नेपाली फुटबलमा ‘म्याच फिक्सिङ’ र अनिल गुरुङको खेल अनुभव
काठमाडौं: उनी यतिबेला चुपचाप छन् । एकपछि अर्का परिवर्तनले नसोचेको समय हेरिरहेका छन्, हिँडिरेहका छन् । लाग्छ, उनीप्रति दुनियाँको चासो छैन । तर उनी एक कुनामा बसेर तमाम परिवर्तन नियालिरहेका छन्, अचम्मित मान्दै, वास्तविकतालाई स्वीकार गर्दै ।
सन् २०१५ को अक्टोबरको एक दिन अनिल गुरुङ राष्ट्रिय लिगको खेल खेलेर घरमा 'फ्रेस' हुँदै थिए । उनी आबद्ध मनाङ मस्र्यांङ्दी क्लबका एक खेलाडीले फोन गरेर तत्काल टेलिभिजनमा आइरहेको ब्रेकिङ न्युज हेर्न भने । हतारिँदै टेलिभिजन खोले । टेलिभिजनमा आइरहेको ब्रेकिङ न्युज थियो, खेल मिलेमतोको आरोपमा राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित पाँचजना पक्राउ । त्यसमा राष्ट्रिय टोलीका अन्य दुई सदस्य पनि थिए ।
'एकाएक सन्नाटा छायो, दिमागले केही सोच्नै सकेन' अनिल भन्छन् । त्यसको दुई महिनापछि नेपालले भारतको केरलामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप खेल्यो । सागरमाथिको आरोपपछि अनिल राष्ट्रिय टोलीको कप्तान नियुक्त भए । तर साफ च्याम्पियनसिपमा दुवै खेलमा पराजित हुँदै नेपाल समूहगत चरणबाटै बाहिरियो । 'बिर्सनलायक त्यो अर्को क्षण थियो । हामीले सुखद नतिजा निकालेर नेपाली फुटबलमा त्यतिबेला लागेको दाग बिर्साउन चुक्यौं । बरु अझ हाम्रो चोट बढ्यो', उनले भने । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको उपाधि दाबेदारी रहने प्रतियोगिता हो, साफ च्याम्पियनसिप । अघिल्ला लगातार दुई संस्करणमा नेपाल सेमिफाइनल पुगेको थियो ।
साफ च्याम्पियनसिप खेलेर फर्किएलगत्तै नेपालले बंगलादेशमा बंगबन्धु गोल्डकप खेल्न जाने तय भयो । दक्षिण एसियाली खेलकुद नजिकिरहेकाले त्यसलाई लक्षित गर्दै यू-२३ खेलाडीलाई प्राथमिकता दिइयो । त्यसमा एन्फा एकेडेमीका पूर्वखेलाडीको बाहुल्य रह्यो । टोलीमा अनिललाई समावेश गरिएन । विराज महर्जनले टोलीको कप्तान गरे । 'मैलेमात्र होइन धेरैले यो प्रतियोगितामा नेपाली टोलीबाट अपेक्षा गरेको थिएन', अनिल भन्छन् । तर नेपाली युवा टोलीले सनसनीपूर्ण प्रदर्शन गर्दै उपाधि जित्यो ।
'त्यतिबेला हामी हेटौंडामा प्रतियोगिता खेलिरहेका थियौं । नेपाली टोली फाइनल पुग्यो भन्ने समाचार नै हामीलाई अचम्मित बनाउन पर्याप्त थियो । टोलीमा प्रायः युवा भाइहरू थिए । उपाधि नै जित्लान् भन्ने सोचेको थिइनँ', अनिलले थपे । नेपाली टोलीले २३ वर्षपछि सिनियर अन्तर्राष्ट्रिय प्रतियोगिता जितेको दिन थियो त्यो ।
त्यसको एक महिनापछि दक्षिण एसियाली खेलकुद (साग) आयोजना हुँदै थियो । साग फुटबलका लागि नेपाली टोलीमा बंगबन्धु जित्दा टोलीमा रहेका प्रायः खेलाडीले निरन्तरता पाए । हुन त अनिलले यो प्रतियोगितामा खेल्ने अपेक्षा पनि गरेका थिएनन् । अन्ततः नेपालले सागमा पनि स्वर्ण जित्यो । नेपाली फुटबल टोलीले २३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जित्यो । 'नेपाली फुटबल एकाएक पूरै डाइभर्ट भयो । लगातारको असफलता, खेल मिलेमतो प्रकरण र साफको कमजोर प्रदर्शनपछि नेपाली फुटबलले तत्काल यो दिशा लेला भन्ने अनुमान गर्ने ठाउँ थिएन' अनिल भन्छन् ।
