क्रान्तिकारी कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोको निधन

क्रान्तिकारी कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोको निधन

काठमाडौं: प्रभावशाली क्रान्तिकारी कम्युनिस्ट नेताका रूपमा अन्तर्राष्ट्रिय छवि बनाएका क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको छ । क्यास्ट्रोको निधनलाई एक युगको अन्त्यका रूपमा विश्वभर लिइएको छ । क्युबामा उनलाई राष्ट्रपितासरह मानिन्छ । अमेरिकाका ११ राष्ट्रपतिसँग राजनीतिक तथा आर्थिक संघर्ष गरेका क्यास्ट्रोको निधनप्रति विश्वभरबाट चासो व्यक्त गरिएको छ ।

जनवरी १ सन् १९५९ मा मुलुकमा क्रान्तिमार्फत सत्ता हत्याएका उनले क्युबाको स्वतन्त्रता, आत्मसम्मान र सार्वभौमिकताका लागि काम गरेको भन्दै अमेरिकामा पनि प्रशंसा गरिन्छ ।

अमेरिकी पूर्वराष्ट्रपति डोइट आइजन आवरदेखि बाराक ओमाबासम्म आइपुग्दा पनि अमेरिकाले क्यास्ट्रोको हत्या प्रयास निरन्तर गरिरहेको समाचार आइरहे । ५० वर्षे राजनीतिक जीवनमा अमेरिकी 'साम्राज्यवाद' विरुद्ध सशक्त लडेको भन्दै विश्वभरका कम्युनिस्टले क्यास्ट्रोलाई उच्च सम्मान गर्छन् ।

अर्जेन्टिनाका क्रान्तिकारी कम्युनिस्ट नेता चे ग्वेभारा र क्यास्ट्रोलाई उस्तै नेताका रूपमा विश्वभर लिइन्छ ।
महाशक्ति अमेरिकाले क्यास्ट्रोको हत्या प्रयोजनका लागि एक अर्ब अमेरिकी डलर खर्चेको थियो । क्यास्ट्रोको जीवनभर ६ सयभन्दा बढी पटक उनको हत्याका लागि अमेरिकाले बुनेका योजनाहरू विफल भएका थिए । क्यास्ट्रोलाई सत्ताबाट हटाउन पनि अमेरिकाले अधिकतम प्रयास गर्‌यो ।

सोभियत कम्युनिस्टकै शैलीमा उनले आफ्नो राजनीति अघि बढाएका थिए । एकदलीय राजनीतिक पद्धति अँगालेका क्यास्ट्रोलाई त्यहाँको कम्युनिस्ट क्रान्तिका नायक मानिन्छ । क्युबालाई अन्तर्राष्ट्रिय तहमा अहिलेको अवस्थामा ल्याइपुर्‌याउन उनको महत्त्वपूर्ण भूमिका रह्यो ।

स्थानीय समयअनुसार शुक्रबार राति १०: २९ मा क्यास्ट्रोको निधन भएको त्यहाँको सरकारी च्यानलले घोषणा गरेको थियो । दिवंगत क्यास्ट्रोका भाइ तथा वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोले उनको निधनको पुष्टि गरेका थिए । उनको निधनमा क्युबा सरकारले नौ दिनसम्म शोक मनाउने जनाएको छ ।

निकै बिरामी भएपछि क्यास्ट्रोले भाइ राउललाई सन् २००६ मा सत्ता हस्तान्तरण गरेका थिए । एक दशकदेखि बिरामी रहेका उनी पछिल्लोपटक अगस्ट १३ मा ९० औं जन्मदिन मनाएपछि सार्वजनिक भएका थिए । क्युबाली जनताले उनको जन्मोत्सव देशभर मनाए ।

क्यास्ट्रोका समर्थकले उनलाई गरिब जनताको अथक योद्धाका रूपमा चित्रित गरेका छन् । 'क्यास्ट्रो थर्ड वल्र्डकै भयानक व्यक्तित्व थिए । मलाई लाग्छ थर्ड वल्र्डका लागि क्यास्ट्रोले जति योगदान अरू कसैले गरेन', क्यास्ट्रोका सहकर्मी ८५ वर्षीय अगस्टिन डियाज कार्तयाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग भने ।

आलोचकहरू क्यास्ट्रोका कारण क्युबा आर्थिक दुरवस्थातिर धकेलिएको, ११ मिलियन क्युबाली जनतालाई आधारभूत अधिकारबाट वञ्चित गरेको र लाखौंलाई विदेशमा शरण लिन बाध्य पारेको टिप्पणी गर्छन् ।

