बुटवल पावर र एनएमबी क्यापिटलबीच सम्झौता
काठमाडौः बुटवल पावर कम्पनी र एनएमबी क्यापिटल लिमिटेडबीच प्रिमियममा सर्बसाधारणलाई सेयर जारी गर्ने सम्झौता भएको छ ।
बुटवल पावर कम्पनीका ४० लाख ८१ हजार कित्ता साधारण सेयरको निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी बिहीबार सम्झौता भएको हो । सम्झौतामा बीपीसीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठ तथा एनएमबी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् ।
उक्त हस्ताक्षर कार्यक्रममा यस निष्कासनका लागि एनएमबी क्यापिटल लिमिटेडबाट सह निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडकातर्फबाट इशा श्रेष्ठको पनि उपस्थिति रहेको कम्पनीले जनाएको छ ।
उक्त साधारण सेयरको प्रतिसेयर अंकित मूल्य सयमा मुल्यांकनबाट आएको प्रिमियम थप गरी सेयर निष्काशन गरिने कम्पनीले जनाएको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई निष्कासन गरिएको सेयर पूर्ण रूपमा बिक्री नभई बाँकी रहन गएमा सो बाँकी रहेको सेयरसमेत सर्वसाधारणका लागि निष्कासन गरिने सेयर कित्तामा थप हुने जनाइएको छ ।