शिक्षित नै हिंसा पीडित
काठमाडौः यस वर्ष घटेका महिला हिंशाका घटनाहरुलाई केलाउँदा शिक्षित महिला नै बढी हिंसा पीडित भएका तथ्यांकले जनाएको छ ।
सुक्रबारदेखि विश्वब्यापी रुपमा शुरु भएको महिला हिंसा विरुद्धको १६ दिने अभियानकै क्रममा ओरेक नेपालले राजधानीमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदन ‘अन्वेषी’मा उल्लेखित तथ्यांक अनुसार ७३ प्रतिसत हिंसा साक्षर महिलामाथि हुने गरेको पाइएको छ ।
संस्थाले यस वर्ष प्राप्त गरेको जम्मा एक हजार सात सय ७५ घटनाहरुलाई विश्लेषण गर्दा पीडित महिलामध्ये ४५ प्रतिसत सामान्य लेखपढ गर्न जान्ने, २० प्रतिसत माध्यमिक तहसम्म अध्ययन गरेका, १३ प्रतिसत प्राथमिक तहसम्म अध्ययन गरेका, १३ प्रतिसत उच्चमाध्यमिक तहसम्म अध्ययन गरेका, ५ प्रतिसत प्रौढ शिक्षा, ४ प्रतिसत उच्च माध्यमिक तहभन्दा बढी अध्ययन गरेका महिला छन् ।
निरक्षर महिलाको तुलनामा शिक्षित महिला आफ्ना अधिकारको बारेमा सचेत रहने र केही हदसम्म भएपनि आफूमाथि भएको अन्यायका विरुद्ध बोल्नुपर्छ भन्ने धारणा राख्छन् । यही कारणले गर्दा उनीहरु आफूमाथि भएको हिंसाका बारेमा उजुरी गर्छन् ।
उचित शिक्षामा पहुँच नएका महिला भने आफ्नो अधिकारका बारेमा अनभिज्ञ नै देखिन्छन् । नेपाल सरकारले महिलामाथि हुने हिंसा न्यूनिकरण र महिला अधिकार सुनिश्चितताका लागि विभिन्न नीति, निर्देशिका तथा कानुनहरुको निर्माण र परिमार्जन गरे पनि अझै धेरै महिलाले आफूमाथि भएको हिंसालाई अपराधका रुपमा नभई जीवनको एक सामान्य पाटोको रुपमा लिने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
असमान सामाजिक संरचनाले महिललाई यो कार्य गर्नुहुन्छ, यो गर्नुहुँदैन भनेर सामाजिक नीति नियमहरुले निर्देशित गरेका कारण महिला आफ्नो जीवनको निर्णय गर्नबाट बञ्चित रहेका र आफ्नै भनिने ब्यक्तिहरुबाट हिंसा खप्न बाध्य भएका अध्ययनमा देखिएको छ ।
विगतका वर्षहरुमा झैं यस वर्ष पनि सबैभन्दा बढी ७३ प्रतिसत महिलामाथि घरेलु हिंसा भएको पाइएको छ । यसमध्ये पनि ७८ प्रतिसत महिला आफ्नै पतिबाट र २२ प्रतिसत महिला घरपरिवारका सदस्यबाट हिंसामा परेका तथ्यांकले देखाएको छ ।
घरेलु हिंसापछि सबैभन्दा बढी महिलामाथि सामाजिक हिंसा भएको पाइएको छ । यस वर्ष भएको ११.३ प्रतिसत सामाजिक हिंसामध्ये ७० प्रतिसत छिमेकीबाट, १७ प्रतिसत परिवारका सदस्यहरुबाट र ८ प्रतिसत सम्बन्ध नभएका मानिसबाट, ३ प्रतिसत सुपरभाइजरबाट र २ प्रतिसत साथीबाट महिला हिंसामा परेका पाइयो ।
प्राप्त तथ्यांकका अनुसार यस वर्ष ४ प्रतिसत महलामाथि बलात्कार, ५ प्रतिसत महिलामाथि यौनिक हिंसा, १ प्रतिसतको हत्या र सोही मात्रामा बेचबिखनमा परेका पाइयो । उमेरसमूहको आधारमा हेर्दा सबैभन्दा बढी १६ देखि २५ वर्ष उमेरसमूहका महिला हिंसामा पारिएको पाइयो ।
पेशागत रुपमा हेर्दा आफ्नै घरमा काममा संलग्न हुने ३४.४ प्रतिसत महिलामाथि सबैभन्दा बढी हिंसा भएको पाइएको छ । जातीयताका आधारमा हेर्दा सबैभन्दा बढी पहाडे जनजाति महिलामाथि हिंसा भएको तथ्यांकले देखाउँछ ।
कुनै पनि प्रकारको हिंसा हुँदा सबैभन्दा बढी महिलामाथि मानसिक असर ४७ प्रतिसत परेको पाइएको छ । तर आफूमाथि परेको मानसिक हिंसाको बारेमा उजुरी गर्ने वाताबरण अझै नेपाल प्रहरीमा नबनिसकेको महिला अधिकारकर्मी डा. रेणु अधिकारीले बताइन् । समाजमा रहेका विभेदपूर्ण मान्यता तथा असमान संरचनाहरुमा परिवर्तन नगरेसम्म महिला हिंसा नरोकिने विचार उनले राखिन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोगकी सदस्य मन्चला झाले द्धन्द्धकालमा महिलामाथि भएका यौनहिंसाका घटनामा महिलालाई न्याय दिने सन्दर्भमा आफूले कुनै पनि किसिमको सम्झौता नगर्ने प्रतिवद्धता जनाइन् ।
त्यसैगरी राष्ट्रिय दलित आयोगकी सदस्य कोपीला विश्वकर्माले महिला हिंसा विरुद्धको अभियानसँगै दलितमा हुने छुवाछुतविरुद्धको अभियान पनि चलाइनुपर्ने सुझाब दिइन् ।