अन्नपूर्णकर्मी थापालार्इ ‘वरिष्ठ पत्रकारिता पुरस्कार’
काठमाडौं: अन्नपूर्ण पोष्ट दैनिकका प्रमुख सम्वाददाता विकास थापालार्इ देव शमशेर जवरा प्रतिष्ठानको ‘वरिष्ठ पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ। आइतबार प्रतिष्ठानले राजधानीमा एक कार्यक्रमकाबीच थापालाई उक्त पुरस्कार प्रदान गरेको हो।
कार्यक्रममा गोरखापत्रमा कार्यरत सञ्चारकर्मी प्रकृति अधिकारीलाई 'देव शमशेर गोरखापत्र पत्रकारिता पुरस्कार' प्रदान गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि सञ्चारमन्त्री सुरेन्द्र कार्कीले पुरस्कार स्वरुप अन्नपूर्णकर्मी थापालाई प्रमाण पत्रसहित नगद दश हजार रुपैंया र अधिकारीलाई प्रमाणपत्रसहित नगद १५ हजार रुपैंया प्रदान गरे ।
सोही अवसरमा देव शमशेरको नाममा छापिएको संस्मरणात्मक हुलाक टिकटमा पनि सञ्चारमन्त्री कार्कीले टाँंचा लगाएका थिए । कार्यक्रममा कार्कीले देव शमशेर राणा परिवारमा जन्मेर हुर्केको भएपनि उनको काम सुधारात्म्क रहेको बताए ।
२००७ सालको परिवर्तन गराउनमा देव शमशेरले सुरुवात गरेको सुधारात्मक अभियानले महत्वपूर्ण भूमिका खेलेको कार्कीले बताए । देव शमशेरलाई राणा परिवारको व्यक्तिको रुपमा चित्रण गरेर वर्तमानलाई गञ्जागोल बनाउनु भन्दा पनि इतिहासमा राम्रो काम गर्नेको लिगेसीलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।
एक सय १४ दिन प्रधानमन्त्री भएका देव शमशेरले काठमाडौं उपत्यकासहित एक सय पचासवटा विद्यालय स्थापना गरेर पठनपाठनको शुरुवात गराएका थिए। उनले आफ्नै समयमा मुलुकको पहिलो पत्रिका गोरखापत्र प्रकाशनका लागि आदेश दिएका थिए।
कार्यक्रममा प्रतिष्ठानकी अधयक्ष मञ्जे श्री राणाले देव शमशेर प्रधानमन्त्री भएर भन्दा पनि सच्चा समाज सुधारक भएका कारण सधैं सम्झनयोग्य व्यक्ति भएको बताइन्। ‘उनको नाममा हुलाक टिकटमा टाँंचा लगाउनु उनी पूर्व प्रधानमन्त्री भएका कारणले भन्दा पनि समाज सुधारक भएका कारणले नै हो,’ उनले भनिन्।