नगरकोटी अर्थात् एक शून्य
पाटन बालकुमारी मन्दिरछेउको प्राचीन गल्लीमा अवस्थित एक कोठा (आफ्नो कोठालाई उनी गुफा भन्न रुचाउँछन्) मा मंसिरको चिसो बिहानीमा पनि गन्जी मात्रै लगाएर नयाँ किताब पढिरहेको चिन्डो टाउको नगरकोटीको हो । बजारमा उनी कुमार नगरकोटी नामले प्रख्यात एवं कुख्यात छन् । हुलाक बक्समा विभिन्न लेखकको ठेगानामा लेखेका पत्रहरू खसालेर साहित्यलोकमा उत्रेका नगरकोटी अचेल अनेकौं अवतारमा भेटिन्छन् । काठमान्डुमा केही महिनाअघि 'घाटमान्डु' लिएर आएका उनी यहीबिचमा फिल्म खेल्न व्यस्त भए । केही समयपछि सिल्भर स्क्रिनमा उनको आफ्नै अन्दाजको हुलिया भेटिनेछ । नगरकोटीको 'गुफा'मा पस्दा उनी आफ्नो भ्रूणावस्थामा रहेको उपन्यासिका 'ज्ञ'को अन्तिम ड्राफ्ट सुम्सुमाउँदै थिए । उनीसँग दीपक सापकोटाले गरेको र्यान्डम वार्ताः
'घाटमान्डु'को अदर एडिक्सन च्याप्टरमा कविताहरू छन् - केही नेपाली र केही उर्दु मिक्स्ड हिन्दी । मैले तपाईंका अंग्रेजी कविता पनि डायरीमा पढेको छु । यसरी अनेक भाषामा इन एन्ड आउट गर्नुहुन्छ । फगत एउटा भाषाले मात्र काम दिएन ?
- नगरकोटीको पहिलो प्रकाशित कविता नै अंग्रेजीको थियो- 'सरी बुद्ध आई क्यान नट फलो यु' शीर्षकको, ब्याक इन नाइन्टिन नाइन्टी नाइनमा । उसको निम्ति सायद भाषा गौण थियो । बरु एक्स्प्रेसन मूल्यवान्, महत्वपूर्ण थियो । भनिन्छ, आतंकवादको कुनै भाषा हुँदैन, धर्म हुँदैन । पोयट्री पनि सायद आतंकवादको कन्सेप्टसित म्याच गथ्र्यो । विभिन्न भाषाका, देशका, टाइम एन्ड स्पेसका कविहरूले नगरकोटीको मनमस्तिष्कमा क्रिएटिभ आतंक फैलाएका थिए ।
काव्यवाचनको लागि मात्र भए पनि नगरकोटीलाई के लाग्थ्यो भने ऊ कुनै दिन स्पेनिस भाषा सिक्नेछ । केही समयअघि जयपुरको सुफि फेस्टिभलमा उसले हिन्दी र अंग्रेजी कविता वाचन गर्यो । ऊ त चाहन्छ- जर्मनी जाँदा जर्मन भाषामा, फ्रान्स जाँदा फ्रेन्चमा, इरान जाँदा पर्सियनमा, इटाली जाँदा इताल्वी भाषामा आफ्नो कविता वाचन गर्नेछ । नेवारी, मैथली, भोजपुरी भाषामा पनि ऊ आफ्नो कविता गाउन चाहन्छ ।
कस्ता कविहरूले तपाईंलाई प्रभावित गरे ?
- एमिली डिकिन्सन, टि.एस.इलियट, एज्रा पाउन्ड, पाब्लो नेरुदा, गिन्सवर्गहरूलाई प्रेम गर्दै नगरकोटी जवान भएको हो । ती कवि उसको जीवनका झर्ना थिए । जहाँ गएर ऊ आफ्नो काव्य-तिर्खा-मेट्थ्यो । कालान्तरमा त्यो झर्ना बच्चन, गुलजार, खड्ढ्याम, देवकोटा, भूपी, ईश्वरवल्लभ, वैरागी काइँला, खलिल जिब्रान, व्हिटम्यान इत्यादिको संगतले नदी बन्यो । अन्त्यमा त्यो नदी बासो, चुआङ त्जु र रुमीको सागरमा गई मिसियो । जब-जब उसलाई पोयट्रीको प्यास लाग्छ ऊ त्यो सागरमा रित्तो कमण्डलु बोकी जाने गर्छ । काव्यम् देही, काव्यम् देही भन्दै पोयट्रीको भिख माग्छ ।
कविहरूप्रति तपाईंमा किन यतिविघ्न अनुराग ?
- किनभने कविहरू नै संसारका असल नागरिक हुन् । दे आर द मोस्ट ब्युटिफुल ह्युमन बिइङ्स अफ् दिस गोलमाल जगत् ।
पछिल्लो पटक तपाईंले पढेको सुन्दर कविता संग्रह कुनै छ कि ?
- जरूर छ माई फ्रेन्ड । कथापोयट्स क्याफे नामक भारतीय प्रकाशकले निकालेको हार्डबाउन्ड 'तामिल न्यु पोयट्री'को के. एस. सुब्रमन्यमद्वारा अनुदित एन्थोलजी । बासोको 'द न्यारो रोड टु द डीप नर्थ एन्ड अदर ट्राभल स्केचेस्' र बुद्धिसागरको 'फिरफिरे' ।
फिरफिरे ?
- यस माई डियर कमरेड । तपाईं यसरी चकित नपर्नुस् । मलाई लाग्छ, 'फिरफिरे' एउटा सुन्दर कवितासंग्रह हो । यो किताबको कुनै पनि पाना पल्टाउनुस्, तपाईं त्यहाँ कविता भेट्नुहुनेछ । र, तपाईंलाई कुन मामपाखा बज्रस्वाँठले भन्यो कि कविता केवल कवितासंग्रहमा मात्रै भेट्टाइन्छ । संसारका धेरै सुन्दर कविता तपाईं उपन्यास तथा आख्यानहरूमा भेट्न सक्नुहुन्छ ।
विडम्बना हेर्नुस् । कहिलेकाहीँ कस्तो भइदिन्छ भने कवितासंग्रहभित्र बरु कविता पाउन गाह्रो हुन्छ । कविताको सट्टा नाराबाजी भेटिइने सम्भावना हुन्छ । र, मलाई लाग्छ कवितामा नाराबाजी गर्नुभन्दा कुनै शिशुसित ताली बजाउँदै 'ताराबाजी लै लै' गाउनु मानसिक स्वास्थ्यको लागि अति उत्तम हो । त्यसैले माई दोस्त, कहिलेकाहीँ कविता अन्तै कतै भेटिइन्छ । नित्सेका दार्शनिक पुस्तकहरूमा, दोस्तोयव्स्की, गोर्की र लुसुनका आख्यानहरूमा । जसरी माओ त्से तुङको निबन्ध पढ्दै गर्दा बीचैमा कतै फ्याट्ट एउटा पंक्ति भेट्नुहुन्छ - रिभोलुसन इज नट अ डिनर पार्टी ।
-कविहरू संसारका असल नागरिक हुन् । दे आर द मोस्ट ब्युटिफुल ह्युमन बिइङ्स अफ् दिस गोलमाल जगत ।
कविता तपाईंको प्रथम प्रेम । तर, साहित्यका अरु विधासित तपाईंले एक्स्ट्रा मरिटल अफेयर्स चलाउनुभयो । कवितालाई किन छाड्नुभयो ?
