चालक र पैदल यात्रुलाई जापानीको चिठी 

चालक र पैदल यात्रुलाई जापानीको चिठी 

काठमाडौः ‘तपाईंको बसमा यात्रु हुन्छन् । उनीहरूको जीवन तपाईंकै हातमा छ । बस यताउता मोड्नुपर्दा धेरै छिटो र बसलाई अनावश्यक एक्कासि नरोक्नुहोस्', यो सुझाव नेपाल घुम्न आएका जापानी नागरिक आकिहिको ताकाचियोले गत महिना बस चालकलाई सम्बोधन गरेर लेखेको चिठीको हो ।

उनले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई सम्बोधन गरी बुझाएको पत्रमा लेखिएको छ, ‘बस चालक, तपाईंले होस गर्नुभएन भने यात्रुहरूलाई बसभित्र ठोक्किएर वा लडेर हातखुट्टा भाँचिन वा शरीरमा चोट लाग्न सक्छ ।'

ताकाचियोले बस चालकलाई दिएका सुझावमध्ये दोस्रोमा चर्को आवाजमा हर्न नबझाउनसमेत आग्रह गरिएको छ । ‘जहाँ ट्राफिक जाम हुन्छ, त्यहाँ ठूलो आवाजले हर्न बझाउनुहुन्छ ।

अरूले पनि तपाईंकै सिको गर्छन् तर खतराको अवस्थामा अरूलाई जानकारी दिनबाहेक हर्न बझाउनु गलत हो', पत्रमा उल्लेख छ, ‘सडकमा सुरक्षित यात्रा गर्न छुट्टै लेनमा बस चलाउन हार्दिक कामना गर्दछु ।'

बसमा चढ्दा ढिलो हुने भएकाले अधिकांशले मोटरसाइकल प्रयोग गर्ने गरेको समेत उनले चिठीमा उल्लेख गरेका छन् । ‘तपाईं यात्रुलाई सकेसम्म सुरक्षित र छिटो गन्तव्यमा पुर्‍याउन कोसिस गर्नुहुन्छ ।

तर दायाँबायाँबाट मोटरसाइकलले बाटो छेकेर बाधा पुर्‍याउँछन् । यसकारण तपाईं ट्राफिक जाममा फस्नुहुन्छ र धेरैजसो ढिला हुन्छ', ताकाचियोले बस चालकलाई लेखेको पत्रमा उल्लेख छ ।

नेपाली भाषा सिक्दै गरेको उल्लेख गर्दै उनले बसमा अंग्रेजी भाषामा रुट नलेखेको र भीडभाड एवं सुरक्षित नहुने भएकाले पर्यटकले ट्याक्सी चढ्नुपरेको समेत बताएका छन् । पहिलोपटक गत असोजमा नेपाल आएका उनले पैदलयात्रीलाई समेत सम्बोधन गरेर अर्को पत्र लेखेका छन् ।

‘एक दिन एउटी बहादुर महिला जेब्राक्रसबाट होइन, अर्को ठाउँबाट बाटो काट्दै थिइन् । उनले जादुजस्तै गरेर सबै गाडीलाई हातले रोक्दै बाटो काटिन् । मैले उभिएर त्यो अवस्था हेरिरहें । तर मैले त्यसो गर्न सकिनँ । तपाईं त्यसो गर्न सक्नुहुन्छ ? ' पत्रमा भनिएको छ ।

उनले पैदलयात्रीलाई जेब्राक्रसबाट मात्रै बाटो काट्न अनुरोध गरेका छन् । ‘कृपया जेब्राक्रसबाट मात्रै बाटो काट्नुहोस् किनभने ‘स्पिड' मा भएको गाडीलाई अचानक रोक्न सकिँदैन ।

त्यस्तो अवस्थामा ड्राइभरले तपाईंलाई चलिरहेको केही वस्तु मात्रै देख्न सक्छ । उसैले वा अर्को गाडीले तपाईंलाई ठक्कर दिन सक्छ', उनले भनेका छन् । पैदलयात्रीलाई बाटो काट्दा दाहिनेतर्फको भाग प्रयोग गर्नसमेत उनले सुझाएका छन् ।

ताकाचियोले यसअघि ट्याक्सी चालकलाई समेत पत्र लेखेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका डीएसपी सविन प्रधानले दिए । महाशाखासँगै अन्य ट्राफिक प्रहरी युनिटले दैनिक विभिन्न कसुरमा औसतमा दुई हजारभन्दा बढी चालकलाई कारबाही गर्दै आएको छ ।

‘सार्वजनिक सवारीसाधनका चालकलाई पनि बेलाबेलामा सचेतना कक्षा लिँदै आएका छौं', उनले भने, ‘पैदलयात्रुले जथाभाबी बाटो काटेपछि उनीहरूलाई कार्यस्थलमै कक्षा लियौं तर अझै परिवर्तन आउन सकेको छैन । जबसम्म व्यक्तिमा आफैं परिवर्तन वा चेतना आउँदैन तबसम्म लापरबाही रोकिँदैन ।'

महाशाखामा जापानी नागरिक ताकाचियोले पत्र ल्याएर बुझाएपछि ट्राफिक प्रहरी अधिकृतहरू अचम्ममा परेका छन् । एक महिना नेपाल बसाइका क्रममा सडकमा देखेको बेथिति केलाएर आफैंले पनि ट्राफिक नियम पालना गरेकोमा महाशाखाले उनलाई धन्यवादसमेत दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.