सहकारी सामाजिक उत्तरदायित्व
मानव स्वभाव र परापूर्वकालदेखि नै सभ्यताको विकासक्रममा रहेको मेलमिलाप, सहकार्य र सहसम्बन्धको अन्योन्याश्रित अभ्यासले सहकारीलाई आजको स्वरूपमा उठाएको छ । मेला, पर्म, धर्मभकारी, वस्तु र सेवाको विनिमय सहकारीको प्रारूप थियो । समाज आदिम साम्यवादी अर्थव्यवस्थाबाट नयाँ युगमा प्रवेश गरिरहँदा क्रमशः उत्पादन र वितरणमा स्वामित्व र प्रभाव स्थापित हँदै भयो । मानव समुदायबीच सम्पत्ति, विनिमय र उत्पादन सम्बन्धले अस्तित्व र आकार ग्रहण गर्यो ।
शक्ति, प्रभाव, सुरक्षा र सामथ्र्यताका लागि परिवार, समाज, समुदाय र राष्ट्रियताको क्रमशः विकास भयो । पुँजी, व्यवसाय, श्रम र शोषणका स्वरूप र तरिका विकास भए । राजनीतिमा साम्राज्यवादको प्रभुत्वमा मात्रै नभएर उद्योग, व्यवसाय, पुँजी र मुनाफामा पनि समकालीन विश्वमा बेलायतले महत्त्वपूर्ण सफलता र प्रभुत्व स्थापित गर्न सफल भयो । यो विकास र सफलताले सकारात्मक मात्रै नभएर नकारात्मकता पनि पैदा गर्दै गयो ।
विशेषतः श्रम शोषण, कालोबजारी र गुणस्तरहीनताको चरम कुप्रभावमा नागरिक परे । परिणामतः बेलायतको रोचडेलमा मजदुरहरूले सन् १८४४ मा उपभोक्ता सहकारी संस्था स्थापनापछि सामूहिक लाभमा आधारित नयाँ व्यावसायिक स्वरूपको उदय भयो । आज सहकारी विश्वकै एक सर्वाधिक लोकप्रिय र ठूलो आर्थिक सामाजिक सञ्जालको रूपमा परिभाषित भएको छ ।
नेपालमा सहकारी
नेपालमा सहकारी अभियानको झन्डै ६ दसक लामो इतिहास बनेको छ । २०१३ सालमा चित्तवनमा बखान सहकारीको स्थापनापछि अभियानको संगठित विकासको आरम्भ भएको हो । नेपालको राज्यव्यवस्थासँगै सहकारी अभियान पनि अस्थिर, अविकसित र समस्याग्रस्त बनेको थियो । २०४६–०४७ को राजनीतिक परिवर्तनपछि अभियानले नयाँ गति पायो । विशेषतः नेपाली सहकारीको क्षेत्रको असफल इतिहास, विश्व अभ्यास र भावी सम्भावनाको आधारमा सहकारी ऐन २०४८ आएपछि अभियानले गति लिन सफल भयो ।
अझ ०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिले सहकारीलाई एउटा तीव्र गतिशील आयामको रूपमा स्थापित गर्यो । यतिखेर नेपाली समाजमा सहकारी एक लोकप्रिय सामाजिक र व्यावसायिक अभियानको रूपमा स्थापित छ । ३३ हजार सहकारीमा झन्डै आधा करोड नागरिकको सहभागिता, कुल ग्राहस्थ उत्पादनमा ५, वित्तीय क्षेत्रमा २० प्रतिशत, प्रत्यक्ष रोजगारमा झन्डै ६० हजार, परोक्ष र स्वरोजगारमा झन्डै आठ लाखको सहभागिता अनि आर्थिक कारोबार करिब पाँच खर्बको तथ्यांकले यसको प्रभावशालिता स्थापित गरेको छ ।
६ दसक त्यसमा पनि यस दसकमा सहकारी समाज र नागरिक समुदायबीच अभिन्न आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको आयाम बनेको छ । विकास योजनाहरू, सरकारी नीति तथा कार्यक्रमहरूले सार्वजनिक, निजी र सहकारी क्षेत्रको तीनखम्बे अर्थनीतिमार्फत विकासलाई तीव्र बनाउने संकल्प र प्रतिबद्धता छन् । नेपालको संविधान २०७२ ले पनि सहकारी क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ ।