- पेरिस रिभ्युको एउटा अन्तर्वार्तामा ओह्रान पामुकले बडो गजबका कुरा गरेका छन् । उनी भन्छन्, 'कवि यस्तो मानिस हो जोमार्फत् ईश्वर बोल्छन् । मलाई लाग्यो, ईश्वर मसित त्यति कृपालु भइरहेका छैनन् । ऊनी ममार्फत बोलिरहेका छैनन् । त्यसैले मैले कविता लेख्न छाडेँ र उपन्यास लेख्न थालें ।' जहाँसम्म नगरकोटीको प्रसंग छ, उसको ईश्वर त उहिल्यै मरिसकेको थियो । मृत ईश्वरले ऊसित बोल्ने कुरा भएन ।
तर, जब जब उसलाई काव्य-प्यास लाग्छ एउटा रित्तो कमण्डलु लिई भिक्षां देही, भिक्षां देही भन्दै अघि भर्खरै हामीले कुरा गरेको काव्य-सागरमा ऊ जान्छ । कमण्डलुमा जल भर्छ । त्यो जल दैवसन्जोगले यदि मसी बन्यो भने आख्यान लेख्छ र यदि आँशु बन्यो भने कविता कोर्छ । कमन म्यान, नगरकोटी यदाकदा पोयट्री लेख्छ ।
'घाटमान्डु'मा समावेश गरिएका 'आयुचोर', 'निद्रा', 'लेखकहरू जेलमा छन्', 'जादुगर', 'स्कुल ब्याग', 'पर्पल', 'एटीएम बुथ', 'सियस्ता क्लब'जस्ता नवसंरचना धारका कथाहरू पढ्दा मलाई के लाग्यो भने नेपालमा लेखिँइदै गरेका कथाख्यान प्रति तपाईंभित्र तीव्र अरुचि र असन्तुष्टि छन् !
- पछिल्लो एक दशकभित्र प्रकाशन गृहको उपस्थिति उत्साहपूर्ण रह्यो । साहित्यका नव पाठकहरूको उत्सवपूर्ण जमात तयार हुँदै पनि गयो । पत्रपत्रिकाहरूमा साहित्यले आफ्नो स्पेस क्रिएट पनि गर्यो । साहित्यको यस्तो अभूतपूर्व ल्यान्डस्केप देख्दा नेपाली कथाआख्यानमा मैले ठूलो सम्भावना देखेको थिएँ । त्यो सम्भावना भनेको कथाआख्यानमा नवीनताको, प्रस्तुतिको, क्राफ्टको, शैलीको, प्रयोगको तथा लेखकीय नीजत्वको । तर, त्यस्तो केही भएन । यो बडो आश्चर्यलाग्दो तर गम्भीर तथ्य र यथार्थ हो ।
यो विषयलाई लिएर म सदा चकित परें । विश्वसाहित्यसित नेपाली कथाआख्यानले किन कम्प्यारटिभ स्टडिज नगरेको होला ? किन अपडेट्स नगरेको ? विश्वसाहित्यसित नेपाली साहित्यले किन सत्संग अभ्यास नगरेको ? यस विषयमा नारायण ढकालको चिन्ता मलाई ज्यादै जायज लाग्छ । उनी बारम्बार यस्तो प्रश्न नेपाली साहित्यलाई सोधिबस्छन् ।
नेपाली कथाआख्यानको जुन पुरातन अनुहार छ, त्यसमा अब कुनै आकर्षण बाँकी छैन । त्यो अनुहारमा यति ढुसी, खिया, लेऊ, धुलो जमिसकेको छ कि सम्झदा नै उदेक लाग्छ । लेखक, स्रष्टाहरू आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्कनै चाहेनन् । वर्षौंदेखि तपाईं एउटै ढर्रामा, सुत्रमा कथा भनिरहनुभा'छ जुन उदेकलाग्दो, नाउसियाटिक मात्र छैन दुःखदायी र दयनिय पनि छ ।
माता श्रीको काखमा दन्त्यकथा प्लस लोककथा सुनेर हुर्केको स्रष्टा यतिञ्जेलसम्म त परिपक्व भइसकेको हुनुपर्ने थियो । कम्युनिष्ट राजतन्त्रको निर्मम अभ्यास गर्ने मुलुक नर्थ कोरियाजस्तो नेपाली लिट्रेचर पनि विश्वसाहित्यको सिनारियोदेखि यति अलुफ, एलिएनेटेड र सम्बन्धविच्छेदको अवस्थामा पुग्न अवश्य पनि अभिषप्त त नहोला । कथा या फिक्सन हन्टिङमा हामी धनी त अवश्य भयौं तर कथालाई व्यक्त गर्ने कला, शिल्प र नवीनतामा दरिद्र नै रह्यौं । लिट्रेरी इनोभेसन गर्नमा हामी गएगुज्रेका आदिम मानव नै रह्यौं । हामी सो-कल्ड साहित्यिक या साहित्यकार त अवश्य पनि भयौं तर हाम्रो साहित्यिक साक्षरता शून्यको शून्य रह्यो । बालकृष्ण समले भन्नुभा'झैं - म शून्यमा शून्यसरि बिलाएँ ।
तपाईंका कथाका पात्रहरू तपाईंझै अथवा तपाईंका कथाझैं अनौठा, अजीबोगरिब हुने गर्छन् । तर, तपाईंले आजसम्म कुनै सरकारी पात्रलाई कथामा ल्याउनु भएन नि !
- कुरा ज्यादै सिम्पल छ । किनभने संसारको कुनै पनि सरकार मलाई मनपर्दैन ।
यो त अलि अराजक विचार भएन र ?
- नाउ माई डियर पासा ! हु द हेल केयर्स ?
कथा, उपन्यासमा आफ्ना पात्रहरूको नाम पनि तपाईं अनौठो राख्नुहुन्छ- ऋग्वेद, कफिना, मोक्षानन्द, म्याडम फेब्रुअरी, आचोमा, सिमसारा इत्यादि । 'कोरागाउँका किरियापुत्री' नामक तपाईंको पछिल्लो कथामा त एउटा यस्तो काल्पनिक गाउँ छ जहाँ सम्पूर्ण गाउँलेहरूको नाम नै 'क' अक्षरबाट सुरु भएको छ । सेक्सपियर भन्थे - नाममा त के छ र मनुवा ? तर, तपाईं सेक्सपियरलाई बाल नदिएर नाममै जोड दिइरहनुभएको हुन्छ !