गत महिना नेपालले मलेसियामा एएफसी सोलिडारिटी कप खेल्यो । नेपालले प्रतियोगिताको उपाधि पनि जित्यो । त्यतिमात्र होइन, नेपालले लगातार जितेको यो तेस्रो प्रतियोगिता थियो । नेपाली फुटबलको सफलताको दायराले दक्षिण एसियाबाट एसिया पूरै छोयो पनि । 'राष्ट्रिय टोलीका लागि उपाधि जित्ने सपना पूरा भएकाले खुसी हुने धेरै कारण थिए । प्रतियोगितामा सहभागी टोली त्यति बलिया नभए पनि एएफसीको प्रतियोगिता जित्नु सामान्य उपलब्धि होइन' अनिल भन्छन् ।
यस प्रतियोगिताका लागि नेपाली टोलीको अफिसियल कप्तान अनिल नै थिए । तर अनिलले एउटै खेलमा पनि टोलीको कप्तानी गर्ने अवसर पाएनन् । उनले अधिकांश समय बेन्चमै बिताउनुपर्यो । 'मलाई गर्व छ मेरो युवा पुस्ताप्रति । सिनियर खेलाडी भएको हिसाबले यसको हिस्सा बन्न पाउनु वर्णन गर्न नसकिने कुरा रहेछ', उनले भने ।
अनिल सिनियर वर्तमान राष्ट्रिय टोलीका सबैभन्दा पुराना सदस्य हुन् । सन् २००७ मा उनले सिनियर राष्ट्रिय टोलीमा डेब्यु गर्दा एउटा पुस्ता सिनियर टोलीबाट बिदा हुने तरखरमा थियो जसले राष्ट्रिय टोलीबाट उपाधिको स्वाद चाख्न सकेन । गत बंगबन्धु गोल्डकपले धेरै पुराना खेलाडीलाई राष्ट्रिय टोलीबाट बिदा गर्यो । तर अनिल अटाइरहेका छन् । अन्य केही पुराना खेलाडीले पहिलो रोजाइमा ठाउँ पाउन छाडेका छन् ।
अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका अन्य अनुभवी विराज महर्जन, भरत खवास, किरण चेम्जोङलगायत अनिलभन्दा करिब एक वर्षपछि मात्र सिनियर राष्ट्रिय टोलीमा आएका हुन् । युवा खेलाडीले बंगबन्धुको उपाधि जितेपछि त्यही टोलीमा भएका प्रायः खेलाडीले राष्ट्रिय टोलीमा लगातार निरन्तरता पाइरहेका छन् ।
समय यस्तो आएको छ कि अनिल अनुभवी खेलाडी हुन्, कप्तान हुन् तर वैकल्पिक खेलाडीका रूपमा पनि मैदान उत्रने अवसर पाउन छाडेका छन् । 'मलाई लागेको थिएन, यति चाँडै म लगातार बेन्चमै बस्नुपर्छ', अनिल अचम्म मान्छन् । सोलिडारिटी कप जितेर नेपाली टोली स्वदेश फर्किएपछि अनिललाई भेट्न म सातदोबाटोस्थित एन्फा कन्प्लेक्समा पुगेको थिएँ । कम बोल्ने स्वभावका अनिल एन्फा कन्प्लेक्सको एस्ट्रो टर्फ मैदानको एक छेउमा बसेर गफिरहँदा यसपटक उनी निकै बोल्ने 'मुड'मा देखिए ।
