बार्सा र म्यान सिटी नकआउट चरणमा 

बार्सा र म्यान सिटी नकआउट चरणमा 

लन्डनः प्रशिक्षक पेप ग्वार्डिओलाको वर्तमान क्लब म्यानचेस्टर सिटी र पूर्वक्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरण पुगेका छन् । समूहगत चरणको बुधबार राति भएको खेलमा बार्सिलोनाले सेल्टिकलाई २-० गोलले हरायो ।

जर्मन क्लब मोन्चेनग्ल्याडब्याचविरुद्ध उत्रिएको म्यान सिटी १-१ गोलको बराबरीमा रोकिए पनि अगाडि बढ्न सफल भयो । समूह ‘सी' मा पाँच खेलबाट १२ अंक जोडेको बार्सिलोना भने विजेता बन्दै अगाडि बढ्ने निश्चित भयो ।

समान खेलपछि आठ अंक भएको म्यान सिटी दोस्रो स्थानमा रहँदै उपविजेताका रूपमा नकआउट चरण पुग्ने पक्का भएको हो । तेस्रो स्थानमा रहेको मोन्चेनग्ल्याडब्याचको पाँच अंक छ । तीनवटै टोलीले अब एकएक खेल खेल्न बाँकी छ ।

मोन्चेनग्ल्याडब्याच प्रतियोगिताबाट बाहिरिए पनि युरोपा लिगका लागि भने छनोट भएको छ । सेल्टिकको मैदानमा भएको खेलमा बार्सिलोनाका दुवै गोल लियोनल मेसीले गरे । नेमारको पासमा २४ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका मेसीले ५५ औं मिनेटमा पेनाल्टीमार्फत गोल थपेका थिए ।

मेसी जारी च्याम्पियन्स लिगमा नौ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । दोस्रो स्थानमा रहेका पेरिस सेन्ट जर्मन (पीएसजी) का एडिन्सन काभानीको पाँच गोल छ ।

मेसी युरोपियन च्याम्पियन्स लिगको सर्वकालीन सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा छन् । शीर्ष स्थानमा रहेका रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोभन्दा मेसी केवल तीन गोलले पछाडि छन् । रोनाल्डोको ९५ र मेसीको ९२ गोल छ ।

मोन्चेनग्ल्याडब्याचले म्यान सिटीविरुद्ध सुरुआती अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन । घरेलु मैदानमा उत्रिएको मोन्चेनग्ल्याडब्याचले राफेलमार्फत २३ औं मिनेटमा अग्रता लिएको थियो । म्यान सिटीले डेभिड सिल्भाको गोलमार्फत पहिलो हाफको इन्जुरी समयमै खेल बराबरीमा ल्याएको थियो ।

मोन्चेनग्ल्याडब्याच ५१ औं र म्यान सिटी ६३ औं मिनेटमा १० खेलाडीमा सीमित भएका थिए । म्यान सिटी लगातार चौथो पटक नकआउट चरण पुगेको हो । यसै सिजन म्यान सिटीमा आबद्ध भएका प्रशिक्षक ग्वार्डिओलाले सन् २००८ देखि चार वर्षको कार्यकालमा बार्सिलोनालाई दुई पटक युरोपियन च्याम्पियन बनाएका थिए ।

समूह ‘बी' अन्तर्गतको समीकरण भने रोमाञ्चक बनेको छ । उक्त समूहको बुधबार राति भएको खेलमा नापोली र डाइनामो किभले गोलरहित बराबरी तथा बेसिकटस र बेनफिकाले ३-३ गोलको बराबरी खेले । पाँच खेलपछि बेनफिका र नापोलीको समान पाँचपाँच अंक छ ।

बेसिकटसको सात अंक छ । बेसिकटसको मैदानमा भएको खेलमा बेनफिकाले ३-० गोलको अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन । बेसिकटसका गोन्कालो ग्वेडेसले १० औं, नेल्सन सेमेडोले २५ औं र जुबोमिर फेजसाले ३१ औं मिनेटमा गोल गरे । बेनफिकाका लागि भने सेन्क टोसुनले ५८ औं, रिकार्डो क्वारिज्माले ८३ औं र भिनसेन्ट अबुबाकरले ८९ औं मिनेटमा गोल गरेका थिए ।

अन्य खेलमा साबिक उपविजेता एट्लेटिको म्याड्रिडले जित हात पार्‍यो भने पूर्व विजेता बायर्न म्युनिखले एफके रोस्टोभलाई ३-२ गोलले हरायो । एट्लेटिकोले पीएसभीलाई २-० गोलले पराजित गर्‍यो । आर्सनल र पेरिस सेन्ट जर्मन (पीएसजी) बीच २-२ गोलको बराबरी भयो ।

 

बायर्न, एट्लेटिको, आर्सनल र पीएसजी यसअघि नै नकआउट चरण पुगिसकेका छन् । समूह ‘ए' मा पाँच खेलपछि आर्सनल र पीएसजीको समान ११/११ अंक छ । तेस्रो स्थानमा रहेको लुडोगोरेट्सको दुई अंक छ ।

समूह ‘डी' मा पाँच खेलपछि १५ अंक जोडेको एट्लेटिको विजेता बन्ने पनि निश्चित छ । दोस्रो स्थानमा रहेको बायर्नको नौ अंक छ । तेस्रो स्थानमा आसीन रोस्टोभको चार अंक छ ।

प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा घरेलु मैदानमा उत्रिएको एट्लेटिकोका लागि केभिन गामेरो र एन्टोइन ग्रिजम्यानले एकएक गोल गरे । ग्रिजम्यानको पासमा ५५ औं मिनेटमा गामेरोले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ग्रिजम्यानले ६६ औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए ।

एट्लेटिकोले घरेलु लिगमा लगातार दुई हार व्यहोरेपछि जित हात पारेको हो । आर्सनल र पीएसजीबीचको खेल रोमाञ्चक रह्यो । आर्सनलको मैदानमा भएको खेलमा पीएसजीले १८ औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा ओलिभर गिरोडको पासमा आर्सनल बराबरीमा फर्किएको थियो ।

त्यसपछि आर्सनलले पीएसजीका मार्को भेराट्टीको पासमा ६० औं मिनेटमा अग्रता लियो । तर पीएसजीले पनि आर्सनलका खेलाडीको आत्मघाती गोलमा खेल बराबरीमा ल्यायो । आर्सनलका एलेक्स ल्वोबीबाट ७७ औं मिनेटमा आत्मघाती गोल भएको थियो । रोस्टोभले घरेलु मैदानमा बायर्नविरुद्ध ससक्त प्रदर्शन गर्‍यो ।

रोस्टोभका सर्दार एजमनले ४४ औं, दिमित्री पोलोजले ४९ औं र क्रिस्टियन नोबोवाले ६७ औं मिनेटमा गोल गरे । बायर्नका डगलस कोस्टाले ३५ औं र हुँवा बर्नाटले ५२ औं मिनेटमा गोल गरे । यो सिजन कमजोर प्रदर्शन गरिरहेको बायर्नले घरेलु लिगमा एक हार र एक बराबरीको नतिजापछि च्याम्पियन्स लिगमा यस्तो नतिजा निकालेको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.