- मलाई लाग्छ, पात्रका नामहरू विशेष हुनुपर्छ । नामले पात्रको पात्रता र चरित्र बोक्छ । 'आयुचोर' नामक कथामा तपाई वैश्विक नामहरू भेट्नुहुन्छ । दुइटा लेखकहरूको बीचमा महाभारतका पात्र राखेर क्यारेक्टरहरूको न्वारान गरिएको छ । महाभारतका पात्रहरूको नाम मलाई किन मनपर्छ भने उनीहरूको थर या सरनेम या भनुँ जातलाई किञ्चित महत्व दिइएको छैन । मनुष्यको तथाकथित थर, जात, गोत्र, धर्म इत्यादिले मलाई सदा दिक्क पार्छ ।
घटोत्कचको पछाडि कोइराला झुन्ड्याएमा कति एब्सर्ड सुनिन्छ, होइन ? धृतराष्ट्रप्रसाद ओली ! गान्धारीदेवी भण्डारी ! शकुनीकमल दाहाल इत्यादि ! हाउ फन्नी ! इजन्ट इट ! अझ भन्नुस्, दुशासनबहादुर देउवा ! तपाईं जरासन्ध सापकोटा र म बर्बरिक नगरकोटी !
एनी वे ! थर, गोत्रको यो प्रसंग तपाईंले अन्तर्वार्ताबाट हटाइदिए पनि हुन्छ । जेहोस्, म 'आयुचोर'को कुरा गर्दै थिएँ । त्यहाँ लेडी पात्रको नाम छ - सिमोन द पाञ्चाली प्लाथ । त्यो पात्र फ्रेन्च लेखिका सिमोन द बउवार, पाञ्चाली र सिल्भिया प्लाथको कुल योग हो । खालिद होसेनी, शान्तनु र हारुकी मुराकामीबाट बनेको छ पर्पल सिटीको मेयरको नाम खलिद शान्तनु मुराकामी । त्यसैगरी पाब्लो बकासुर गिन्सबर्ग अर्थात् पाब्लो नेरुदा, बकासुर र अलेन गिन्सबर्गको एकमुष्ट पात्रता । त्यसैले, आख्यानमा पात्रको नामले धेरै कुरा बोल्छ । जस्तो कि कफिना ! नाटक 'कोमाः अ पोलिटिकल सेक्स'की पात्र ।
यो नामले तपाईंलाई एउटी सुन्दर युवतीको कल्पना या सम्झना दिलाउन सक्छ जो कफी झैं डेलिसियस, स्वादिलो छे । अ डेलिसियस लेडी, यू सी ! तात्तातो ब्ल्याक कफीझैं मगमग वास्नायुक्त एक ब्ल्याक ब्युटी ! अर्थात् कफिना ।
आजसम्म तपाईंले लेखेमध्ये उत्कृष्ट कथा कुन हो ?
- त्यस्तो उत्कृष्ट कथा मैले आजसम्म लेख्या छैन । उत्कृष्ट कथा लेखेपछि निकृष्ट कथा पनि लेख्नुपर्ने हुँदो हो । हेर्नुस् प्रिय पासा ! यो गुफामा अहिले धुपबत्तीको मगमग बास्ना छरिएको छ । न्यानो घामको कलिलो किरण कार्पेटमा ओच्छिएको छ । चराका चिरबिर चिरबिर मृदुल गुञ्जन भित्तामा गुञ्जिरहेको छ । यस्तो सुन्दर बिहानमा अब कहाँ उत्कृष्ट र निकृष्ट कुरा गर्ने ! बरु मनप्रिय गुफ्तगु पो गर्ने त !
तपाईंको मनप्रिय कथा कुन हो ?
- सुफियाना ।
ओके ! 'सुफियाना'कै कुरा गरौं । यो कथामा तपाईंले विभिन्न पाँच देशका सहरहरू चित्रण गर्नुभएको छ- हेलसिन्की, बार्सिलोना, उलानबटार, अजरबैजानको बाकु र काठमान्डु । पात्रहरू पनि तिनै सहरका विदेशी छन् जस्तै बालजार जाकोला, फिनल्यान्डको मूर्तिकार । थियागो रोद्रिगेज, स्पेनको बूढो कवि जो मृत्यु कुरेर बसेको छ । र, अजरवैजानको पेन्टर कामिल बार्तोक लुकानिन । ती सब वास्तविक पात्र हुन् जस्तो त मलाई लाग्दैन !
- अफकोर्स, ती वास्तविक होइनन् । दे आर अल माई इम्याजिनेसन व्हिच आई इम्याजिन्ड इन दिस गुफा । तर, ती अवास्तविक पनि होइनन् । तपाईंले क्रियट गर्ने पात्रहरू फिक्सनका वास्तविक चरित्रमा मेटामर्फोज्ड हुने गर्छन् ।
आख्यानको सौन्दर्य यही हो । सकम्बरी काल्पनिक पात्र हो ग्रेगर साम्साझैं तर ती दुवै 'शिरीषको फूल' र 'मेटामर्फोसिस'का वास्तविक चरित्र हुन् । जसरी प्रेमललवा 'उलार'को वास्तविकता हो । म शेरलक होम्सको एड्भन्चर पढ्दै हुर्केको मान्छे । शेरलक होम्स क्रियट गर्ने स्कटिश लेखक अर्थर कोनान डायलको नाम अक्सर म बिर्सिइरहन्छु । तर, शेरलक होम्स ! म बिर्सनै सक्दिनँ । साहित्यमा कहिलेकाँही पात्रहरूले लेखकलाई जोगाउँछन्, बचाउँछन् । 'लोलिटा'ले नाबोकोभलाई बचाएझैं, 'अन्ना करेनिना'ले टोल्सटोयलाई बचाएझैं । 'मोदी आइन'ले कोइरालालाई बचाएझैं । 'गौरी'ले घिमिरेलाई बचाएझैं । मनुष्यले क्रिएट गरेको पवित्र पात्र जसलाई दानवहरूले ईश्वर भन्छन् त्यही ईश्वरले मनुष्यलाई बचाएझैं ।
त्यस्तो कुनै मनप्रिय पात्र छ जसलाई तपाईं सम्झन चाहनुहुन्छ ? आफ्नै मनप्रिय पात्र ?
- नगरकोटीको आगामी नोभेल्ला अर्थात् उपन्यासिका 'ज्ञ'मा एउटा पात्र छ - तथागत स्वप्नदर्शी । फ्रिलान्स फोटोग्राफर जो सहरमा स्मोक-हन्टिङ गर्न घरबाट निस्कन्छ, हार्लि डेभिड्सन चढेर । धुवाँका अड्डाहरूमा फोटोग्राफिक छापा मार्दै जो डुलिहिँड्छ र एउटा अकल्पनिय घटनाको रहस्यमय जञ्जालले जसको जीवन, नियति र जगत नै अपसाइड डाउन हुन्छ । तथागत स्वप्नदर्शीलाई नोभेल्लामा आविष्कार गर्दै गर्दा, उसबारे चिन्तन, मनन वा लेख्दै गर्दा बारम्बार कस्तो महसुस भइरहन्थ्यो भने म कतै अज्ञात संसारमा जाउँ र एउटा अपरिचित गुमनाम जिन्दगी बाँचु । टु हेल विथ नगरकोटी ।
नगरकोटीको एउटा अवतार अनुवादकको थियो । अनेक नेपाली लेखकहरूलाई तपाईंले ट्रान्सलेट गर्नुभएको थियो । त्यो ट्रान्सलेटरको मृत्यु भएको हो ?