बंगबन्धु गोल्डकपले नेपाली फुटबलमा व्यापक परिवर्तन ल्याइदियो । युवा खेलाडीले नेपाली फुटबलमा सास भरे, इतिहास रचे । सन् २०१५ को अगस्टमा नेपालमै भएको साफ यू-१९ च्याम्पियनसिपदेखि नै नेपालको सफलताको बाटो कोरिन थालेको हो । पहिलो पटक आयोजित उक्त प्रतियोगिता नेपालले जित्यो । बंगबन्धु गोल्डकपका लागि घोषित २३ सदस्यीय नेपाली टोलीमा धेरै खेलाडी यू-१९ राष्ट्रिय टोलीकै थिए । सामुन्ने आइरहेको दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी बंगबन्धुका लागि टोली पठाइएको थियो । 'युवा टोलीमा जोस थियो । उनीहरूले मेहनत गरे, टोलीमा एकता देखाए । उनीहरूले सबै कुरा बिर्सिएर खेले, सबै कुरा बिर्साइदिए', अनिल भन्छन् ।
लगातारकै सफलताका कारण नेपाली फुटबल यतिबेला चर्चामा छ । एकताका नेपाली फुटबलले सफलता हात नपार्दा अनिल भने चर्चामा थिए । सन् २००९ मा उनी इङ्लिस क्लब चेल्सीमा ट्रायल दिन जाने नेपाली फुटबलर उनी नै हुन् । तर चेल्सीमा उनले अवसर पाएनन्, स्थानीय क्लबमा चार महिना प्रशिक्षण गरे । त्यसपछि उनी भारतमा आएर आई लिग खेले । तीन वर्ष सिलोङ लाजोङबाट खेल्दा उनले कुल ६३ लाख रुपैयाँ लिएका थिए ।
लगत्तै उनले मनाङ मस्र्यांङ्दी क्लबबाट मासिक एक लाख रुपैयाँभन्दा बढी पारिश्रमिक लिएर खेले । यसबीचमा उनले मैदानभित्र सधैं अनुशासित र प्रतिभावान् खेलाडीका रूपमा आफूलाई स्थापित गरे, साथमा टिमवर्कमा विश्वास गर्ने खेलाडी पनि । उनी मैदानभित्र प्रायः 'सेल्फिसलेस' देखिए । ' युरोपियन क्लबमा हाम्रो सम्भावना कम छ । हामीले त्यहाँका स्थानीय क्लबमा प्रशिक्षण गरेर एसियाका मलेसिया, थाइल्यान्ड, भारतलगायत देशका लिगमा खेल्नुपर्छ' उनी भन्छन् । अनिलले घरेलु फुटबलमा मनाङका लागि प्रायः सबै सफलता हात पारेका छन् ।
पोखराको सहारा एकेडेमीमा दुई वर्ष रहेर सन् २००४ मा सहिद स्मारक ए डिभिजन लिग क्लब ब्रिगेड ब्वाइजमा आबद्ध भएका उनी थ्रीस्टार क्लब हुँदै सन् २००६ मा मनाङ पुगे । उक्त सिजन उनले मनाङका लागि लिगमा ३२ गोल गर्दै प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बने । त्यसयता उनको रफ्तार तीव्र बेगमा बढ्यो । राष्ट्रिय टोलीबाट उनले हालसम्म नौ गोल गरेका छन् । प्रधानमन्त्री कप आमन्त्रण अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल रातोले फाइनलमा श्रीलंकालाई हराउँदा अनिलले गोल गरेका थिए ।
उनी टोलीमा रहेका बेला नेपाल एएफसी च्यालेन्जकपमा छनोट भयो भने दुई पटक साफ च्याम्पियनसिपको सेमिफाइनल पुग्यो । अनिल गत बंगबन्धु अघि नेपाली टोली लगातार असफल हुनु दुर्भाग्यपूर्ण मान्छन् । ' यसअघिको टोलीले पनि राम्रो फुटबल खेल्थ्यो । बलिया टोलीसँग धेरै खेलेकाले नतिजा हाम्रो पक्षमा देखिएन । सन् २०१३ मा साफ च्याम्पियनसिप खेलेको नेपाली टोली निकै राम्रो थियो' उनी भन्छन् । नेपालमै आयोजना भएको सन् २०१३ को साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा अफगानिस्तानसँग पराजित भएको थियो ।
अनिललाई लागेको थियो, नेपालले उपाधि जित्ने त्योभन्दा राम्रो अवसर अब पाउने छैन । राष्ट्रिय टोलीबाट खेल्न थालेयता सबैभन्दा धेरै दुःखी भएका थिए, त्यतिबेला । 'घरेलु मैदानमा खेलिरहेका थियौं, टोली उत्कृष्ट लयमा थियो, तालमेल देखिन्थ्यो', अनिल दुःखी हुनुका निकै कारण थिए ।
