मापसे गरेर ट्राफिकलाई ठक्कर दिएपछि...
काठमाडौं: चालकले मादक पदार्थ सेवन (मापसे) गरे/नगरेको जाँच गर्न सडकमा ड्युटीमा बसेका ट्राफिक प्रहरीलाई मापसे गरेर आएका मोटरसाइकल चालकले ठक्कर दिएका छन् । जयवागेश्वरीस्थित सडकमा नियमित जाँचमा बसेका ट्राफिक प्रहरीका हबल्दार सञ्जयकुमार झालाई बा७२प ६७१ नम्बरको मोटरसाइकल चालक दीपेन्द्र गिरीले भाग्न खोज्दा ठक्कर दिएका हुन् ।
मोटरसाइकलमा तीनजना चढेको देखेपछि ट्राफिक प्रहरीले रोकेको थियो । चालकले मापसे गरेको भन्दै कारबाही गर्न खोजेपछि जोरपाटी बस्ने चालक गिरी भागेका थिए । गत आइतबार राति सबा १० बजे भएको घटनामा हबल्दार झाको बायाँ खुट्टाको घुँडामुनि दुई ठाउँमा भाँच्चिएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखामा दरबन्दी रहेर ट्राफिक प्रहरी वृत्त गौशालामा काम गर्दै आएका झाको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकल चालक गिरीलाई प्रहरी वृत्त गौशालाले पक्राउ गरी सवारी अंगभंग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।