- ट्रान्सलेटर इज नट अ ब्युटिफुल वर्ड । यसको अर्थ दोभासेजस्तो सुनिन्छ । तर, म ट्रान्सक्रियट गर्न रुचाउने मनुवा हुँ । ट्रान्सक्रियसनको नेपाली 'अनुवाद'के हो मलाई थाहा छैन । त्यसको मिनिङ तपाईं अभि सुवेदीलाई सोध्नुस् । म आफ्नै रुचिले त्यसमा लागेको हुँ । सुन्दर रचनाहरू ट्रान्सक्रियट गरुँ भन्ने मनको सदिच्छा हो । श्रवण मुकारुङ, रमेश क्षितिज, ईश्वरवल्लभ, मोहन कोइराला, बुद्धिसागर, अविनाश श्रेष्ठ, मोमिला इत्यादि स्रष्टाहरूका कविता गरें ।
मोमिलाको निबन्धसंग्रह गरें । केहि समय अघि मात्रै श्रवण मुकारुङ गुफामै आउनुभयो । उहाँका लेटेस्ट कवितालाई अनुवाद गरें । त्यो अवतारी अनुवादकको मृत्यु भइसकेको छैन । एउटा ईच्छा चाँहि छ, एउटा अंग्रेजी ट्रान्सक्रियटेड पोयट्रीको किताब निकाल्ने, जो म बाँचेको समयमा कविता लेखिरहेका छन् । समकालीन कविहरूको । र, एउटा चाँहि कथासंग्रहको । मैले प्रेम गरेका विश्वभरका सेलेक्टेड लेखकको । हेरौं के हुन्छ ! लेट्स सी ।
-जब मलाई काव्य-प्यास लाग्छ, रित्तो कमण्डलु लिई भिक्षां-देही, भिक्षां-देही भन्दै काव्य-सागरमा जाने गर्छु । कमण्डलुमा जल भर्छु । त्यो जल दैवसन्जोगले मसी बन्यो भने आख्यान लेख्छु र आँसु बन्यो भने कविता कोर्छु । कमन म्यान, म यदाकदा पोयट्री लेख्छु ।
आफ्नै कथा, रचना, उपन्यासचाहिं ट्रान्सक्रियट नगर्ने ?
- आफँलाई बढी भाउ दिनुहुँदैन । नाऊ हुद द हेल केयर्स अबाउट सो-कल्ड नगरकोटी । टु हेल विथ हिम ।
कुमार नगरकोटीले एउटै जुनीमा आफूलाई विभिन्न क्षेत्रमा फैलाउँदै एक्स्पेरिमेन्ट गर्यो र सबै प्रयोगमा एउटा नितान्त भिन्न सिग्नेचर ब्राण्ड क्रिएट गर्यो !
- (बीचैमा) ब्रान्ड होइन पासा, ब्रम्हाण्ड भन्नुस् ! आई वन्ट टु क्रिएट माई ओन बह्माण्ड । लिट्रेरी ब्रह्माण्ड, यू सी ! एउटा त्यस्तो ब्रह्माण्ड ह्वेर यु क्यान फाइन्ड फिक्सन, नन् फिक्सन एन्ड अदर एडिक्सन्स ।
यसरी सबै क्षेत्रमा प्रयोग गर्दै हिँड्दा असफल भइएला भन्ने चिन्ता लाग्दैन ?
- असफलताको चिन्ता लाग्दो हो त चितामा उहिल्यै आफ्नो दाहसंस्कार गर्दो हुँ ।
तपाईंको गेट-अप, लुक्स र जीवनशैली हर्दा जोगीको जस्तो लाग्छ ।
- जोगी लुक्स र गेट-अपमा होइन माई फ्रेन्ड, मनमा हुन्छ । डोन्ट गो आफ्टर माई वस्त्रज । लुक याट माई मन । लुक याट माई सोल ।
तपाईंका जोगी किस्साहरू रोचक छन् । केही सेलेक्टेड प्रसंग याद गर्नुस् न !
- आजकल म प्रायः यो गुफामै बसिरहन्छु । किताबहरू पढ्छु । चिन्तनमनन गर्छु । फिक्सनका प्लटहरूबारे घोत्लिन्छु । 'एनिग्मा'को म्युजिक र 'द कार्पेन्टर्स ब्यान्ड'का कन्ट्री संग्स सुन्छु । कहिलेकाहीं सहर पस्छु डिभिडी र किताबहरू किन्न । थिएटरमा नयाँ नाटक लाग्या छ भने उत्सव मनाउन जान्छु । यस्तो बेला बाटोघाटोमा अपरिचितहरू भेट्छु जो मलाई 'बाबाजी', 'स्वामीजी' ठानिदिन्छन् । मेरो लुक्स र गेटअपले त्यस्तो भ्रम क्रिएट गर्दोरहेछ । कसैले मलाई म्याडम्यान भन्छन्, कसैले गुण्डा । ओके, इट्स फाइन भन्छु ।
झरीमा मस्तसित भिज्दै हिँड्दा एकदिन मलाई एउटा भलाद्मीले मोटरसाइकलमा लिफ्ट दिए । उनलाई म बुद्धिस्ट भिक्षुजस्तो लागेछ । भन्न थाले - गुरु, तपाईंलाई कहाँ ड्रप गरिदिऊँ । मैले भनें - मेरो बाटो फरक छ । आज म तपाईंको बाटो हिँड्छु । तपाईंलाई जहाँ सुविधा लाग्छ त्यहीँ ड्रप गरिदिनुस् । शंखमुलको पुलबाट पाटनका भित्री गल्ली हुँदै उनले मलाई लगनखेलको मानसिक अस्पतालनेर छाडिदिए । उनी महालक्ष्मीथानतिर हुइँकिए । जाँदाजाँदै भने - गुरु, राम्रोसित जानुस् । मैले तपाईंको कल्याण होस् भनें । तर, भलाद्मी गइसकेपछि म ठूलो दुविधामा परें - म जाने चाँहि कहाँ हो ? घर या मानसिक अस्पताल ?
जानुपर्ने त तपाईं मानसिक अस्पतालतिरै थियो, होइन र ?
- हो सायद । तर, म घरतिर लागें ।
तपाईंलाई भिलेन पनि भन्छन् नि ! एउटा डरलाग्दो लिट्रेरी भिलेन !
