दरबार क्षेत्रमा मापदण्ड मिचेर तला थपिँदै
भक्तपुर: विश्वसम्पदा सूचीमा रहेको भक्तपुर दरबार क्षेत्रमा पुरातात्त्विक मापदण्डविपरीत घरको तला थपिएको छ । दरबार क्षेत्रभित्रको ९९ चोक परिसरमा मापदण्डविपरीत चारैतिर जस्तापाता बेरेर नेपाल क्षयरोग निवारण संस्थाले भक्तपुर शाखा कार्यालयको तला थपेको हो ।
तलेजुको मूलचोकसँगै जोडिएको उक्त कार्यालयले तला थप्न नगरपालिकामा नक्सापास गराएको छैन । भक्तपुर दरबार क्षेत्रमा जस्तापाताले बेरेर कुनै संरचना निर्माण गर्न पाइँदैन । घर वा भवनको छानामा समेत जस्तापाता प्रयोग गर्न पाइँदैन । मौलिक नेपाली शैलीअनुसार झिँगटी प्रयोग गरेर छाना छाउनुपर्छ ।
उक्त संस्थाले भने भक्तपुर १३ स्थित आफ्नो कार्यालयमा जस्ताको टहरा बनाएको छ । त्यसमा क्षयरोगका बिरामीको औषधोपचारका लागि डट्स क्लिनिक सञ्चालन गरिएको छ । उक्त टहरामा झ्यालढोकाका चौकोस तथा खापा पनि फलामको हालिएको छ । तर दरबार क्षेत्रमा फलामका सामान प्रयोग गरेर संरचना निर्माण गर्न बन्देज छ ।
भक्तपुर नगरपालिका १३ नं. वडा निरीक्षक रमेश त्वित्वीले उक्त संरचना निर्माण रोक्न पटकपटक ताकेता गर्दा पनि सुनुवाइ नभएको जानकारी दिए । उनका अनुसार गग साउनमै भक्तपुर नपाले उक्त अनियमित र मापदण्डविपरीत संरचना हटाउने निर्णय थियो ।
नगरपालिकाले गत साउन २ गते संस्थालाई पत्र काटेर उक्त अनियमित र मापदण्डविपरीत संरचनाबारे स्पष्टीकरण सोधेको थियो । नपाको पत्र आएपछि साउन ४ गते संस्थाका अध्यक्ष बाबुकाजी साँछे श्रेष्ठले २०७२ सालको भूकम्पले क्षति पुर्याउँदा छाना चुहिएकाले बचाउका लागि उक्त संरचना निर्माण गरिएको लिखित जानकारी गराएका थिए ।