गएका ५५ वर्षमा सरकारले मानवअधिकारका सबालमा केही नगरेको हवानास्थित पूर्वराजनीतिक बन्दी ७२ वर्षीय हेक्टर मसेडाको दाबी छ । 'यो शासनका बेला यहाँको मानवअधिकारका सबालमा केही हुँदैन भन्ने लाग्छ', उनले भने ।
क्यास्ट्रोले टापु मुलुक क्युबालाई समानता र सामाजिक न्यायको स्थानका रूपमा रूपान्तरण गर्न काम गरेका थिए ।

अमेरिकासहित पश्चिमा मुलुकले आर्थिक नाकाबन्दी लगाए पनि क्यास्ट्रोले सधैं वैदेशिक सहायता अस्वीकार गरे । क्युबाको प्रमुख सहयोगी मुलुक पूर्वसोभियत युनियन विघटनपछि क्युबा पनि संकटमा पर्‌यो । यद्यपि क्युबा अमेरिकासामु झुकेन ।
ओबामा प्रशासनले डिसेम्बर १७, २०१४ मा क्युबासँग कूटनीतिक सम्बन्ध पुनस्र्थापित गरेपछि हवानामा दूतावाससमेत स्थापना भएको थियो । त्यसयता अमेरिकाले क्युबामाथि लगाएका व्यापार तथा यात्रा प्रतिबन्धमा केही खुकुलो गरेको छ ।

सन् २००६ मा सत्ताको बागडोर समालेयता क्युबाका राष्ट्रपति राउलले आर्थिक सुधारलाई तीव्रता दिएका छन् ।
अगस्ट १३, १९२६ मा जन्मेका क्यास्ट्रो क्युबाको पूर्वी बिरान इलाकाको उखुखेती हुने क्षेत्रमा हुर्केका थिए । युनिभर्सिटी अफ हवानामा भर्ना हुनुअघि उनले जेसुइट स्कुलमा पढेका थिए । क्युबाका तत्कालीन शासक फल्गेन्सियो बाटिस्टाको शासन ढाल्न क्यास्ट्रो सक्रिय बने ।

सन् १९५३ जुलाई २६ मा क्यास्ट्रोको नेतृत्वमा क्युबाको सान्टियागोस्थित मोनकाडा ब्यारेकमा आतातायी हमला भयो । जसमा संलग्नमध्ये आधा लडाकु मारिएका थिए भने क्यास्ट्रो जेलचलान भए । दुई वर्षमा रिहा भए । त्यसपछि उनी मेक्सिकोतिर गएर बसे । बाटिस्टा शासनलाई संघर्षबाटै पराजित गरी क्यास्ट्रो सत्तामा आउन सफल भए ।

फिडेल क्यास्ट्रोले सात घन्टासम्म निरन्तर भाषण गरेर क्युबाली जनताको मन जित्थे । सन् १९६० मा क्यास्ट्रोले राष्ट्रसंघमा चार घन्टा २९ मिनेट लामो भाषण गरेर गिनिज वल्र्ड रेकर्डमा नाम लेखाएका थिए । यो नै राष्ट्रसंघमा गरिएको हालसम्मकै लामो भाषण मानिन्छ । उनले सन् २०१० मा आफूले अध्ययन गरेको हवाना युनिभर्सिटीमा अन्तिम सार्वजनिक मन्तव्य दिएका थिए । क्यास्ट्रोलाई विश्वकै सबैभन्दा धेरै वर्ष शासन गर्ने नेताका रूपमा लिइन्छ ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई आधुनिक विश्व इतिहासमा एक युगका विशिष्ट राजनेता भनेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले इतिहास र जनताले क्यास्ट्रोलाई सदैव सम्झिरहने प्रतिक्रिया दिएका छन् ।

पूर्वसोभियत युनियनका नेता मिखाइल गोर्वाचोभले अमेरिकी दबाबका बाबजुत क्युबालाई सुदृढ राखेकोमा क्यास्ट्रोको प्रशंसा गरेका छन् । फ्रान्सका राष्ट्रपति फ्रास्वाँ ओलन्दले भने, 'विदेशी हस्तक्षेप अस्वीकार गरेका क्युबाली जनताका लागि गौरवशाली नेता हुन् फिडेल ।'

तीनवटा विवाह गरेका क्यास्ट्रोका आठ सन्तान छन् ।
(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.