- सर्वप्रथम त्यसको पहिचान गर्ने एउटा बालक थियो । पाटन म्युजियमको बेन्चमा । वास्तवमा बालकहरू सही बोल्छन् । त्यो बालकले मलाई भनेको थियो - अङ्कल तपाईं भिलेन हो ? मैले 'हो' भनें । उसले मेरो चिन्डे टाउको छुन चाह्यो । मैले दिएँ । बच्चाको कोमल हत्केला र औंलाहरू मेरो शिरमा चलमलाउँदा मलाई प्रथमपटक बोध भयो कि म भिलेन हुँ । बच्चाप्रति म नतमस्तक भएँ । त्यतिञ्जेल म ठान्थेँ सायद, अरु मानिसहरू भिलेन हुन् ।
म कसरी भिलेन हुनसक्छु ? तर त्यो अज्ञात बच्चाप्रति म जीवनभर अनुग्रहित छु । उसले मभित्र रहेको भिलेनतर्फ इशारा गर्यो । यस्तो बोध गर्न तपाईं ठूलाठूला गुरुहरूको शरणमा जानुपर्छ भन्ने छैन । कहिलेकाँही एउटा बच्चाको इसारा नै काफी हुन्छ ।
कस्तो झेन कथाजस्तो ! सुन्दर ! गज्जब !
- एकपटक मध्यरातमा साथीहरूसित ठमेलका नाइट क्याफे चहारी हिँड्दा प्रहरीको जत्थाले समात्यो । आँखाको अप्रेसन भएकोले ब्ल्याक चस्मा लगाएको थिएँ । ब्ल्याक डिङ्गो सुज, ब्ल्याक ओभरकोट, ब्ल्याक टी-सर्ट, ब्ल्याक जीन्स, चिन्डे टाउको, गलामा माला र हातमा बाला त्यसमाथि वरिपरि साथीहरू । यति भएपछि नेपाल प्रहरीलाई काण्ड पुगिहाल्यो ।
जत्था-नेता इन्स्पेक्टरले प्याच्च भनिहाल्यो - तपाईं डन हो, गुण्डा हो ? मैले हाँस्दै भनें - हो । झमेला हुने देखेर साथीहरूले इन्टरफियर गर्दै भने - उहाँ साहित्यकार हुनुहुन्छ । साहित्यमा पनि डन, गुण्डा, माफियाको बिगबिगी रहेछ भनी इन्स्पेक्टरले मलाई पछि विनम्रतापूर्वक छोडिदियो । कहिलेकाहीँ मलाई त्यो इन्स्पेक्टरले नेपाली साहित्यमाथि गरेको व्यंग्यात्मक टिप्पणी जायज लाग्छ ।
अर्को इन्ट्रेस्टिङ घटना कहन्छु ।
भित्ताको पेन्टिङमा च्यापिएको जुन पाँचको नोट देखिरहुनभा'छ, त्यो मलाई केही दिनअघि एउटा अपरिचित युवकले दिएको दक्षिणा हो । मैले उसलाई आशिवार्द दिएँ, उसले मलाई नोट दियो । जोगीको प्रथम दक्षिणा ।
- रिडिङ नगरकोटी इज इन्जुरियस टु हेल्थ, इट कजेज क्यान्सर, ब्रेन ह्यामरेज एन्ड हार्ट अट्याक ।
दक्षिणा ! भनेपछि जोगीगिरी गरेर पनि कमाउन थाल्नुभयो ?
- यो पाँच रुपियाँको नोट जोगीको पहिलो कमाइ हो । कुमारी हलको गल्लीमा एउटा अपरिचित युवकले मसित आशीर्वाद माग्दै भन्यो - बाबा, दुर्घटना भइरहन्छ । केही कुरा बन्दैन । सोचेको कुरा बिग्रि मात्र रहन्छ । दशा लाग्या छ । आशीर्वाद दिनुस् । केटो यस्तै बीस÷एक्काइसको थियो । कञ्चटमा घाउको दाग थियो । बीच सडकमा दुवै हात जोडी शिर निहुराएर ऊ मसित आशीर्वाद माग्दै थियो । उसको त्यस्तो अटल विश्वास देखेर म भित्रैदेखि सिरिंग भएँ । एक प्रकारको अनौठो, अज्ञेय अनुभूती जसलाई मैले त्यसअघि कहिल्यै गरेको थिइँन, मनमा सञ्चार भयो ।
डर, भय, त्रास कस्तो कस्तो ! मैले उसलाई सब ठीक हुन्छ, कल्याण हुन्छ भनेर टार्न खोजें । मेरो आशीर्वाद छ भनें । युवकले त्यसपछि मेरो दुवै हात समात्यो र भन्यो - बाबा, टाउकोमै छोएर आशीर्वाद दिनुस् । मैले उसले भन्या जस्तै गरें । त्यसपछि उसले जिन्सको खल्तीबाट नोट निकाल्यो र मलाई दिन खोज्यो । मैले भो पर्दैन, म पैसा लिदिनँ भन्दा उसले दक्षिणा हो राख्नुस् भन्दै जर्बजस्ती नोट मेरो हातैमा थमाइदियो । यस्ता घटनाहरू सहर पस्दा भइरहन्छन् । आई कान्ट हेल्प बट स्माइल ।
'कोमाः अ पोलिटिकल सेक्स' जस्तो जटिल, विसंगत, र एक्स्पेरिमेन्टल नाटक लेख्नुभयो र त्यसमा अभिनय पनि गर्नुभयो । यसरी 'क्रसिङ द बोर्डर' गर्न तपाईंलाई केले प्रेरित गर्छ ?
- आफ्नो कम्फोर्ट-जोनबाट बाहिर निस्कन चाहनाले । केही नयाँ गर्न सकिन्छ कि भन्ने उत्प्रेरणाले । रंगमञ्चमा समर्पित रंगकर्मीहरूको आफ्नो कामप्रतिको समर्पणभावले मलाई त्यतातिर डोर्याइरहन्छ । तिनको पेसेन्स र प्यासनले मलाई भित्रैदेखि स्पर्श गर्छ । रंगमञ्च मेरो निम्ति एउटा सत्सङ हो ।
कुनै नयाँ नाटक गर्दै हुनहुन्छ कि ?
- एउटा मोनोलग छ जसलाई घिमिरे युवराजले गर्दैछन् । अ सोलो पर्फमेन्स । साइकलजिकल थ्रिलर । मानवचेतनामा पत्रैपत्र जम्मा हुने यावत डिस्टर्बिङ पर्सोनाबारे । समथिङ लाइक अ क्ल्यास अफ ह्युमन पर्सोनाज । र, मण्डला थिएटरमा राजन खतिवडाले 'लेखकहरू जेलमा छन्'लाई यही विन्टरमा मञ्चन गर्दैछन् ।
यो वर्ष फिल्ममा समेत अभिनय गर्नुभयो । नगरकोटी अवतार सिनेमाको सिल्भर स्क्रिनमा पनि 'प्रोजेक्टेड' हुने भयो, होइन ?
