पतञ्जली आर्युवेद उद्योग राष्ट्रपतिद्धारा उदघाटन
वीरगन्ज ः बाराको प्रसौनीमा स्थापना गरिएको पतञ्जली आर्युवेद उद्योग प्रालिको बिहिबार उद्घाटन गरिएको छ । पतन्जली योगपिठ र गैर आवासी नेपाली संघ ( एनआरएन)का संस्थापक अध्यक्ष डाक्टर उपेन्द्र महत्तोको संयुक्त लगानीमा स्थापना गरिएको उद्योगको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग उदघाटन गरेकी हुन् ।
पतञ्जली आर्युवेद उद्योगले १० महिना पहिला देखि नै उत्पादन गर्दै आएको भएपनि उद्योगको औपचारिक उद्घाटन भने बिहिबार गरिएको हो । उद्योगको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पतन्जली उद्योगको स्थापनाले नेपालको विशेषताका रुपमा रहेका जैविक विविधताताको संरक्षण गर्न सहयोग पुग्ने बताइन् ।
पतन्जली उद्योगका कारण रोजगारीको सृजना र आन्तरिक स्रोतको परिचालनबाट देशका लागि फाईदा मिल्ने उनको भनाई छ । उनले पतन्जली उद्योगको स्थापनाले नेपाल र भारतको बहुआयामिक सम्बन्धलाई अझै प्रगाढ बनाएको जिकिर गरिन् ।
पतन्जली योगपिठबाट नेपालमा भएको लगानीको ढाचा , वैदेशिक लगानी र दुई पक्षिय साझेदारीको नमुना बन्ने राष्ट्रपति भण्डारीको भनाइ छ । उदघाटन कार्यक्रममा बोल्दै योग गुरु बाबा रामदेवले पतन्जली योगपिठले भारतमा जस्तै नेपालमा पनि क्रान्तिकारी परिवर्तन ल्याउने बताइन् ।
पतन्जलीले मानवताको भलाईमा सदैव असल काम गर्ने भन्दै उनले बारामा खोलिएको उद्योगबाट हुने मुनाफा नेपालकै शिक्षा , स्वास्थ्य र कृषिको क्षेत्रमा लगानी गरिने बताए । नेपाल समृद्ध राष्ट्र बनोस भन्ने चाहना आफ्नो रहेको उनले बताए । योग गुरु रामदेवले मधेस, पहाड र हिमाल भनेर नछुट्टी अखण्ड राष्ट्र बनाउन एकजुट हुन आव्हान पनि गरे ।
कार्यक्रममा आचार्य बालकृष्णले नेपाल नरहे नेपाली नरहने भएकोले मुल अस्तित्वको समाप्ती हुन नदिन सुझाव दिए । नेपालको जडिबुटी, शिक्षा र स्वास्थ्यका क्षेत्रमा पतन्जली योगपिठले काम गर्ने उनले बताए ।
उद्योगका संचालक उपेन्द्र महत्तोको अध्यक्षतामा उदघाटन समारोहमा कृषि मन्त्री गौरिशंकर चौधरी, भारतीय राजदूत रन्जित रे, रुसी राजदुत आन्द्रे भुदनिक, पतन्जली योगपीठ नेपालका सन्चालक सालिग्राम सिंह, उद्योगकी प्रबन्ध निर्देशक समता महत्तो , नेपाल उद्योग वाणिज्इ महासंघका कार्यकारीणी सदस्य विजय सरावगी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उद्योगको उद्घाटन गत वर्ष नै गर्ने तय भएपनि भुकम्प र आन्दोलनका कारण सम्भव नभएकाले बिहिबार उदघाटन गरिएको संचालक महत्तोले बताए । उद्योगमा अहिले सम्म एक सय ६० करोडको लगानी भइसकेको भन्दै संचालक महत्तोले उद्योगले पहिलो वर्षमै एक सय करोड रुपैया बारबारको कारोबार गर्ने लक्ष्य लिएको बताए ।
बाराको प्रसौनीमा स्थापित पतन्जली आर्युवेद प्रालि उद्योगको बिहिबार उद्घाटन गर्दै राष्ट्रपति विद्या देवी भण्डारी । तस्वीरः क्रान्ति शाह