फिडेल क्यास्ट्रो
फिडेल क्यास्ट्रोलाई विभिन्न चस्माले हेर्न सकिन्छ । कुनै व्यक्ति, क्रान्ति र परिवर्तनलाई हेर्ने एउटै नजर हुँदैन विश्वमा । तर फिडेल क्यास्ट्रो एउटा यस्ता व्यक्ति हुन्, जसले विश्वको सर्वशक्तिमान मुलुक अमेरिकाको छेउमै या छिमेकमा त्यसलाई चुनौती दिँदै कम्युनिस्ट क्युबाको अस्तित्व सुनिश्चित गरे ।
सम्बन्ध-विच्छेदको झन्डै आधा शताब्दीपछि अर्थात् उनकै जीवनकालमा अमेरिका कूटनीतिक सम्बन्ध स्थापित गर्न तयार भयो, त्यो सानो टापु मुलुकसँग । क्यास्ट्रोको विश्व राजनीतिक र कूटनीतिक समझदारीको शक्तिशाली पक्षलाई अमेरिका र बाँकी विश्वले स्विकारेको अद्भुत उदाहरण हो त्यो । त्यो अकारण होइन ।
प्रायः माक्र्सवादी लेनिनवादी 'क्रान्तिकारी' हरू क्रान्तिको सफलतापछि असफलसिद्ध भएका छन्, संक्रमणपछिको सत्ता नेतृत्व गर्दा । क्रान्ति र त्यसलाई निर्देशित गर्ने दर्शनमा नैतिक पक्ष प्रबल हुन्छ र समाज परिवर्तनको समग्र चाहना हुन्छ त्यसमा । त्यसले ठूलो जनमतलाई आकर्षित गर्छ । तर क्रान्ति जुन सत्ताविरुद्ध लक्षित हुन्छ, त्यो पछि त्यसका नायकहरूबाट सम्बन्धित मुलुक र जनताले धेरै अपेक्षा राखेका हुन्छन् । अनि त्यहीँ चुक्छन् नेताहरू ।
सोभियत संघ त्यसको उदाहरण हो, समकालीन विश्वमा । चीन क्रान्तिको 'कट्टरवादी' पक्षबाट समयमै मुक्त भयो, खासगरी देङ स्याओ पिङको नेतृत्वमा, यद्यपि संक्रमणपछिको चरणमा माओत्से तुङ, चाउ येन लाई आदिले निष्कलंक नेतृत्व प्रदान गरे । नेपाल टीठलाग्दो उदाहरण हो, 'क्रान्तिकारी' हरूको विचलन र बाह्य परिचालनको ।
फिडेल क्यास्ट्रो त्यहाँको दक्षिणपन्थी मानिने बाटिस्टा सत्ताविरुद्ध तीन वर्ष लामो छापामार युद्धमा विजय हासिल गरी सन् १९५९ बाट १७ वर्षको लागि प्रधानमन्त्री र त्यसपछिको २२ वर्ष सर्वशक्तिमान राष्ट्रपति बने । सैन्य र राजनीतिक शक्तिमाथि नियन्त्रण राखे, तर क्युबालाई सही अर्थमा समाजवादी मुलुकमा रूपान्तरण गरे । उनी आलोचनाबाट मुक्त थिएनन् ।
आफ्नै भाइ राउल क्यास्ट्रोलाई राजनीतिक उत्तराधिकारी बनाउन खोजे, तर शक्तिशाली अमेरिकाले तस्करको प्रयोग र सैन्य शक्तिबाट समेत पराजित गर्न नसक्नु तथा उनको हत्या अनि क्युबालाई घुँडा टेकाउन गरिएको आर्थिक नाकाबन्दी प्रयासै विफल हुनुले उनको शक्ति र लोकप्रियता अनि विश्वस्तरमा राजनेताको रूपमा एउटा वैकल्पिक नेतृत्वको उनको पहिचान देखाउँछ त्यसले ।
सोभियत संघलाई क्युबाको 'न्युक्लियर वेस' दिएर एकातिर सामरिक शक्ति सन्तुलन सुनिश्चित गरे र सम्भवतः अमेरिकामा केनेडीको शासनकालको 'वे अफ पिग' तनाव एउटा आणविक युद्धमा परिणत हुन पाएन । तर क्यास्ट्रोले कम्युनिस्ट कट्टरपनमा आफूलाई सीमित राखेनन् । असंलग्न राष्ट्रहरूको सम्मेलनको नेतृत्वसमेत गरेर उनले त्यो आन्दोलनलाई साम्राज्यवाद या प्रचलित अवधारणाअनुसार अमेरिकी हैकमलाई अर्को चुनौती दिए ।
त्योसँगै उनले एकातिर त्यही साम्राज्यवादको रणनीतिक रूपमा अगाडि सारिएको भन्दै 'वातावरणवाद' को नयाँ अभियान अस्वीकार गरे भने अर्कोतिर अन्तर्राष्ट्रिय मानववाद र मौलिक मानव अधिकारका रूपमा स्वास्थ्य र शिक्षाको अधिकारलाई विश्वभरिकै अद्वितीय 'मोडेल' का रूपमा स्थापित गरे । परिपक्व उमेर अथवा ९० वर्षमा नश्वर शरीर त्याग गरेका क्यास्ट्रो सम्भवतः समकालीन विश्वकै सबभन्दा शक्तिशाली र चर्चित अनि विश्वको एउटा पक्षले आदर गरेको र उनीसँग फरक मत राख्नेहरू डराउने गरेका व्यक्ति थिए । त्यो रिक्तता सहजै पूरा हुने छैन । श्रद्धाञ्जली !