- भर्खरै तपाईंले प्रयोग गरेको फ्रेज 'क्रसिङ द बोर्डर'को एउटा सिलसिला हो यो । निगम श्रेष्ठले निर्देशन गरेको फिल्म 'लालपुर्जा'मा नगरकोटी एउटा मिस्टिक स्ट्रेन्जरको स्मल भूमिकामा छ । फिल्मको म अतिथि लेखक हुँ । फिल्म लेख्दै गर्दा फिल्ममा मिस्टिक र सर्रियल क्लाइमेट क्रिएट गर्ने स्पेस देखें । त्यसको निम्ति एउटा चरित्र निर्माण गरें । पछि निगमले, 'दाइ यो रोल त तपाईंलाई सुट गर्छ तपाईंले नै गर्नुपर्छ' भने । मैले पनि 'ओके देन, लेट्स डु' भनें ।
लेखनबाहेक अभिनयमा पनि समथिङ डिफ्रेन्ट गर्छु जस्तो लाग्छ ?
- लाग्दैन । बिकज, अभिनय इज नट माई कफ अफ टी ।
आफूले सृजना गरेका रचनाहरू तपाईंको स्मृतिमा कत्तिको दिगो रहन्छन् ? ती रचना तपाईंको स्मृतिमा कतिञ्जेल फ्रेस भइरहन्छन् ?
- ती चाँडै नै मुर्झाइजान्छन् । ओइलाउँछन् । आफ्ना लेख-रचनाहरू मलाई जंगलका ती रुखजस्ता लाग्छन् जसलाई तपार्इं गुडिरहेको ट्रेनबाट हेर्नुहुन्छ । स्मृतीबाट ती फुत्तफुत्त चिप्लँदै अतीततिर कतै छुट्छन् । सिनेमेटिक ल्याङ्वेजमा भन्नुपर्दा पासिङ सट्सजस्ता । 'घाटमान्डु' प्रकाशित भएको डेढ महिना पनि भा'छैन तर मलाई लाग्छ त्यो एउटा पुरानो किताब हो । हिजैमात्र भूपेन्द्र खड्काले भने - दाइ, 'घाटमान्डु'को दोस्रो संस्करण शीघ्र छाप्नु पर्यो ।
मैले भनें - यति चाँडै शीघ्र पतन ! जे मन लाग्छ गर्नुस्, तपाईंको मर्जी । 'मिस्टिका' गत वर्ष आयो तर लाग्छ त्यो युगौंअघिको कुनै प्राचिन घटना थियो । मेरो निम्ति आफ्ना रचना, किताबहरू यति चाँडै पूराना भइदिन्छन् कि यू कान्ट इम्याजिन । किन यस्तो भइरा'छ ? कहिलेकाहीँ आफै चकित पर्छु । 'मोक्षान्तः काठमान्डु फिभर' लेख्ने नगरकोटी कुनै परापूर्व या पूर्वजन्मको कुनै अल्लारे डायरी लेखक थियो जस्तो लाग्छ ।
तपाईंका डरलाग्दा डाइहार्ड फ्यानहरू अचम्मलाग्दा छन् । लेखकहरूमाझ पनि चर्चा चल्ने गर्छ - फ्यान हुनु त नगरकोटीको जस्ता ! र, तपाईंलाई घृणा गर्नेहरूको जमात पनि धेरै छ !
- ती सबप्रति म आभारी छु ।
तीप्रति पनि जो तपाईंलाई अचाक्ली घृणा गर्छन् !
- यस अफकोर्स ! पात्रता ठूलो कुरो हो दीपकजी ! सहरमा कसमेकम एउटा पात्र त छ जो घृणाको निम्ति पनि सहज उपलब्ध छ । नो सिकवा गिला माई फ्रेन्ड !
'घाटमान्डु'लाई तपाईंले फिक्सन, नन फिक्सन एन्ड अदर एडिक्सन भन्नुभा'छ । तपाईंलाई प्रेम गर्ने पाठकहरूको जमातलाई हेर्दा यस्तो लाग्छ कि नगरकोटी स्वयम् एक एडिक्सन हो !
- यो अन्तर्वार्ताको शीर्षक तपाईंले 'नगरकोटी एडिक्सन' राख्दा उपयुक्त हुने देखियो । शीर्षकको मुनि सब-टाइटलको रुपमा एउटा वैधानिक प्रावधान पनि झुन्ड्याउनुस् - रिडिङ नगरकोटी इज इन्जुरियस टु हेल्थ, इट कजेज् क्यान्सर, ब्रेन ह्यामरेज एन्ड हार्ट अट्याक ।
वर्षैपिच्छे किताब निकाल्न थाल्नुभयो । होलटाइम लेखक बन्नुभयो । आफ्नो फुर्सदको नाजायज फाइदा उठाएजस्तो लाग्दैन ?
- मैले लेख्ने भनेको पचपन्न वर्षको उमेरसम्म मात्र हो । मसित अब १२/१३ वर्ष मात्र बाँकी छ । त्यतिञ्जेल के-के क्रियटिभ कर्म गर्न सकिन्छ साहित्य लेखनमा, लेट्स सी ! डेथबेडमा नपुगुञ्जेल लेखिरहुँला, साहित्यको सो-कल्ड सेवा गरिरहुँला जस्तो उदेकलाग्दो मनोकांक्षा मसँग छैन । नगरकोटीको साहित्यिक लाश घिसार्दै इटरनल हिँडिरहने अश्लिल ईच्छा पनि छैन । आई ह्याभ टु गेट आउट फ्रम माई ओन वे । बाई द वे, तपाईंले गजबको फ्रेज प्रयोग गर्नुभयो - फुर्सदको नाजायज फाइदा । ब्युटिफुल । लभ्ली ।
पचपच्नन वर्ष लागेपछि के गर्नुहुन्छ ? जोगी बन्नुहुन्छ ?
- यु नेभर नो । त्यतिन्जेलसम्म बाँच्ने पनि के ग्यारेन्टी छ र ! फेरि जोगी त म अहिल्यै छु । थप अरु जोगी कति बन्ने ?
पचपन्न नै किन रोज्नुभयो ?
- खासमा त अझ पचास वर्षको उमेरसम्म मात्र लेख्छु भन्ने हो । पाँच वर्ष एक्स्ट्रा बोनस कन्सोलेसन दिएको हुँ आफूलाई । मलाई लाग्छ, मनुष्यको उमेर पचपन्न न्युमरोलजिकल्ली सुन्दर वर्ष हो । पाँच र पाँचको योगफल दश हुन्छ । दश अर्थात् एक र शुन्य । एक शून्य । नगरकोटी अर्थात् एक शुन्य ।
आजकल तपाईं साहित्यिक कार्यक्रममा त्यति देखिइनुहुन्न । तपाईंको फेसबुक एकाउन्ट पनि उति सक्रिय देखिँदैन । महिनौं यो गुफामा बस्नुहुन्छ । कथा पनि 'सुफियाना'जस्तो वैश्विक परिवेशको लेख्नुहुन्छ । 'घाटमान्डु'मा एउटा टेक्स्ट छ - फाइन्डिङ स्मल आई । त्यसमा कुमार नगरकोटी नामक शब्दहरूबाट अक्षरहरू घट्दै घट्दै अन्त्यमा अल्फाबेट 'आइ' मात्र बाँकी हुन्छ । यो टेक्स्ट ज्यादै गहन र मेटाफोरिक छ । अल्फाबेटहरू बिलाएझैं यो गुफामा तपाईं पनि कतै बिलाइजाने त होइन ? यो एक्लोपनाले अत्यास लगाउँदैन ?