सहकारी नेपाली समाज विशेषतः ग्रामीण समुदायको एकता र समृद्धिको आधारको रूपमा परिभाषित भइरहेको छ । गाउँमा पहिलो र सहरमा वैकल्पिक वित्तीय कारोबारको रोजाइ सहकारी बनेको छ । यो सफलतासँगै अनेक विकृति, चुनौती र जोखिम सहकारी क्षेत्रमा देखा परिरहेका छन् । सहकारीमा सिद्धान्त, मूल्य, मान्यता र आदर्शहरूको परिपालना प्रभावकारी हुन सकिरहेको छैन । समुदायमा आधारित उत्पादनकेन्द्रित, सुशासित र अनुशासित व्यवसाय हुनुपर्ने सहकारीमा गम्भीर खालका समस्या देखा परेका छन् । राज्यले संवैधानिक रूपमा पर्याप्त सम्बोधन गरे पनि कानुन कार्यान्वयन र नियमन क्षेत्रमा प्रभावकारी भूमिका प्रदर्शन गर्न सकिरहेको छैन ।
सामाजिक व्यवसाय र उत्तरदायित्व
सहकारी के हो, व्यवसाय हो कि होइन भन्ने विषयमा एकमत पाइँदैन । सहकारी व्यवसाय हो तर यो अरूभन्दा पृथक र मौलिक छ । सहकारीमा स्वामित्व, नियन्त्रण, अधिकार, कारोबार, मुनाफाको स्तर र वितरण, कार्यक्षेत्र, समुदायप्रतिको जिम्मेवारी आदिमा अन्य व्यवसायको तुलनामा फरक छ । सहकारीमा स्वामित्व समुदायकै हुन्छ अर्थात् प्रवेश र बहिर्गमन खुला हुन्छ । सहकारीले सदस्य र समुदायको हितलाई प्राथमिकतामा राखी सदस्य र समुदायलाई उत्पादन, बिक्री वितरण र सेवाको माध्यमबाट सहयोग गर्नुपर्छ ।
सहकारीले घाटा, उधारो र मुख हेरेर वा सेवामा विभेद गरेर कारोबार गर्दैन । सहकारीले सदस्य र समुदायको सेवालाई प्राथमिकतामा राख्दै कमाएको मुनाफा जति भए पनि सदस्यहरूलाई उनीहरूको लगानीको १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न पाउँदैन । जति मुनाफा कमाए पनि बाँकी संस्थाको हुन्छ । संस्थागत र क्षमता विकासको लागि छुट्ट्याइएको र केही परिभाषित कोषबाहेक जगेडा र सबै कोष संस्थाकै अक्षयकोष हुन्छ । जुन कोषले संस्था र सदस्य हँदै अन्ततः समुदायकै लाभको लागि काम गरिरहेको हुन्छ ।
संस्था ठूलो, समृद्ध र व्यवस्थित हुनु भनेको त्यहाँको समाजको अग्रगति सुनिश्चित हुनु हो । यसले बजारमा धेरै कारोबार र प्रभाव राख्न नसके पनि मूल्य नियन्त्रण र गुणस्तर प्रवद्र्धनको लागि काम गरिरहेको हुन्छ । सहकारीले सदस्यहरूसँग व्यावसायिक कारोबारको कुरा मात्रै गर्दैन । उनीहरूको चेतना, जीवन र समृद्धिको सपना देखाउने र त्यसतर्फ क्रियाशील बनाउने कार्यसमेत गर्दछ । त्यसैले सहकारी सामाजिक व्यवसाय हो, जसले न्यून प्रतिफलमा आफ्ना सदस्य र समुदायको हितलाई सर्वोपरि राखी उत्पादन र वितरण गर्दछ ।
सामाजिक उत्तरदायित्व समाजप्रतिको जिम्मेवारी हो । समाजको सकारात्मक भूमिका र स्वीकारविना कुनै पनि व्यवसाय वा संगठनले आफ्ना क्रियाकलापको प्रभावकारी सम्पादन गर्न सक्दैन । व्यक्तिगत रूपमै पनि सामाजिक उत्तरदायित्व अनिवार्य र गम्भरी बन्दै गइरहेको परिवेशमा व्यवसायहरूको निम्ति एक खालको बाध्यकारी कर्तव्य बनेको छ । व्यवसायलाई नैतिकवान् बनाउने र सरोकारवालाहरूप्रतिको दायित्वलाई यथोचित निर्वाह गर्ने विषयसमेत सामाजिक उत्तरदायित्व हो ।