अनिलको विचारमा, त्यतिबेला नेपालले कम्तीमा एउटामात्र उपाधि जित्न सकेको भए, अन्य धेरै जित्नै सम्भावना हुने थियो । उनको दाबी छ, एउटा उपाधि जितेपछि आत्मविश्वास बढ्ने थियो । सोच्ने स्तर नै फरक हुने थियो । तर तीन वर्षपछि उनी अन्तर्राष्ट्रिय उपाधि जित्ने भाग्यमानी खेलाडी बन्न सफल भए । तर यो उपलब्धि चरम प्रतिकूलताबीच थियो । सम्पूर्ण नेपाली फुटबल जगत् खेल मिलेमतोको प्रकरणले निराश थियो । फुटबल खेलाडीहरू खुलेर बोल्न सक्ने अवस्था थिएन । खेलाडी पक्राउपछि अनिललाई यति धेरै फोन आयो कि उनले 'सेभ' नभएको नम्बरको फोन नै उठाएनन् ।
'कसैलाई म राष्ट्रिय टोलीको खेलाडी हुँ भन्न पनि धेरै कुरा सोच्नुपर्ने अवस्था थियो', अनिल भन्छन् । उनले एउटा तीतो अनुभव पनि सुनाए । राष्ट्रिय लिगको अन्त्यतिर मनाङले गोदावरीमा टोलीलाई राखेको थियो । बिहानीपख मनाङका खेलाडी बाटोमा हिँडिरहेका थिए । नजिकैको चिया पसलबाट उनले कसैको आवाज सुने, यिनीहरू पनि यस्तै त हुने हुन् नि । ' चिया पसलमा फिक्सिङकै कुरा चलिरहेको रहेछ । हामीतिर हेर्दै एक अर्धबैंसेले त्यसोभन्दा निकै दुःख लागेको थियो', अनिलले सुनाए ।
उनलाई लाग्छ, नेपाली फुटबल टोलीले ट्रयाक समातेको छ, जसले निकै लामो यात्रा तय गर्न सक्छ । 'हरेक खेलाडी र टोलीको क्लिक हुने टाइम हुन्छ, त्यतिबेला क्लिक भयो भने माथि पुगिरहन्छ । नेपाली राष्ट्रिय टोलीको अहिलेको यो पुस्ताले त्यही गरिरहेको छ' , अनिल भन्छन् । युवा टोली र 'टिम सेट' भएकाले अबको केही वर्ष राष्ट्रिय टोलीमा यिनै खेलाडीको दबदबा रहने निश्चित छ । तर, नेपाली टोलीले गर्न अझै धेरै बाँकी छ । अन्तर्राष्ट्रिय उपाधि जिते पनि नेपालले आफ्नोस्तर देखाउने समय आउन बाँकी नै रहेको भनी समीक्षा गर्नेको पनि कमी छैन ।
हुन पनि नेपालले आफूभन्दा बलिया टोलीलाई हराएर अन्तर्राष्ट्रिय सफलता हात पार्न सकेको छैन । 'यो एउटा सुरुवात हो र यसलाई कायम राख्नुपर्छ । यत्तिमै सीमित हुनु हुँदैन', अनिल भन्छन्, 'त्यसका लागि अझ राम्रा टोलीसँग नियमितरूपमा अभ्यास खेल्नुपर्छ । राष्ट्रिय टोलीको प्रशिक्षणलाई थप मजबुत बनाउनुपर्छ ।'
नेपाली फुटबलमा घरेलु लिग नभएको लामो समय भइसकेको छ । विभागीय क्लबका बाहेक अन्य खेलाडीसँग क्लबको अनुबन्धन छैन । अनिल, घरेलु लिग तत्काल सुरु नभए राष्ट्रिय टोलीका खेलाडीलाई समेत जोगाउन गाह्रो हुने बताउँछन् । 'खेलाडीलाई बचाउने र फुलाउने नै क्लबले हो । घरेलु लिग नभई यो सम्भव छैन । खेलाडीलाई नाम र इज्जतले मात्र हुन्न । उनीहरूको आर्थिक पक्ष सबल हुनैपर्छ । अनि हामी कति समय यी २०, २२ खेलाडीमा निर्भर भएर बस्ने । नयाँ खेलाडी उत्पादन गर्नु पर्दैन ?' , उनको प्रश्न छ । अनिल अब एउटा सुखद नतिजाको पर्खाइमा छन् , उनलाई लागोस्, मेरा लागि राष्ट्रिय टोलीबाट सन्न्यास लिने उत्तम अवसर यही नै हो ।
०००