ट्रम्पले गरे दुर्इ पदमा मनोनयन
न्युयोर्कः अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना आलोचक समेत केही महिलालाई नै आफ्नो सहयोगीका रूपमा नियुक्तिका लागि चयन गरेका छन् ।
साउथ क्यारोलिनाकी ४४ वर्षीया गभर्नर निक्की हेलीलाई उनले संयुक्त राष्ट्रसंघका लागि अमेरिकाको स्थायी प्रतिनिधिको रूपमा नियुक्त गरेका छन् । उनले ट्रम्पको प्रस्तावअनुसार राष्ट्रसंघका लागि अमेरिकी स्थयी प्रतिनिधिको मन्त्रिस्तरीय पद स्विकार्ने निर्णय पनि गरेकी छन् ।
भारतीय आप्रवासी परिवारकी हेलीले अमेरिकामा मुसलमानहरूलाई प्रवेश गर्न प्रतिबन्ध लगाउने ट्रम्पको प्रस्तावको चर्को आलोचना गरेकी थिइन् । त्यसैगरी ट्रम्पले वेट्सी डेभोसलाई शिक्षामन्त्रीको रूपमा मनोनीत गरेका छन् । डेभोस स्थानीय सरकारी विद्यालयकी अध्यक्ष थिइन् ।
डेभोसले निर्वाचन अभियानका बेला ट्रम्पले रिपब्लिकन पार्टीको वास्तविक प्रतिनिधित्व नगर्ने बताउँदै ट्रम्पको खरो आलोचना गरेकी थिइन् । दुवै मनोनयनलाई रिपब्लिकन पार्टी नियन्त्रणमा रहेको अमेरिकी सिनेटले अनुमोदन गर्नुपर्नेछ । —रासस/सिन्ह्वा