व्यवसायले सम्बन्धित सरोकारवालाहरू÷हित समूहप्रतिको विशिष्ट जिम्मेवारी आत्मसात गर्नुपर्दछ । व्यवसायमा लगानीकर्ता, ग्राहक, कर्मचारी, सरकार, समुदाय, आपूर्तिकर्ता, बजार, वातावरण आदि जोडिएको हुन्छ । व्यवसायको सिर्जना, वृद्धि र विकासमा उनीहरूको आआफ्नै मौलिक र सापेक्षिक भूमिका रहन्छ । उनीहरूको भूमिकाको आधारमा व्यवसायले दिने र दिनुपर्ने प्रतिफल नै सामाजिक उत्तरदायित्व हो ।
खासगरी सहकारीले सिर्जना गरेको चेतना, बचतमार्फत पुँजी निर्माण, उद्यमशलीता प्रवद्र्धन, रचनात्मक क्रियाकलाप एवं सामाजिक न्याय क्षेत्रमा योगदान नै सामाजिक उत्तरदायित्व हो । कुनै पनि व्यवसाय वा निकाय हुनुको नाताले समाजबाट प्राप्त अवसरहरूको सदुपयोगबापत सामाजिक हितको पक्षमा क्रियाशील हुन सामाजिक उत्तरदायित्वले प्रेरित गर्दछ ।
सामाजिक व्यवसायको परिपूरक सामाजिक उत्तरदायित्वको अवधारणा नयाँ स्वरूपमा विकास भएको छ । सामाजिक उत्तरदायित्वको सन्दर्भमा सहकारी क्षेत्र सबैभन्दा अघि छ । सहकारीका सबै सिद्धान्त र मूल्यमान्यता सामाजिक जिम्मेवारीसँग जोडिएका छन् । ‘एकका लागि सबै र सबैका लागि एक' भन्ने मूल मन्त्रले सहकारीलाई समाज र परिवर्तनसँग गाँसेको छ । सहकारीमा नैतिकता, आचरण र कर्तव्यको मात्रा बढी हुन्छ ।
आर्थिक समृद्धि, सामाजिक एकता र न्यायसहितको बृहत्तर विकासको लागि सहकारीको पुँजी, संगठन र सम्भावना सदुपयोग गर्ने गरी अघि बढ्न सके सहकारीमा काम गर्ने प्रेरणा जाग्नेछ ।
त्यसैले सामाजिक उत्तरदायित्वमा उनीहरू एक होइन, धेरै कदम अघि छन् ।नेपालमा सहकारीहरूले सामाजिक उत्तरदायित्वका अभ्यास विभिन्न स्वरूपमा अघि बढाइरहेका छन् । समुदायलाई सचेत, संगठित र एकताबद्ध बनाउने, वित्तीय सन्दर्भमा साक्षरता र उद्यमशीलता प्रवद्र्धन साथै गरिबी न्यूनीकरण र स्वरोजगार सिर्जना सामाजिक उत्तरदायित्वका प्राथमिक उद्देश्यहरू हुन् । उनीहरूले आधारभूत तहमा आर्थिक, सामाजिक र व्यावसायिक चेतनाहरू विस्तारित गरेका छन् ।
सहकारीहरूले सदस्यहरूको संलग्नता, शिक्षा तथा तालिम, वित्तीय साक्षरता र उद्यमशीलता परिचालन र अपेक्षित प्रतिफलको व्यवस्थापन गरिरहेका छन् । सामाजिक रूपमा पछि परेका र पारिएका महिला, दलित, आदिवासी जनजाति, सीमान्तकृत र अल्पसंख्यक समुदाय र आर्थिक रूपले विपन्न, गरिब समुदायलाई आर्थिक सामाजिक मूल प्रवाहमा ल्याउन सहकारीको भूमिका प्रभावकारी बनेको छ । व्यक्तिको चेतनास्तर, बचत, पुँजी र उद्यमको विकाससँगै समुदाय र समाजको पुँजी निर्माणमा सहकारीको भूमिका महत्त्वपूर्ण छ र बहुआयामिक रूपमा दिगो विकास र समृद्धिको पक्षमा सहकारीहरूले प्रभावकारी ढंगबाट काम गरिरहेका छन् ।
सहकारीले सामाजिक अग्रगति, विकास निर्माण र सामाजिक न्याय क्षेत्रमा काम गरिरहेका छन् । रचनात्मक क्रियाकलाप, सामाजिक सम्मान र सुरक्षा क्षेत्रमा आम रूपले काम गरिरहेका छन् । स्वास्थ्य शिविर, रक्तदान, अंगदान, सरसफाइ, छात्रवृत्ति, पुरस्कार, सम्मान आदि रचनात्मक क्रियाकलाप सहकारीले सम्पादन गरिरहेका छन् । यिनै क्रियाकलापले स्थानीय तहमा सामाजिक र गैरसरकारी संस्थाको भूमिकामा सहकारीहरू स्थापित भएका छन् । त्यस्तै सामाजिक न्याय क्षेत्रमा सामाजिक विकृति, बेथिति र हिंसाका घटना न्यूनीकरणको लागि सहकारीहरूले अभियान चलाएका छन् ।
