‘सत्ताशीन दलकै कारण संशोधन दर्ता भएन’
कपिलवस्तुः सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सत्तासीन दलको अन्तरविरोधका कारण संविधान संशोधन दर्ता हुन नसकेको बताएका छन् ।
प्रेस मञ्च नेपालले तौलिहवामा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रकै सभासद्हरुको विरोधका कारण सरकारले प्रस्ताव दर्ता गर्न नसकेको बताए ।
वर्तमान सरकारले संविधान संशोधनको प्रस्ताव मोर्चाको विरोधका कारण दर्ता गर्न नसकेको झुठो आरोप लगाएको उनको भनाइ थियो ।
‘सरकार गठनका बेला मोर्चासँग भएको सहमतिअनुसार पहिले संशोधन प्रस्ताव दर्ता गर्नुस्, प्रस्ताव दर्ता भइसकेपछि प्रस्तावले आन्दोलनरत मोर्चाको माग सम्बोधन हुन सक्छ या सक्दैन, त्यसका आधारमा मोर्चाले निर्णय लिन्छँ उनले भने ।
सो अवसरमा नेता महतोले मोर्चा राष्ट्रियता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र अखण्डताप्रति सदैव प्रतिबद्ध रहँदै अधिकार सम्पन्न मधेसको अधिकारका लागि मोर्चा पछाडि नहट्ने लडिरहने बताए । रासस