कविता-आजको बजार

कविता-आजको बजार

शाकाहारी र मांसाहारीको दोभानमा
लागेको उत्तरआधुनिक मेलाले
नवअवतारमा फेरिएको छ
आजको बजार
दिनमा बूढाबूढीलाई लोकदोहोरी
रातमा तन्देरी कन्सर्ट जसरी
परम्परागत पहिरनदेखि
बिकिनीसम्म झुन्ड्याएर
कृत्रिम आवश्यकता बेचिरहेको छ
आजको बजार
दृष्टिछलका टिमटिमाउँदा तारा
छोप्न खोज्दा आफ्नै तालीको
गडगडाहट भर्‌याङबाट खस्ने
मूकदर्शकजस्ता ग्राहक बटुलेर
जाली रुमाललाई परेवा बनाई उडाउने
जादुगरजस्तो छ
आजको बजार
बेमेल अंकमालमा विनिमय भइदिने
अर्थतन्त्रको राजनैतिक ओखतीले
तोलातोला तङ्ग्रिएको सुपर मार्केटमा
भोको मान्छेलाई
सुनको धाराले
आची पखाल्न सिकाउँछ
आजको बजार
ज्युँदो र मुर्दाको ताजुबलाग्दो
स्क्रिन भाइचारा सम्बन्ध
रिमोट भगिनी मित्रता
विज्ञापनमा हात मिलाएर गाँसेपछि
भान्साको कसौडीमा
चामल पाक्छ कि
माटोको भात
सब बिर्साइदिन्छ
आजको बजार
जिन्दगीका परीक्षार्थीलाई
मूलग्रन्थ बेच्दैन
सन्दर्भ पुस्तक पनि बेच्दैन
केवल गेसपेपर बेच्छ
आजको बजार


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.