महिला, बालबालिका, दलित र अन्यायमा परेका व्यक्ति र समूहहरूका पक्षमा उनीहरूले संगठित कदम अघि बढाइरहेका छन् । ज्येष्ठ नागरिक, मृतकका परिवार, सुत्केरी, अपांगहरूलाई राहत, नियमित सहयोग र भत्ता आदिको व्यवस्था गरेर सामाजिक सुरक्षामा सहकारीले काम गरेका छन् । मानवअधिकार क्षेत्रमा, सामाजिक एकता र सम्मीलनको पक्षमा र सामुदायिक हितको सन्दर्भमा पनि कतिपय सहकारीको ध्यान पुगेको पाइन्छ ।
विपत्ति र संकटमा परेका नागरिकलाई विभिन्न सहयोग गरेर नियमित जीवनमा ल्याउन खेलेका भूमिका प्रशस्तै छन् । पछिल्लो समयमा भूकम्प र बाढिपहिरो जस्ता प्राकृतिक विपत्तिमा उद्धार, राहत र पुनस्र्थापनामा सहकारीले काम गरेका छन् । बाटो–घाटो, सिँचाइ, सार्वजनिक तथा सामुदायिक घर निर्माणलगायत क्रियाकलापमार्फत सामाजिक निर्माणमा सघाइरहेका छन् ।
अबको कार्यभार
प्रथमतः सहकारीलाई सुशासित, जोखिमरहित र गुणस्तीय सेवामा प्रभावकारी रूपमा अघि बढाउनुपर्दछ । सहकारीलाई सामाजिक उत्तरदायित्वप्रति सचेत, जिम्मेवार र क्रियाशील बनाउनुपर्दछ । उनीहरूले नियमित रूपमा सामाजिक क्रियाकलापमा सरिक गराउन नीति, कार्यक्रम र बजेटको व्यवस्था गर्नुपर्दछ । सामाजिक उत्तरदायित्वका क्रियाकलापका लागि सदस्य र सरोकारवालाहरूको सहभागितामा योजना तर्जुमा, सम्पादनपछि प्रभाव मूल्यांकन, सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइलाई जोड्न सकिए सामाजिक उत्तरदायित्व थप प्रभावकारी र अभियानको थप सफलता सुनिश्चित गर्न सकिन्छ ।
सहकारीहरूको सामाजिक उत्तरदायित्व बहनको लागि कानुनी रूपमा नै सम्बोधन, उक्त क्षेत्रमा गरेको खर्चको आधारमा करछुट, पुँजीगत र क्षमता विकासको लागि अनुदान र अन्य नीतिगत संरक्षण र सहकार्यको प्रत्याभूत हुनुपर्दछ । सहकारीहरूले सामाजिक उत्तरदायित्व बहन गरिरहँदा आफूहरू विशुद्ध गैरसरकारी वा सामाजिक संस्था, स्थानीय निकाय वा सरकारी कार्यालय होइनन् भन्ने कुरा पनि आत्मसात गर्नुपर्दछ ।
गरिबी न्यूनीकरण, सामाजिक सुरक्षा र मानवीय विकासमा राज्यले सहकारीमार्फत काम गर्ने संरचना र कार्यविधि निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्दछ । सहकारीको जिम्मेवारी र सामाजिक उत्तरदायित्वका सन्दर्भमा सबै सहकारीकर्मीहरूले बुझ्नु र बुझाउनुपर्दछ । सहकारीका राम्रा कामको प्रवद्र्धन, विकृति र जोखिम न्यूनीकरण एवं प्रभावकारी अनुगमनको कानुनी व्यवस्था र संयन्त्र विकास गरेर सामाजिक उत्तरदायित्वमैत्री बनाउन सहयोग पुग्नेछ । आर्थिक समृद्धि, सामाजिक एकता र न्यायसहितको बृहत्तर विकासको लागि सहकारीको पुँजी, संगठन र सम्भावना सदुपयोग गर्ने गरी अघि बढ्न सके सहकारीमा काम गर्ने प्रेरणा जाग्नेछ ।