- आई लभ दिस एक्लोपना । क्रियटरको लागि लोनसमनेस इज होलसमनेस ।
छोटो प्रश्नोत्तर गरौं । कृपया एक वाक्यमा भन्नुस् । मेडिटेसन गर्नुहुन्छ ?
- मेडिटेसन इज अ बुलशीट, गर्दिनँ ।
फेसबुक के हो ?
- मार्क जुकरबर्गले चलाएको संसारको सबैभन्दा ठूलो झ्यालखाना ।
पोलिटिक्स ?
- प्लेग्राउन्ड अफ् पोलिटिकल्ली इन्करेक्ट पागल्स ।
डेमोक्रेसी ?
- पोलिटिकल सिस्टम व्हिच इज गोभर्न बाई द बेस्ट डेमन्स ।
कम्युनिज्म ?
- अ ग्रेट युटोपियन डिजिज ।
धार्मिक गुरुहरू ?
- द कनिङ सेल्समेन हु सेल गड्स एट अ चिप प्राइस इन द मार्केटप्लेस ।
अब पुनः लुज प्रश्नहरू । तपाईंले धेरैपटक पढेको किताब कुन हो ?
- खलिल जिब्रानको 'प्रोफेट' । दस-बाह्रपटक पढें कि !
पाँच दिनमा पैंतीसवटा फिल्म हेरेको कुरा कतै लेख्नुभएको थियो । सबैभन्दा बढी हेरेको फिल्म चाँहि कुन हो ?
- अमिताभ बच्चनको 'शराबी' । २०/२१ पटक हेरे हुँला । पहिले-पहिले क्यासेट प्लेयरमा पनि धेरैपटक सुनेको हुँ । मिस्टर बच्चनले बोल्ने डायलग पूरै कण्ठ जस्तो थियो । एकताका त कस्तो थियो भने सराब पियो र शराबी हेर्यो । 'शराबी' त शराब पिउन छोडेपछि छुट्यो । तर, एउटा फिल्म छ जो म प्रत्येक वर्ष हेर्ने गर्छु ।
प्रत्येक वर्ष ? कुन फिल्म हो त्यो ?
- गुलजारको 'अंगुर' । सञ्जीव कुमार, देवेन वर्मा, मौषमी चटर्जी, दिप्ती नवल, उत्पल दत्त अभिनित सन् १९८२ को फिल्म । दुई घन्टा २१ मिनेटको । विलियम शेक्सपियरको 'अ कमेडी अफ् एरर्स'मा आधारित । यो फिल्म म विगत १२ वर्षदेखि हरेक साल हेर्नेगर्छु । यो वर्ष हेरेको छैन, चाँडै हेरिहाल्छु ।
आजकल कस्ता फिल्महरू हेरिरहनुभा'छ ?
- डेविड लिन्च, बेला टार, वर्गम्यान, किस्लोभ्स्की, फेलिनी इत्यादि युरोपियन डाइरेक्टर्सका मास्टरपिस हेरिरा'छु । चिलीका सर्रियालिस्ट फिल्ममेकर अलेहान्द्रो जोदोरोब्स्कीका फिल्महरू भेटेसम्म हेर्छु ।
अनि म्युजिक नि ! गीतसंगीत ?
- नो गीत माई फ्रेन्ड, अन्ली संगीत । यो गुफामा प्रायः नवाङ खेचोगको बाँसुरी गुन्जिन्छ । त्यसपछि 'एनिग्मा'को कम्पोजिसन । किताब र कविता पढ्दा पाश्र्व-संगीतजस्तो हुन्छ । यी संगीतले तपाईंलाई कस्मिक एन्ड स्पिरिचुअल जर्नीतिर लैजान्छन् । म तिनलाई म्युजिकल मन्त्र अफ सोल भन्न रुचाउँछु । एनिग्माको 'द आइज् अफ् ट्रुथ' तपाईंले सुन्दा अति उत्तम । यसको भिडियो नेपालमै खिचिएको छ ।
तपाईंले पढ्दै गरेका किताबहरूबारे चर्चा नगरे यो वार्ता अधुरो, अधकल्चो हुनजान्छ । के, कस्ता किताब पढिरहनुभा'छ अचेल ?
- उही हो, सदाझैं एकसाथ थुप्रै किताब पढिरा'छु । फ्र्याङक डिकोट्टरको नन्-फिक्सन 'माओज ग्रेट फोमिन' चीनमा माओ त्से तुङले सन् १९५८ देखि १९६२ सम्म चलाएको ग्रेट लिप फरवार्डबारे एक्स्क्लुजिभ् इन्साइड स्टोरी । जुन अभियानमा एउटा नेताको सनक र लहडमा कम्तिमा पनि चार करोड पचास लाख सर्वसाधारणको कहालीलाग्दो मृत्यु भयो । त्यो मृत्यु मात्रै थिएन एक प्रकारको मास किलिङ या जेनोसाइडजस्तो नै थियो ।
चार करोड पचास लाख मानिसहरू ! क्यान यु इम्याजिन ? यो संख्या हालको नेपालको जनसङ्ख्या भन्दा कैयौं बढी हो । चीनको आधुनिक इतिहासमा रुचि राख्नेहरूको लागि यो किताब चाखलाग्दो छ । यसले द बिबिसी स्यामुअल जोनसन प्राइज् पनि पाएको हो नन-फिक्सन जानरामा । म यो किताबको बीचतिर यात्रारत छु । यसलाई म प्रायः दिउँसो लन्च ब्रेकको सियस्टा-टाइममा पढ्छु । बिहानको कफी समयमा सूर्योदयपश्चात् अमेरिकी लेखक पल बेट्टीको हालसालै म्यान बुकर प्राइज प्राप्त उपन्यास 'द सेल आउट' पढ्छु ।
तपाईंलाई आश्चर्य लाग्ला, यो उपन्यासलाई १८ वटा प्रकाशकद्वारा अयोग्य ठानेर रिजेक्ट गरिएको थियो । एउटा सनकी मेगालोमेनिक व्यापारी अमेरिकी राष्ट्रपति भएको बेलामा यो उपन्यास पढ्नु रोचक अनुभूति हो । राति सुत्नुअघि हारुकी मुराकामीको 'द विन्ड-अप बर्ड क्रोनिकल' पढ्ने गर्छु । वास्तवमा मुराकामी रात्रिकालमा पढ्नुपर्ने लेखक हुन् । 'नर्वेजियन वुड'बाहेक उनका अधिकांश उपन्यास रातमा पढ्नु उपयुक्त हुन्छ । अझ मध्यरातको सन्नाटामा । यी किताबबाहेक जलालुद्दिन रुमीका कविताहरू हरसमय साथमा छँदैछन् । रुमीका काव्यहरूले मेरो एक्लोपना र आत्माको विशेष हेरचाह गर्छन् ।
यसको मतलब तपाईंको लेखनचाँहि बन्द छ ?
