम्पनीमा अनुगमन गरेको छ भने बुधबार पनि अन्य कम्पनीहरूमा निरीक्षण गर्नका लागि बोर्डका अधिकारी पुगेका छन् ।
उप निर्देशकको संयोजकत्वमा गएको अनुगमन टोलीले ती कम्पनीहरुले कहाँ र कसरी लगानी गरिरहेका छन् र उनीहरुको लगानीयोग्य पुँजी कति छ भनि अध्ययन गर्ने गिरीले बताए ।
म्युचुअल फन्डले सेयर किनेर लगानी होल्ड गरेको र यसले बजारको वातावरण विथोल्न र लगानीकर्ताको मनोबल गिराउन बल पुगेको भन्ने उजुरी आएपछि बोर्डले मंगलबारदेखि छड्के निगरानी सुरु गरेको हो । ठूलो मात्रामा सेयर कारोबारमा व्यस्त रहने म्युचुअल फन्ड कम्पनीहरूले पछिल्लो समय सेयर किनबेच गरेका छैनन् ।
यसै क्रममा लगानीकर्ताले नियामक निकायलाईमात्र नभइ सरोकारवाला सबै निकायलाई घट्दो सेयर बजारको अवस्थाका वारेमा ध्यानाकर्षण गराएका हुन् । घट्दो धितोपत्र बजारकाबारेमा अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकले समेत चासो देखाएका छन् ।
म्युचुअल फन्ड कम्पनीहरूकै कारण बजार ओरालो लागेको लगानीकर्ताहरूको गुनासो छ । चलखेल भएको गुनासो आएपछि बोर्डले वास्तविक अवस्था पत्ता लगाउन म्युचुअल फन्ड कम्पनीको अनुगमन सुरु गरेको छ ।
लगानीकर्ताहरुले साना लगानीकर्ताको सेयर कब्जा गर्ने खेल बन्द गराउन सरोकार वाला निकायहरुसँग आग्रह गरेका हुन् । नेपाल राष्ट्र बैंकले तरलताको समस्या नरहेको र सोे कारण बजार घट्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ भने अर्थ मन्त्रालयले यस विषयमा अहिले केही भन्न नसकिने बताएको छ ।
सेयर बजारमा पहिरो जाने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । बुधबार नेप्से परिसूचक ४२.४६ अंकले घटेर एक हजार पाँच सय ४० दशमलव शून्य एक को विन्दुमा खुम्चिएको छ । बैंक तथा वित्तीय संस्थाले राम्रै त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक गरिरहे पनि बिना कारण ओरालो लागेको नेप्से परिसूचक देखेर लगानी कर्ताको सेयरमा लगानी गर्ने हौसलामा भने ठेस लागेको छ ।
बजारमा सेयर बिक्रीका लागि धेरै आएकोले कारोबार रकममा भने सामान्य अवस्था रहेको छ । बुधबार एक अर्ब ७ करोडको सेयर कारोबार भएको छ । घटबढ हुनु त बजारको सामान्य ट्रेन हो । बजार हल्लाबाट आत्तिएर खासगरी साना तथा मध्यम खालका लगानीकर्ता सेयर बेच्न निकै हतार गरेपछि धितोपत्र बजारमा पहिरो जाने क्रम नरोकिएको हो ।
विगतमा पनि एक हजार एक सय ७५ अंकसम्म पुगेको नेप्से परिसूचक दुई सय ९२ अंकका ओर्लिएको सुनाउँदै गिरी भने ‘अहिले पनि त्यस्तै भएको छ एक हजार आठ सय ८१ विन्दुभन्दा माथि रहेको नेप्से अहिले ओर्लिएर एक हजार पाँच सय ४० अंकमा खुम्चिएको छ । गत आइतबार मध्यान्हमा एक हजार चार सय ८३ अंकमा ओर्लिएर सर्किट ब्रेक लागेको नेप्से पछि सम्हालिएको थियो ।
अहिलेसम्म पनि बजार कता मोडिन्छ भन्न सकिने अवस्था छैन, बजार अन्योलमा छ,' उनले भने ‘ तर पनि यो चाहिँ यथार्थ हो, अहिले नेप्से करेक्सनको फेजमा छ ।' गत बिहीबार चालिस अंकले तल ओर्लिएको सेयर बजार साताको पहिलो दिन आइतबार भयानक पहिरो गएको थियो ।
झन्डै ८० अंकले तल ओर्लिएपछि बजार केहीबेर समालिएको थियो । सोही दिन -आइतबार नेप्से परिसूचक ५८.४६ अंक घटेर १५९९.६२ विन्दुमा ओर्लिएको थियो । सोमबार बजार केही सुधारिएर हरियो देखिए पनि मंगलबार त्यसले निरन्तरता पाउन सकेन । बजार २३ अंकले तल झर्यो ।