- यस...माई प्रिय दोस्त । कारखाना अहिले कम्प्लीट्ली बन्द छ । बाबुराम भट्टराईको भाषामा भन्नुपर्दा हाम्रो नयाँ शक्ति पार्टीको क्रान्तिकारी कारखाना आन्तरिक झमेला तथा नेता र कार्यकर्ताहरूको पद व्यवस्थापनमा छलाङमय किचलोले गर्दा ऐतिहासिक रुपले बन्द रहेको द्वन्द्वात्मक भौतिकवादी अवस्था हो ।
नगरकोटीको यो कारखाना कहिलेसम्म बन्द रहने अवस्था हो ?
- गड नोज । नन स्टप कति लेखिरहनु ! क्रिएटिभिटीलाई प्रशस्त ऐकान्तिक अवकास चाहिन्छ । बेलाबेला लिट्रेरी हाइबरनेसनमा जानुपर्छ । विश्राम चाहिन्छ । श्रद्धाञ्जली तथा समवेदनामा मृतकका बारे हामी लेख्ने गर्छौं नि - मे हिज डिपार्टेड सोल रेस्ट इन पिस । नगरकोटी अहिले रेस्ट इन पिसमा छ ।
नगरकोटीको यो रेस्ट इन पिसको अवस्थामा उसको तान्त्रिक खप्परमा केही फुरिरा'छ कि ?
- मलाई लाग्छ एउटा आख्यान क्रिएट गर्न कम्तिमा पाँच, सातवटा राम्रा किताब पढ्नुपर्छ । विशेष गरी जस्तो खालको आख्यान म लेख्न चाहन्छु । आई ह्याभ टु इन्ट्रयाक्ट विथ् द वल्र्ड लिट्रेचर थ्रु रिडिङ अ लट फ स्टफ्स । आफ्नो मेन्टल क्लाइमेट स्वच्छ र क्रियटिभ राखिराख्न किताबहरू खोज्नुपर्छ जसले तपाईंलाई नयाँ चिज लेख्नमा उर्जा र प्रेरणा देओस् । जस्तो कि, एउटा किताब म विगत केही कालदेखि खोजिरा'छु ।
काठमान्डुमा यस्तो पसल छैन जहाँ मैले त्यो किताब नखोजेको होस् । स्वेडिश लेखक जोनास जोनासनको उपन्यास 'द हन्ड्रेड इयर ओल्ड म्यान हु क्लाइम्ड आउट अफ द विन्डो एन्ड डिसापियर्ड' । कस्तो राम्रो टाइटल ! यसमाथि फिल्म पनि बनेको छ तर फिल्ममा मेरो रुचि छैन ।
एउटा कविता लेख्न विश्वका सुन्दर कविताहरू पढ्नुपर्छ । लेटिन अमेरिकामा कस्तो कविता लेखिइँदै छ, अफ्रिकी कविहरू कवितामा कस्तो नवीनता ल्याइरहेका छन् र तपाईं कस्तो कविता लेखिरहनुभा'छ ? कन्टेम्प्लेट गर्नुपर्छ । म पोयटिक कन्साइन्सको कुरा गरिरा'छु । न कि पोयटिक लाइसेन्सको । पोयटिक लाइसेन्स जो हरेक लेखकसित हुन्छ, त्यसको हामीले धेरै दुरुपयोग गरिसकेका छौं ।
कति उहि खिया लागिसकेको हँसिया हथौडा, गौतम बुद्ध, झरना, हिमालहरूमा अल्झिरहने ! उहि अरण्य-रोदन, उहि प्राचिन रोनाधोना ! एक्स्प्रेसनमा समथिङ फ्रेशनेस, खोजौं । समकालीन विश्व साहित्यले डिसाइफर, क्रियट गरेका लेटेस्ट राइटिङ टेक्नोलोजी, डिभाइस, टुल्स र नवीनताबारे एकान्तमा चिन्तन-मनन गरौं । धेरै गन्थन मात्रै गरिबस्यौं साहित्यमा । केहीबेर आत्म-मन्थन गरौं । पूरानो, थोत्रो भइसकेको पोयटिक लाइसेन्स नवीकरण गर्ने होइन बरु त्यसलाई च्यातचुत पारेर गार्बेजमा मिल्काइदिऔं । नयाँ, फ्रेश कविता, निबन्ध, आख्यान लेखेर आ-आफ्नै नयाँ, फ्रेश लाइसेन्स जारी गरौं ।
बडो आदर्शवादी कुरा पो गर्नुभयो यार !
- टु हेल विथ आदर्शवाद ! आई ह्याभ नथिङ टु डु विथ् आदर्शवाद । नट् अन्ली आदर्शवाद, कुनै पनि कथित् वादसित मेरो लेनादेना छैन । वाद्हरूको सडेगलेको शव बोकी हिँड्ने सो एन्ड सो वादी तथा प्रतिवादीहरूले जति ध्वस्त पार्नुपर्ने थियो पारिसके । नाऊ इट्स इनफ । लेट्स बि क्लिन एन्ड फ्रेश माई फ्रेन्ड । लेट्स क्लिन्स आओर सोल । माई अन्ली कन्सर्न इज कम्प्यासन । करुणा । गहन कम्प्यासन तथा फ्रेशनेसकासाथ प्रगतिशिल पोयट्री लेखौं, प्रेम-कविता लेखौं, यौन मनोवैज्ञानिक रिफ्लेक्टिभ निबन्ध लेखौं, स्पिरिचुअल फिक्सन लेखौं । लेट्स राइट विथ कम्प्यासन एन्ड फ्रेशनेस एन्ड सी द डिफ्रेन्स । मेरो घोषणापत्र मृत इतिहासले लेख्दैन, आई ह्याभ टु राइट माई ओन् मेनिफेस्टो ।
यो वार्ता हामीले कविता चर्चाबाट सुरु गरेका थियौं । अब अन्त्यमा, तपाईंकै कुनै कविताका पंक्ति सुनेर बिट मारौं !
- मलाई आफ्ना कविताका लाइन याद हुँदैनन् । स्ल्याम पोयटहरू कसरी पूराका पूरा कविताहरू याद गर्छन् गड नोज् । बरु यसबखत मलाई प्रिय लाग्ने कवि अविनाश श्रेष्ठका सुन्दर पंक्ति गुनगुनाउँदै वार्ता विसर्जन गरौं -
'तिमी पीडाझैं गहन छ्यौ
फेरि पनि चिहानझैं मौन छ्यौ ।'